नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी पुनरागमनको 'च्याप्टर' औपचारिक रूपमा 'क्लोज' गरेको छ।
सक्रिय राजनीतिमा फर्किने भण्डारीको घोषणालाई कमिटीले अस्वीकार गरेको हो।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको बैठकको दोस्रो दिन मंगलबार मध्यरातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्काउने सम्भावना नरहेको स्पष्ट पारे।
बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार पार्टीले भण्डारीलाई पूर्व राष्ट्रपतिको हैसियतमा उच्च सम्मान दिने तर उनी राजनीतिमा आउन हुँदैन भन्ने निर्णय गरेको हो।
'पूर्वराष्ट्रपति भण्डारीलाई सेनाको परमाधिपति रहेको, गणतन्त्रको प्रतीक भइसकेको, गणतन्त्र गौरवले सम्मान गरेको लगायत कारण देखाएर पार्टीले सक्रिय राजनीतिमा आउन नमिल्ने बताएको हो,' प्रचार विभाग प्रमुख गौतमले भने।
यो निर्णयमा पार्टी उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले भने असहमति जनाएका थिए।
'यस्तो निर्णय नगरौं। यसले राम्रो गर्दैन। पार्टीमा दीर्घकालीन असर गर्छ। बरू हामीमध्ये कसैलाई जिम्मा दिनुस्। राजनीतिमा आउन नदिने हो भने पनि सरसल्लाहबाट गरौं,' उपाध्यक्ष पाण्डेले भनेका थिए।
त्यस्तै अर्का उपाध्यक्ष युवराज ज्ञवालीले अहिले निर्णय गर्न हतार नगरौं, सचिवालयबाट निर्णय गर्न सकिन्छ भन्दै फरक मत राखेका थिए।
सदस्य थापाले पनि आफ्नो फरक मत रहेको भन्दै बोल्न खोजेका थिए। तर ओलीले निर्णयहरू सुनाएकै छैन, निर्णयमा केही भएपछि बोल्नुहोला भन्दै थापालाई रोकेका थिए।
ओलीले बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा भण्डारीको पार्टी सदस्यता नवीकरण नै त्रुटिपूर्ण रहेको पनि बताए।
'उहाँले अरूमार्फत पार्टी सदस्यता नवीकरण गराउनु भएछ,' ओलीले दिएको जबाफ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, 'नवीकरण विधान अनुसार त्रुटिपूर्ण छ। फेरि नवीकरण उहाँले गरेको होइन। यो पार्टीको निर्णय नभई हुँदैन।'
ओलीले भण्डारीलाई गणतन्त्र गौरवले सम्मान गरेको प्रसंग निकाल्दै थपे, 'सबै पार्टी नेता बोलाएर गणतन्त्र गौरवले सम्मान गरेको दलको राजनीतिभन्दा माथि हो भनेर गरेको हो। राजा हटाएर बनाएको संस्थाको प्रमुख भएको व्यक्तिलाई हामी सबैले सम्मान गर्नुपर्छ। पार्टीले सम्मान गर्छ।'
पार्टीले सम्मान गर्ने बताएका ओलीले अहिलेको अवस्थामा पार्टीले भण्डारीलाई अध्यक्ष बनाउन भने नसक्ने बताएका थिए।
मंगलबार बिहान ११ बजे सुरू भएको बैठक मध्यरातसम्म गर्दा करिब १२ घन्टा चलेको थियो। बैठकले अन्ततः भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाएको हो।
च्यासलमा चलिरहेको बैठकले आफूलाई रोक्न खोज्ने प्रस्ट संकेत पाएको भण्डारीले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै बताएकी थिइन्।
त्यसो त यसअघिको सचिवालय बैठकमै महासचिव शंकर पोखरेलले विधानमै व्यवस्था गरेर भण्डारीलाई रोक्नुपर्ने प्रस्ताव गरेका थिए। त्यस बेला सचिवालयमा उपाध्यक्ष सुरेन्द्र पाण्डेसहितका नेताले प्रतिवाद गरेपछि यो मुद्दा पछि धकेलिएको थियो।
असार १४ गतेको मदन स्मृति दिवसमा भण्डारीका पक्षमा उभिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यो निर्णयमा मौनतासहित सहमति जनाएका छन्। त्यस बेला उनले पार्टीमा नेतृत्वको बहस खुला हुनुपर्ने भन्दै चर्को बोलेका थिए।
मंगलबार पत्रकारहरूसितको कुराकानीमा पार्टी केन्द्रले आफूबारे कठोर निर्णय नलिने आशा भण्डारीले प्रकट गरेकी थिइन्।
तर एमालेको अध्यक्ष ताकेर राजनीतिमा फर्किन लागेकी भण्डारीलाई कसैगरी रोक्न लागेका ओली र उनको टिमले केन्द्रीय बैठकबाट त्यो निर्णय गराएरै छाडेका छन्।
