राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पछिल्लो समय मतभेद बढ्दो छ।
अहिले मतभेद बढ्नुमा अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनीत केही पदाधिकारीहरूलाई पदमुक्त गर्नु र अधिवेशनका लागि 'एकलौटी' रूपमा जिल्ला तथा स्थानीय तहहरूमा पर्यवेक्षक तोक्नु हो।
अध्यक्ष लिङ्देनको कार्यशैलीमा महामन्त्री धवल शम्शेर राणाले असहमति जनाएका छन्।
उनलाई पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, अनुशासन समितिका निवर्तमान अध्यक्ष नवराज सुवेदी, उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री कुन्तिकुमारी शाही, प्रवक्ता सगुनसुन्दर लावती लगायतले खुलेरै साथ दिएका छन्।
अध्यक्ष लिङ्देनले असार २५ गते सुवेदी र लावती तथा साउन २ गते गिरीलाई पदमुक्त गरेका थिए। उनीहरू पुनर्बहालीको माग गर्दै निर्वाचन आयोग पुगेका थिए।
राप्रपामा अध्यक्ष लिङ्देन र महामन्त्री राणाबीच गुटको प्रतिस्पर्धा देखिन्छ। त्यसैले उनीहरूले गुट भेला गर्दै आफ्नो तागत देखाउने गरेका छन्। यो लडाइँको मक्सद आउँदो महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्नका लागि रहेकोले तत्काल मत्थर नहुने राप्रपाकै नेताहरू बताउँछन्।
अध्यक्ष लिङ्देन बिहीबार दिउँसो काठमाडौंमा हुने गुट भेलामा सहभागी हुँदैछन्। यो बैठक उपाध्यक्ष हेमजङ्ग गुरूङले राखेको र अध्यक्ष पनि सहभागी हुने कार्यक्रम रहेको लिङ्देननिकट एक पदाधिकारीले बताए।
अध्यक्ष लिङ्देन नै गुट भेलामा सक्रिय रहेकोमा पार्टीभित्र आलोचनासमेत भएको छ। तर लिङ्देन पहिलो पटक गुट भेलामा जान लागेका भने होइनन्, गत साउन १५ गते पनि उनी गुट भेलामै थिए।
‘महामन्त्री धवल शम्शेरलगायतले अध्यक्ष लिङ्देनलाई काम गर्न नदिने नियतका साथ दु:ख दिन लागे, उनीहरूलाई यसै गरी जान दिने कि आवश्यक कदम चाल्ने भन्ने विषयमा आजको बैठकले रणनीति लिन्छ,’ ती नेताले भने, ‘धवल शम्शेरजीसँग खासै नेताकार्यकर्ता छैनन्, पार्टीमा बैठक बोलाऔं भन्ने नम्बरसमेत छैन।’
महामन्त्री धवल शम्शेरले पछिल्लो समय एकपछि अर्को गुट भेला राखेकोले त्यसलाई काउन्टर दिन अध्यक्ष लिङ्देननिकटले पनि भेला राखेको ती पदाधिकारीको भनाइ छ।
राप्रपामा ५२ सदस्यी केन्द्रीय कार्यसम्पादन समिति छ। तीमध्ये जम्मा ११ जना धवल शम्शेरनिकट रहेको लिङ्देननिकट ती पदाधिकारीले दाबी गरे।
‘वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री शरदराज पाठक अहिले अध्यक्ष लिङ्देननिकट नै देखिनु भएको छ, हालै मिश्रको घरमा पुगेर अध्यक्षले संवादसमेत गर्नुभएको थियो,’ ती पदाधिकारीले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिका ५२ मध्ये ११ जना मात्रै महामन्त्री धवल शम्शेरतिर हुनुहुन्छ।’
मिश्रसहित ४० जनाको नाम निर्वाचन आयोगमा राप्रपाले करिब तीन वर्ष हुँदासमेत अद्यावधिक गरेको छैन। यसमा मिश्र पक्षका नेताहरूले अध्यक्ष लिङ्देनसँग असन्तुष्टि जनाएका थिए। यसै सन्दर्भमा अध्यक्ष लिङ्देनले मिश्रलाई भेटेर कुराकानी गरेको स्रोतको दाबी छ।
आफैले मनोनीत गरेका पदाधिकारीहरूले अहिले आफैमाथि घेराबन्दी गरेकोले कारबाही गर्नुपरेको अध्यक्ष लिङ्देनले अभिव्यक्ति दिने गरेका छन्। विचार मिल्नेहरूलाई महाधिवेशनसम्म राप्रपामै बसेर आफूलाई हराउन र विचार नमिल्ने भए राप्रपा छाडेर जान चुनौतीसमेत लिङ्देनले दिइसकेका छन्।
अध्यक्ष लिङ्देनले फरक विचार राखेका पदाधिकारीहरूलाई कारबाही गरेपछि महामन्त्री धवल शम्शेर राणा पक्ष सशंकित भएको छ। महामन्त्री राणाले अध्यक्ष लिङ्देनलाई पत्र नै लेखेर विधानविपरीत कारबाही फिर्ता लिन र कार्यशैली सच्याउन माग गरिसकेका छन् तर अध्यक्ष लिङ्देनले यस विषयलाई महत्त्व दिएका छैनन्।
‘अध्यक्षलाई काम गर्न नदिने, गुटबन्दी गर्नेहरूमाथि अझै कारबाही गर्ने कि के गर्ने भन्ने बारेमा पनि आफूपक्षीय नेताहरूसँग सुझाव दिने पक्षमा अध्यक्ष हुनुहुन्छ,’ ती पदाधिकारीले भने, ‘यसअघि साउन १५ गते पनि यस्तै छलफल गरिएको हो।’
अध्यक्ष लिङ्देनको कार्यशैलीमाथि पछिल्लो समय महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरूले मात्रै आलोचना गर्दै विज्ञप्ति निकालेका छन्। मनोनीत पदाधिकारीहरूमाथि कारबाही हुन थालेपछि अरू मनोनीत मौन छन्।
महामन्त्री धवल शम्शेर राणाले हालै काठमाडौंको हात्तीसारमा गुट बैठक गरेका थिए।
भेलामा विक्रम पाण्डे, मुकुन्दश्याम गिरी, धवलशम्शेर राणा, कुन्तिकुमारी शाही, विक्रमबहादुर थापा, दीपबहादुर शाही, जगत गौचन, सगुनसुन्दर लावती, रवीन्द्रप्रताप शाह, प्रविनकुमार थोकर तामाङ, प्रेम बलायर, ऋषिराज देवकोटा, सौरेन्द्रबहादुर शाहलगायत करिब ७० जना नेता उपस्थित रहेको महामन्त्री राणानिकट एक केन्द्रीय सदस्यले बताए।
गत सोमबार (साउन १९ गते) को बैठकले पछिल्लो समय अध्यक्ष लिङ्देनले गरेका विधान विपरीतका निर्णयहरू उल्टाउन आगामी केन्द्रीय समिति बैठकमा एजेन्डा बनाउन दबाब दिने र त्यसैका लागि तयारीमा रहन केन्द्रीय सदस्यहरूलाई निर्देश गर्ने निर्णयसमेत गरेको थियो।
त्यसअघि महामन्त्री राणाको अगुवाइमा असार २८ गते पनि गुट भेला भएको थियो। अध्यक्ष लिङ्देनले अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पदमुक्त गरेपछि निर्वाचन आयोगमा यसबारे उजुरी दिने निर्णय सोही भेलाबाट भएको थियो।
साउन १५ गते अध्यक्ष लिङ्देनले राप्रपा महाधिवेशनअघि बढाउने संकेतसहित तल्ला तहका अधिवेशनहरू गराउन केन्द्रीय पर्यवेक्षक तोके। ७७ जिल्लामा पर्यवेक्षक तोक्दा अध्यक्ष लिङ्देनले संस्थापनइतर पक्षका नेताहरूलाई जिम्मेवारी नदिएको र एकलौटी गरेको आरोप छ।
‘कुन्तिकुमारी शाही अध्यक्ष लिङ्देनसँगै महाधिवेशनमा जितेर महामन्त्री हुनुभएको हो, उहाँलाई पनि अध्यक्षले जिम्मेवारी दिनुभएन, एकलौटी गर्न खोज्नुभएको छ,’ महामन्त्री धवल शम्शेरनिकट एक पदाधिकारीले भने।
पार्टीभित्र देखिएका विवाद समाधान गर्न राप्रपामा कुनै नेताहरूले पहल लिएका छैनन्, अध्यक्षसहित नेताहरू नै गुट भेलामा सहभागी हुँदा मतभेद ज्युँका त्युँ छ।