अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता तय भएको छ।
ट्रम्प र रूसी राष्ट्रपति कार्यालयले भेटवार्ता तय भएको घोषणा गरेका हुन्।
शुक्रबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर ट्रम्पले अगस्ट १५ मा अलास्कामा दुई राष्ट्रपतिबीच भेटवार्ता हुने जानकारी दिएका छन्।
रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले पनि विज्ञप्ती जारी गरेर भेटवार्ता तय भएको पुष्टी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
‘यो निःसन्देह चुनौतीपूर्ण प्रक्रिया हुनेछ, तर हामी यसमा सक्रिय र ऊर्जावान रूपमा संलग्न हुनेछौं,’ उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
दुई देशबीच रूस-युक्रेनबीच साढे तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने विषयमा छलफल हुनेछ।
ट्रम्पले रूस र युक्रेन युद्धविराको नजिक रहेको पनि दाबी गरेका छन्।
शुक्रबार ह्वाइट हाउसमा सम्बोधनका क्रममा ट्रम्पले दुई देशबीच जमिनका विषयमा केही सम्झौता र युद्धविराम हुने बताएका छन्।
‘दुवै पक्षको हित हुनेगरी केही भूभागको अदला–बदली हुनेछ,’ ट्रम्पले भनेका छन्। उनले यसबारेमा विस्तृत रूपमा भने बताएका छैनन्।
पुटिनले यसअघि नै लुहान्स्क, डोनेट्स्क, जेपोरिज्झिया र खेरसोनसहित क्राइमिया दाबी गरेका थिए। ती चार प्रदेशको सम्पूर्ण भूभागमाथि भने उनका सैनिकहरूको पूर्ण नियन्त्रण छैन।
१५ अगस्टमा हुने भेटवार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी हुन्छन् वा हुन्नन् भन्ने तय भएको छैन।
ट्रम्पले यसअघि त्रिपक्षीय भेटवार्ता हुने दाबी गरेका थिए।
जेलेन्सकीले शुक्रबार साँझ रूसमाथि पर्याप्त दबाब परे युद्धविराम सम्भव भएको भनेका थिए। उनले अन्य धेरै मुलुकका नेताहरूसँग पनि छलफल भइरहेको र अमेरिकासँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्।
ट्रम्पले हालै रुससँग सम्बन्ध सुधार्ने प्रयास गर्दै युद्ध अन्त्यका लागि पहल गर्दै आएका छन्। तर युद्धविरामका लागि पुटिन तयार नभएपछि उनले रिसाउँदै शुक्रबारदेखि नयाँ १०० प्रतिशतसम्म भन्सार दर बढाउने र थप प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।
ट्रम्पले दिएको अल्टिमेटम सकिएपछि दुई राष्ट्रपतिबीच प्रत्यक्ष वार्ता हुने भनेर ट्रम्प आफैले खुलाएका थिए।
अमेरिकी र रूसी राष्ट्रपतिबीच २०२१ देखि प्रत्यक्ष भेटवार्ता भएको छैन।
२०२१ को जुनमा तत्कालीन राष्ट्रपति जो बाइडेनले पुटिनसँग जेनेभामा भेटवार्ता गरेका थिए। त्यसको ८ महिनापछि रूस-युक्रेन युद्ध सुरू भएको थियो। पुटिन र जेलेन्स्की २०१९ यता भेटेका छैनन्।