नेपाली कांग्रेसले अमेरिकामा उपसभामुख इन्दिरा राना मगर सरिक हुने कार्यक्रमबारे प्रश्न उठाएको छ।
बुधबार बसेको कार्यव्यवस्था बैठकमा कांग्रेसले उपसभामुख सहभागी हुने भनिएको कार्यक्रमबारे प्रश्न उठाएको हो।
बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुख गएको कार्यक्रमबारे सभामुखसँग जिज्ञासा राखेका थिए।
‘उपसभामुख के कार्यक्रममा जानुभएको हो, संसदसँग सम्बन्धित हो कि होइन?,’ खतिवडाले सभामुख देवराज घिमिरेलाई सोधे, ‘एनजिओ, आइएनजीओको कार्यक्रममा जानुभएको पो हो कि!’
सभामुख घिमिरेले उपसभामुख सहभागी हुने कार्यक्रम संसदीय कार्यक्रम नभएको जानकारी दिएका थिए।
‘उहाँ अन्तिममा जान्छु भनेर भन्नुभयो, संसदीय कार्यक्रम पनि होइन, हाम्रो पैसा खर्च हुने कार्यक्रम होइन,’ सभामुखको भनाइ थियो, ‘उहाँ आफै जानुभएको हो। स्वदेश फर्कने मितिसम्म जानकारी दिनुभएको छ।’
अमेरिकामा रहेकी उपसभामुख राना मगरले मंगलबार सेतोपाटीसँगको कुराकानीमा आफू प्रजातन्त्रसम्बन्धी कार्यक्रममा भाग लिन अमेरिका आएको र भदौ १३ गते स्वदेश फर्कने बताएकी थिइन्।
उपसभामुखलाई आचरणसम्बन्धी प्रश्न उठाउँदै कांग्रेस र एमालेले पदमुक्त गर्ने प्रक्रियाका लागि आ-आफ्ना सांसदहरूको हस्ताक्षरसमेत लिइरहेका छन्।
कार्यव्यवस्था बैठकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले पनि उपसभामुखको विषय के भएको हो भनेर सभामुखलाई सोधेका थिए।