नेकपा (एमाले) केन्द्रीय सदस्य टंक कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानले पार्टीमा सक्रिय हुन नरोक्ने तर राजनीतिले रोक्न मिल्छ भन्दै प्रश्न गरेका छन्।
मंगलबार मध्यरात सकिएको नवौं केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा फर्कन रोक्ने निर्णय गरेको थियो। त्यो निर्णयप्रति असहमति जनाउँदै कार्कीले पूर्वसभामुखहरूको दृटान्त दिँदै रोक्न मिल्छ भनेर प्रश्न गरेका हुन्।
‘ए गाँठे ! धेरैअघि नै होइन, रामचन्द्र पौडेल समामुखबाट फर्केपछि कांग्रेसमा सामेल भएकै हुन्, सुवास नेम्वाङ उसरी नै सभामुखबाट फर्केपछि एमालेमा सामेल भएकै हुन्। बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री भएकै हुन्। उपराष्ट्रपति नन्दबहादुर पुन माओवादीमा उपाध्यक्ष हुँदा आकाश खसेको छैन। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने राजनीतिको मझेरी टेक्नुहुन्न!,’ उनले भनेका छन्।
बहालवाला राष्ट्रपति मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति हुने भएकाले दलगत हुनुनहुने उनले बताएका छन्। त्यसर्थ पदको गरिमाको पूर्ण सम्मान गर्नुपर्ने र उल्लंघनको छुट नभएको उनको भनाइ छ।
‘तर पूर्वराष्ट्रपति भनेको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति होइनन्। त्यसैले संविधानले रोक्दैन। राजनीतिले रोक्न मिल्छ ? हामी बडो लोकतान्त्रिक छौं। हामी राजनीति गर्छौं,’ उनले भनेका छन्।
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कनबाट रोक्ने निर्णय गर्दै सदस्यताको अभिलेखसमेत मेटाएपछि एमालेभित्र बहस चुलिएको छ।