नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रतिनिधि सभामा सत्तापक्षमा सिट व्यवस्थापन गरिदिन सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले सभामुखलाई पत्र लेखेर सत्तापक्षमा सिट व्यवस्थापनका लागि आग्रह गरेकी हुन्।
सभामुख घिमिरेले बुधबारको कार्यव्यवस्था बैठकमा नाउपाबाट सत्ता पक्षमा सिट व्यवस्थापनका लागि पत्र आएको जानकारी गराएका थिए।
सो कार्यव्यवस्थामा नाउपा संसदीय दल नेता गंगाराम चौधरी पनि उपस्थित थिए।
सभामुख घिमिरेले संसदीय दल नेता चौधरीलाई सिट व्यवस्थापनबारे पत्र आएकोले निर्क्यौल गर्न भनेका थिए।
‘तपाईंहरू कता बस्ने हो निर्क्यौल गर्नुस्, सत्ता पक्षमा सिट व्यवस्थापनका लागि पत्र आएको छ,’ सभामुख घिमिरेले भनेका थिए।
त्यसपछि चौधरीले 'टाउको हल्लाए' केही बोलेका थिएनन्।
नाउपाले असार २२ गते केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रतिपक्षमा बस्न सिट व्यस्थापनका लागि पत्र दिएको थियो भने त्यसपछि प्रतपक्षमा बस्दै आएको थियो।
तर मंगलबार कांग्रेस संसदीय दल कार्यालय सिंहदरबारमा भएको सत्तापक्षका दलहरूको बैठकमा नाउपा सहभागी भएको थियो।
प्रतिनिधि सभामा नाउपाका ४ जना सांसद छन्।