बागमतीमा कांग्रेस संसदीय दलको नेता चुन्न आज मतदान हुँदैछ।
मुख्यमन्त्री बहादुर सिं लामा विरूद्ध कांग्रेसकै २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार नयाँ दल नेता चुन्न मतदान हुन लागेको हो।
कांग्रेस संसदीय दलका उपनेता रहेका रामकृष्ण चित्रकारले बिहान १० देखि १२ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र २ देखि ३ बजेसम्म मतदान हुने तय भएको जानकारी दिए।
उनका अनुसार हाल मुख्यमन्त्री रहेका लामाले पनि उम्मेदवारी दिनेछन्।
मंगलबार हेटौंडामा संसदीय दल नेता तामाङका पक्ष र विपक्षमा मतविभाजन गरिएको थियो।
जसमा मुख्यमन्त्रीसमेत रहेका संसदीय दल नेता तामाङको पक्षमा जम्मा १५ जना सांसद उभिए भने ईन्द्रबहादुर बानियाँका पक्षमा २२ जना सांसद उभिएका छन्।
त्यसपछि मुख्यमन्त्री लामाले संसदीय दल नेताको हैसियत गुमाएका थिए।
बागमतीमा कांग्रेसका ३७ जना सांसद छन्।
कांग्रेसबाटै मन्त्री रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठ र खानेपानी मन्त्री श्याम खड्काले राजीनामा दिएका थिए।
उनीहरूले इन्द्र बानियाँलाई दल नेता बनाउन हस्ताक्षर गरेका थिए। बानियाँ र लामा दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षकै हुन्।
उनीहरूबीच आधा-आधा कार्यकाल मुख्यमन्त्री चलाउने मौखिक सहमति सुरूमै भएको तर अहिले लामाले त्यसलाई कार्यान्वयन नगरेको आरोप बानियाँ पक्षको छ।
बागमतीमा संसदीय दलमा मतभेद उत्पन्न भएपछि प्रतिनिधि सभा सांसद राजन केसीलाई देउवाले सहजीकरणको जिम्मेवारी दिएर पठाएका थिए।