प्रतिनिधिसभा अन्तर्गत रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनका लागि नेकपा (एमाले)बाट ४ जना आकांक्षी देखिएका छन्।
एमाले ३ नं क्षेत्रीय समन्वय समितिको शुक्रबारको विस्तारित बैठकमा ४ जनाले मात्रै उम्मेदवार हुन आकांक्षा व्यक्त गरेको एमालेले जनाएको छ। आकांक्षीहरू सबै पुरुष छन्।
नेकपा एमालेले भने एक जना अनिवार्य महिला सहित ३ जनाको नाम सिफारिस गर्न भनेको थियो।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार बैठकमा पार्टी पोलिटब्युरो सदस्य तथा सोही क्षेत्रको इन्चार्ज समेत रहेका खिमलाल भट्टराई, सिद्धार्थनगर नगरपालिकाका पूर्वनगरप्रमुख हरि अधिकारी, व्यवसायी शशी पौडेल र भैरहवाका यज्ञ जित शाहले उम्मेदवारमा दाबी गरेका छन्।
विस्तारित बैठकमा उम्मेदवार बन्न इच्छुकहरूसँग नाम मागिएको थियो। सो क्रममा उनीहरूले आफू उम्मेदवार बन्न इच्छुक रहेको भन्दै केन्द्रमा सिफारिसका लागि अनुरोध गरेका थिए।
आगामी कात्तिक १७ गते हुन लागेको उपनिर्वाचनमा भदौ १५ गते भित्र उम्मेदवारका आकांक्षीहरूको नाम पठाउन पार्टी केन्द्रले सयमसिमा तोकिदिएको छ।
पार्टी केन्द्रीय कमिटी बैठकले एक महिला सदस्यसहितको नाम सिफारिस गरेर पठाउन निर्देशन दिएकोले दुई जना पुरुष र एक जना महिलाको नाम पठाइने अध्यक्ष गैरेले बताए।
‘यो क्षेत्रीय समन्वय समितिको बैठकको कुरा भयो, क्षेत्रीय कमिटीले पठाएका नामहरू मध्ये ३ जनाको नाम प्रस्ताव गरेर राय सहित केन्द्रमा पठाइने छ, उनले भने। जिल्लामा पनि आकाङ्क्षीहरूको नाम आउला त्यसपछि हामीले राय सहित प्रदेश कमिटीलाई पठाउँछौं,’ उनले भने।
नेकपा एमालेको विधानमा क्षेत्रीय कमिटीले जिल्ला कमिटीलाई गरेको सिफारिस जिल्लाले थपघट गर्नु परे राय सहित प्रदेश कमिटीलाई सिफारिस गर्ने र प्रदेशले केन्द्रमा नाम पठाएपछि केन्द्रले उम्मेदवारको टुङ्गो लगाउने व्यवस्था छ।
२०७९ सालको निर्वाचनमा यो क्षेत्रमा एमालेले राप्रपाका दीपक बोहरालाई सघाएको थियो। २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका बोहराको २०८१ चैत १९ गते निधन पछि रिक्त रहेको छ। सोही निर्वाचन क्षेत्रमा कात्तिक १७ गते मतदान हुँदैछ।