नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले भोट दिएर आफूलाई जिताउँदै आएको र सांसदहरूको सहयोगमा प्रधानमन्त्री हुने गरेको बताएका छन्।
५ पटक प्रधानमन्त्री भइसकेको र अब कति पटकसम्म प्रधानमन्त्री भइराख्ने हो भनेर बेलाबेला प्रश्न उठ्ने गरेकोतर्फ लक्ष्य गर्दै सभापति देउवाले जनताले भोट दिएर जिताएपछि के गर्ने त भन्ने अभिव्यक्ति दिएका हुन्।
‘यहाँ धेरै साथीहरूले कुरा उठाउनुभएको छ। आफ्नै विषयमा उठाएको कुरालाई मैले के भन्ने। कति प्रधानमन्त्री भइरहने भन्नुभयो। म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले? पार्टीका सांसदहरूले सहयोग गरे, सबै पार्टीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हो,’ स्व. प्रदीप गिरिको स्मृतिमा काठमाडौंमा बुधबार भएको कार्यक्रममा सभापति देउवाले भने।
उनले आफू एउटा सौभाग्यशाली व्यक्ति पनि रहेको बताए।
‘अहिलेसम्म म प्रत्यक्ष निर्वाचन लडेको हो। सौभाग्यले कहिले पनि हारेको छैन। धेरै पार्टीका नेताहरू मेरो खिलाफमा लाग्नुभयो, मेरो विरुद्धमा डडेलधुराबाट तर म त हार्छु भनेको थिएँ, तै पनि जितिछु। जनता सबैभन्दा ठूलो कुरा हो। जनतालाई त्यही कारण सार्वभौम सम्पन्न भनेका छौं। जनता देशको मालिक हो। जनता भन्दा ठूलो कोही छैन। सबै साथीहरूले जनताको सेवा गरौं,’ उनले भने।
सभापति देउवाले अब आफ्नो धेरै उमेर नरहेकोले चिन्ता गर्नु नपर्ने पनि बताए।
(न्युज एजेन्सी नेपाल)