नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कै पक्षमा धारणा राखेका छन्।
शुक्रबारबाट सुरू भएको बैठकमा प्रस्तुत सातवटा एजेन्डामाथि शनिबार २५ जना सदस्यहरूले धारणा राखेका हुन्।
शनिबार बोल्ने अधिकांश स्थायी समिति सदस्यहरूले अहिलेकै नेतृत्वलाई बलियो बनाएर लैजानुपर्ने धारणा राखेको एक सदस्यले बताए।
'विभिन्न शक्तिको प्रभावमा पार्टीभित्र समस्या सिर्जना गर्न खोजिएको छ। अहिलेकै नेतृत्वलाई बलियो बनाएर लैजानुको विकल्प छैन,' सदस्यहरूले राखेको धारणा सुनाउँदै एक नेताले भने, 'पार्टीलाई वैचारिक र सांगठनिक हिसाबले बलियो बनाउनुपर्ने बेला अन्तरविरोध सिर्जना गर्न नहुनेमा बोल्ने अधिकांश सदस्य एक मत हुनुहुन्छ।'
शनिबार बोल्ने अधिकांश सदस्यहरूले पार्टी उपमहासचिव जनार्दन शर्मालाई आत्मसमीक्षा गर्न र आत्मालोचित हुन सुझाव दिएको ती नेताको दाबी छ।
शर्माले पछिल्लो समय अध्यक्ष प्रचण्डको कार्यशैलीलाई लिएर प्रश्न गरिरहेका छन्। अध्यक्षको नेतृत्वशैलीबारे प्रश्न उठाउँदा पार्टी छाडेर जान भनेको भन्दै उनले सार्वजनिक रूपमै असन्तुष्टि पोख्दै आएका छन्।
पछिल्लो समय पार्टीभित्र र बाहिर पनि प्रचण्डको छवि राम्रो बनिरहेका बेला उमहासचिव शर्माले अन्तरविरोध सिर्जना गर्न खोजेको भन्दै कतिपय सदस्यहरूले त्यसलाई शंकाको दृष्टिले हेरेको अर्का स्थायी समिति सदस्यले बताए।
'पार्टीभित्र भिन्न विचार, दृष्टिकोण आउनु स्वाभाविकै हो। त्यसबारे पार्टीमा छलफल पनि हुन्छ। तर उपमहासचिवज्यूको कार्यशैली भएन। नेतृत्वलाई कमजोर बनाउने गरी बाहिर प्रस्तुत हुनुभएन,' बैठकमा उठेको कुरा सुनाउँदै ती नेताले भने, 'उहाँले मनमोहन अधिकारीदेखि यताका सबै प्रधानमन्त्री भ्रष्ट हुन् भन्नुभएको छ। यसमा कतिपय प्रधानमन्त्री दिवंगत पनि भइसकेका छन्। उहाँले यो पुष्टि गर्न सक्नुहुन्छ? पुष्टि गर्ने आधार के छन् त? नेतृत्वलाई कमजोर बनाउन यसरी प्रस्तुत हुनुभएन। उहाँ पनि त पटक पटक सरकारमा जानु भएको छ, मन्त्री हुनुभएको छ!'
शनिबार बोल्ने अधिकांश सदस्यले उपमहासचिव शर्मालाई आफै कार्यशैली र विचार–दृष्टिकोण राख्ने तौरतरिका बदल्न सुझाव दिएको ती नेताको दाबी छ।
उपमहासचिव शर्माले भने शनिबार बैठकमा आफ्ना धारणा राखेनन्। माओवादी केन्द्रका एक स्थायी समिति सदस्यका अनुसार अध्यक्ष प्रचण्डले सबैलाई आफ्ना विचार प्रस्तुत गर्न भनेका थिए। तर उनले नबोलेको ती सदस्यको दाबी छ।
'उहाँले आज बोल्न मान्नु भएन। खै किन हो! अध्यक्षले सबैलाई बोल्न भन्नुभएको थियो। आज पदाधिकारीबाहेक अधिकांश स्थायी समिति सदस्यहरूले बोल्नुभएको थियो। केही पदाधिकारीहरूले पनि कुरा राख्दा जनार्दनजी बोल्नु भएको छैन,' उनले भने।
स्थायी समितिको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले समाजवादी मोर्चा घटक एकीकृत समावादीसँग छिटो एकता टुंग्याउन जोड दिएका छन्।
'अधिकांश स्थायी समिति सदस्यहरूले एकता टुंग्याउन भन्नुभएको छ। अहिले बलियो र क्रान्तिकारी कम्युनिस्ट पार्टीको खाँचो छ, एकताले मात्रै त्यसको पूर्ति गर्न सक्छ भन्ने नै उहाँहरूको दृष्टिकोण छ,' ती नेताले भने।
आजको बैठकमा सचिव राम कार्कीले भने बोल्ने स्थायी समिति सदस्यहरूभन्दा भिन्न मत राखेका थिए। उनले नेतृत्वले आफैतिर फर्किएर हेर्नुपर्ने बताए।
‘उहाँले घुमाउरो शैलीले जनार्दन शर्माले अघि सारिरहेको दृष्टिकोणलाई सघाउ पुग्नेगरी बोल्नुभयो। उहाँले अध्यक्ष प्रचण्डले आफूतिर पनि फर्किएर हेर्नुपर्ने धारणा राख्नुभयो,’ माओवादी केन्द्रका एक नेताले भने।
माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले भिजिट भिसा प्रकरणमा सरकारसँग पार्टीले दुई बुँदे सहमति गर्दा नराकात्मक सन्देश गएकोबारे पनि बैठकमा कुरा उठेको बताए।
'यसबीमा माओवादी केन्द्रले सञ्चालन गरेको अभियानले पार्टीप्रति आकर्षण पैदा गरेको थियो। माओवादी सुशासनको पक्षमा छ है भन्ने सन्देश पनि गएको थियो। तर भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति गर्नाले नकारात्मक असर परेकोबारे पनि कुरा उठ्यो,' गजुरेलले भने।
उनले पनि बैठकमा नेतृत्वविरूद्ध सार्वजनिक ढंगले टिप्पणी गर्ने, कमजोर बनाउने गरी अभिव्यक्ति आइरहेको भन्दै त्यसप्रति आत्मालोचित हुन सदस्यहरूले सुझाव दिएको बताए।
'अध्यक्षले शुक्रबार बैठक सुरू गर्दै पार्टीभित्र स्वार्थ समूह र गुटबन्दी हाबी भएको भन्दै ती सबै स्थार्थ समूह र गुटहरू विघटन गर्न प्रस्ताव गर्नुभएको थियो। अध्यक्षको प्रस्ताव जायज हो भनेर धेरै सदस्यहरूले धारणा राख्नुभएको छ,' उनले सेतोपाटीसँग भने।
शनिबारको बैठकमा वर्षमान पुन, देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, ओनसरी घर्ती, राम कार्की, मातृका यादव, जयपुरी घर्ती, कमला रोक्का, खगराज भट्ट, प्रह्लाद बुढाथोकी, कुलप्रसाद केसी, महेश्वर गहतराज, अमृता थापा, अञ्जना विशंखे, शशी श्रेष्ठ, सत्य पहाडी, अमृता थापामगर, जोखबहादुर महरा, लगायत २५ जनाले धारणा राखेका थिए।
शुक्रबार अध्यक्ष प्रचण्डले भदौ महिनामा अभियान सञ्चालन गर्ने र दसैंपछाडि केन्द्रीय समिति बैठक गर्नु उपयुक्त हुने प्रस्ताव राखेका थिए। यही स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको मिति तय गर्नेछ।