लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका पूर्वमहामन्त्री देवेन्द्रकुमार यादव काठमाडौंमा नेपाली कांग्रेस प्रवेश गरिरहँदा उक्त पार्टीका निवर्तमान केन्द्रीय सदस्य तथा रूपन्देहीका युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) ले पनि लोसपा पार्टी परित्याग गरेका छन्।
गुप्ताले केही नेताहरूले पार्टीलाई प्राइभेट कम्पनी बनाइरहेको आरोप लगाउँदै आफूसहित १ सय ५० बढी नेता/कार्यकर्ताले लोसपाबाट राजीनामा दिएको दाबी गरे।
उनले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी रूपन्देहीका केही नेताहरूका कारण पार्टीभित्र तानाशाही प्रवृत्ति मौलाउँदै गएको आरोप लगाए।
मधेसका नाममा राजनीति गरेका केही नेताहरूले सधैं अवसर लिने तर जनताको हितमा केही काम नगरेको जनाउँदै अन्यायविरूद्ध बोल्नेलाई तानाशाही शैलीमा कारबाही गर्ने गरिएको गुप्ताले गुनासो गरे।
पछिल्लो पटक लोसपाबाट सन्तोष पाण्डेय लुम्बिनी प्रदेशमा युवा तथा खेलकुद मन्त्री बनेपछि एउटै व्यक्तिलाई पटक–पटक मन्त्री बनाएर अवसर बादी चरित्र प्रदर्शन गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका गुप्तालाई लोसपाले केन्द्रीय सदस्यबाट निष्कासित गरेको थियो।
बिहीबारको पत्रकार सम्मेलनमा गुप्ताले लोसपामा लामो समयदेखि भइरहेको विभेदको विरोध गर्दा, युवालाई र फरक व्यक्तिलाई पनि अवसर देऊ भन्दा, पार्टीबाट लोकतान्त्रिक तरिकाले मन्त्री छनोट हुनुपर्छ र अन्य व्यक्तिलाई पनि अवसर दिनुपर्छ भनेर भनाइ राख्दा कारबाही भोग्नुपरेको बताए।
पार्टीको कार्यशैलीप्रति असहमति जनाउँदै आएका गुप्ताले नेताहरूको तानाशाही चरित्रविरूद्ध विद्रोह घोषणा गरेको बताए।
गुप्ताले पार्टीका केही नेताहरूले मधेसी समाज ४० वर्षभन्दा पुरानो रहेको ठानेर जनतामाथि निरङ्कुश र मनमौजी शासन गरिरहेको आरोप लगाए।
‘मधेस आन्दोलनको मुद्दा र आन्दोलनकारीहरूको योगदानको सम्मान हुन छाडेको छ, सत्ता केन्द्रित राजनीति हाबी हुँदै आएको छ। जिम्मेवारीलाई पुस्तान्तरण गर्ने नयाँ पिँढीलाई हस्तान्तरण गर्ने विषय कुरैमा सीमित भएको छ, पार्टीभित्र मधेसका मुद्दा लिएर लोकतान्त्रिक प्रक्रिया अनुरूप फरक मत राखेकै कारण कारबाही गर्नु अलोकतान्त्रिक कार्य हो,’ गुप्ताले भने।
सङ्कटकालीन अवस्थामा मधेस आन्दोलनको अगुवाइ आफूले गरेको भन्दै मधेसको पहिचान, युवाहरूको अधिकार, लोकतान्त्रिक शिक्षा र समग्र विकासको लागि आफूले सदैव आफ्नो कर्तव्य निर्वाह गर्ने उनले बताए।
गुप्ताले तराई–मधेसका जनताको हितमा निष्ठापूर्वक लागेबापत सजाय स्वरूप पार्टीले निरङ्कुश शैलीमा आफूमाथि कारबाही गरेको बताए।
‘मैले ज्यानको बाजी थापेर मधेस आन्दोलनमा सहभागी भएको थिएँ, मधेस आन्दोलनका लागि मैले १८ वर्षको समय, आफ्नो रगत र पसिना मात्र होइन धेरै आर्थिक लगानी पनि गरेको छु, तर पार्टीले कहिल्यै मेरो योगदानको कदर गरेन बरू कारबाहीको डन्डा लगायो,’ उनले भने।
गुप्ताले नाम लोकतान्त्रिक हुँदैमा उक्त पार्टीका नेताहरू लोकतान्त्रिक हुन नसक्ने भन्दै एक दुई जना तानाशाही नेताको सनकको भरमा इमानदार नेता कार्यकर्ताहरूले कारबाही भोग्दै आएको बताए।
गुप्ताले कुनै व्यक्ति प्रदेशमा ४ पटक मन्त्री भइरहँदा अहिलेसम्म जनताका मुद्दा भने प्रदेश सभामा पेस गरेको आफूलाई जानकारी नभएको बताए।
गुप्ताले लोसपाबाट राजीनामा दिए पनि निकट भविष्यमा कुनै न कुनै प्रक्रिया र पद्धतिबाट जनताको माझमा आइ पुनः समाजसेवामा समाहित हुँदै देश र मधेसको हितका लागि उभिने बताए।