नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई हिजोआज गोरखामा छन्।
भट्टराईले २०६४ सालदेखि अहिलेसम्म महिनामा कम्तीमा एक पटक आफ्नो गृहजिल्ला पुग्ने र त्यहाँका बासिन्दाहरूसँग भेटेर सुख, दु:खका कुराकानी गर्ने कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्।
साथै भट्टराईले पालुङटार नगरपालिका वडा नम्बर १ खोप्लाङस्थित बेलवासमा रहेको आफ्नो पुर्ख्यौली घरलाई मर्मत पनि गरेका छन्। गोरखा गएका बेला प्राय: भट्टराई आफ्नै पुर्खौली घरमा बस्छन्, जहाँ उनले पुस्तकालयसमेत बनाएका छन्।
भट्टराई शुक्रबार गोरखा गएका थिए। उनी शुक्रबारदेखि नै पार्टीलगायत विभिन्न कार्यक्रममा सहभागी छन्। सोही क्रममा भट्टराईले एक चौतारीमा आफ्ना साथीभाइहरू तथा आफूले पढाएका विद्यार्थीसँग भलाकुसारी गरेका थिए।
त्यसक्रममा भट्टराईले विगतमा आफूलाई पढाएको बताएका एक जनाले भट्टराईलाई सोधे- तपाईंजस्तो विद्वान मानिस अलि ओझेल चाहिँ पर्नुभयो क्या!
एकछिन रोकिएर भट्टराईले जबाफ दिए- धेरै चर्को घामले पोल्छ, ओझेलमा पनि बस्नुपर्छ।
भट्टराईले आफू जनताको साथमा रहेको पनि बताए।
भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य जित्दै आएका थिए।
भट्टराईकै सहयोगमा २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा भने यो क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल 'प्रचण्ड' विजयी भएका थिए।
भट्टराई २०८४ सालमा हुने प्रतिनिधि सभा निर्वाचनमा भने गोरखा क्षेत्र नम्बर २ मा आफै उम्मेदवार हुने बताउँदै आएका छन्।
भिडिओ: