अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला दिनमा भारतमाथि व्यापक दबाब हालिरहेका छन्।
गत बुधबार उनले भारतबाट आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। शुक्रबार सम्ममा रूसी कच्चा तेल किनेको भन्दै झन् धेरै महसुल बढाउने धम्की दिएका छन्।
युक्रेनसँग युद्धविराम गर्न उनले पुटिनलाई दिएको पछिल्लो समयसीमा शुक्रबार सकिँदैछ। त्यसपछि रूसमाथि दबाब बढाउन ट्रम्पले रूसी तेल किन्ने देशका सबै उत्पादनमा १०० प्रतिशत थप भन्सार लगाउने भन्दै आएका छन्।
भारत रूसी तेलका प्रमुख ग्राहकमध्ये भएकाले ट्रम्पले साँच्चै थप भन्सार महसुल लगाउलान् भन्ने भारतलाई डर छ। त्यसैले भारतले कूटनीतिक माध्यम प्रयोग गरेर भरसक ट्रम्पलाई मनाउन खोज्ने देखिन्छ।
अमेरिकी कृषि उत्पादनलाई भारतीय बजारमा प्रवेश नदिएका कारण भारत र अमेरिकाबीच व्यापार सम्झौता हुन नसकेको मानिन्छ। ट्रम्पले लगातार धम्की दिइरहे पनि केही हप्तामा व्यापार वार्ता गर्न अमेरिकी टोली भारत जाँदैछ। त्यतिबेलामा केही अमेरिकी दुग्ध उत्पादनलाई आफ्नो बजारमा पहुँच दिने लगायत प्रस्ताव भारतले गर्न सक्ने मानिन्छ।
ट्रम्पले पुटिनसँग कुरा गर्न आफ्ना विशेष दूत स्टिभ विट्कफलाई यसै साता रूस पठाउँदैछन्। विट्कफको भ्रमणपछि पनि केही उपलब्धि हासिल भएन भने मात्रै शुक्रबारको समयसीमा सकिएपछि ट्रम्पले थप कदम चाल्ने देखिन्छ। तर ट्रम्पलाई फकाउन विट्कफसँग रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही प्रस्ताव गर्नसक्ने सम्भावना झिनो भए पनि अझै बाँकी नै छ।
त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल पनि अहिले रूस भ्रमणमा छन्। उनले पनि ट्रम्पको धम्कीबारे रुससँग कुरा गर्ने अपेक्षा गरिएको छ।
सबै कूटनीतिक पहलले काम गरेन भने पनि रूसी तेल किनेको भन्दै थप भन्सार लगाउन ट्रम्पलाई त्यति सजिलो हुने देखिँदैन। रूसी तेल भारतले मात्रै किन्ने होइन। लगभग भारतकै जति परिमाणमा चीनले पनि किनिरहेको छ। चीनले तेल किनेकोबारे पछिल्ला दिनमा ट्रम्पले केही सार्वजनिक टिप्पणी गरेका छैनन्। एकोहोरो भारतलाई मात्रै जरिवाना लगाउँछु भनेर धम्की दिइरहेका छन्।
तर रूसी तेल किन्ने देशहरूलाई अमेरिकाले औपचारिक रूपमा थप भन्सार लगाए चीन पनि त्यसमा पर्नेछ। चीनका सामु ट्रम्पले पहिल्यै खुट्टा कमाइ सकेकाले चीनसँग व्यापार वार्ता चलिरहेको बेला उनले थप भन्सार महसुल लगाउने सम्भावना कम छ।
एउटै विषयमा भारतलाई उच्च भन्सार लगाउने अनि चीनलाई चाहिँ केही पनि नगर्न ट्रम्प जस्तो मनपरी निर्णय गर्नेलाई समेत अप्ठ्यारो हुनेछ।
यो सबका वावजुद उनले भारतमाथि उच्च भन्सार महसुल लगाए भने भारत सरकारले प्रभावित हुने निर्यातकर्ताहरूलाई आर्थिक सहयोग गर्ने नीति लिने देखिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)