आफू नेकपा एमालेको सक्रिय राजनीतिमा अघि बढिसकेको र माझकिरातकी छोरी भएकोले खुट्टा नकमाउने बताएकी भण्डारीले लिने अबको कदमले एमालेको आन्तरिक राजनीतिलाई अझै पेचिलो बनाउने भएको छ।
पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा ल्याउन हुन्छ कि हुँदैन भनेर एमाले केन्द्रीय कमिटीमा छलफल भइरहेका बेला मंगलबार दिउँसो पत्रकारहरूलाई भंगालस्थित निवासमा बोलाएर पूर्वराष्ट्रपतिले प्रस्ट भनेकी थिइन्, 'म राजनीतिमा अघि बढेँ, माझकिरातको छोरी हुँ, खुट्टा कमाउँदिनँ।'
उनले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई साउन ४ गते भेटेको प्रसंगबाट कुराकानी सुरू गरेकी थिइन्।
त्यसअघि उनले नयाँ वर्षका अवसरमा आफूले शुभकामना सन्देश दिएको र त्यसले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली चिढिएकोसमेत बताइन्।
'म राष्ट्रपति भइरहेका बेला पनि ओलीजीसँग कुराकानी हुँदा म सक्रिय राजनीतिमा फर्कने हो भनेर भन्थेँ। यो कुरा ओलीजीलाई राम्रोसँग थाहा थियो। उहाँले त्यस बेला भइहाल्छ भन्ने खालका कुरा गर्नुहुन्थ्यो। तर गम्भीर वार्तालाप भने त्यो विषयमा भएको थिएन,' उनले भनिन्।
अहिले आफू सक्रिय राजनीतिमा फर्किने भनेपछि पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्किन हुँदैन भनेर अध्यक्ष ओलीले अभिव्यक्ति दिने र नेताहरूलाई 'नबोल्न' आग्रह गरिरहेको सुनिएको पनि उनले बताएकी थिइन्।
'म राष्ट्रपति हुँदा नै सक्रिय राजनीतिमा आउने भन्थेँ। राष्ट्रपतिबाट हटेपछि भाइहरू (एमालेका नेताहरू) घरमा आउने र तपाईं अघि बढ्नुपर्छ भनिरहेका थिए। म पनि सक्रिय राजनीतिमा फर्कने जोखना हेरिरहेको थिएँ,' भण्डारीले भनिन्, 'नयाँ वर्षमा शुभकामना दिएँ, त्यसले ओलीजी चिढिनुभयो, त्यसपछि असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मैले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेँ।'
उनले २०८० सालमै एमालेको सदस्यता नवीकरण गरेको पनि बताएकी थिइन्।
२०७२ देखि २०८० सम्मको दस्तुर तिरेर आफूले एमालेको सदस्यता नवीकरण गरेको उनको दाबी थियो।
'राष्ट्रपतिबाट हटेको ६ महिनाभित्रै मैले एमालेको सदस्यता नवीकरण गरेको थिएँ। त्यस बेला खासै बहसको विषय बनेन। सदस्यता नवीकरण गरेकोले म सक्रिय राजनीतिमा फर्किनु सामान्य विषय हो,' उनले भनिन्।
यसबीच उनले अर्को वर्ष मदन भण्डारीको हीरक जयन्ती मनाउने तयारी गरिएको र त्यसका लागि समिति गठन गर्ने बेलाका प्रसंग पनि उप्काइन्।
'यसबारे अध्यक्षजीसँग कुरा राखेकी थिएँ। पार्टीकै वरिष्ठ नेता (ईश्वर पोखरेल) हीरक जयन्ती कार्यक्रमको संयोजक बन्नुहोला भन्ने थियो। अध्यक्षजीले पदाधिकारीको पार्टीमै काम हुन्छ, अन्य काममा लगाउन हुन्न भन्ने जबाफ दिनुभयो। अनि मैले डोरमणि पौडेलको नेतृत्वमा समिति बनाएँ,' उनले भनिन्, 'अध्यक्षजीले जनसंगठनका मानिस पनि हीरक जयन्ती मनाउने समितिमा बस्न हुँदैन भन्नुभयो।'
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता पेन्डिङमा रहेको बताएका थिए। यो कुरा सुनेपछि आफूले अध्यक्ष ओलीलाई फोन गरेको भण्डारीले बताएकी थिइन्।
'मेरो सदस्यता पेन्डिङमा छ भन्ने कुरा गरिएको रहेछ, त्यो पेन्डिङ भनेको के हो?' भण्डारीले ओलीलाई फोनमा सोधेकी थिइन्।
अध्यक्ष ओलीले यो राजनीतिक निर्णय गर्ने कुरा हो, बसेरै कुरा गरौंला भन्ने जबाफ दिएका थिए।
त्यसपछि भेट्ने कुरा भएको उनले बताइन्। अध्यक्ष ओलीले बालुवाटार आउन भने पनि आफूले च्यासलमै भेटवार्ता गर्ने कुरा राखेपछि साउन ४ गते च्यासलमा भेटवार्ता भएको उनको भनाइ छ।
'च्यासलमा भेट्ने भनेपछि उहाँले नै अपराह्न ३ बजेको समय दिनुभयो। धेरैबेर पर्खिन नलगाउनुस्, मेरो खुट्टा दुख्ने समस्या छ भनेकी थिएँ। ३ बजे समय दिए पनि ४ बजे उहाँ आउनुभयो। त्यतिन्जेल एमालेका नेताहरूसँग कुराकानी गरेर बसेकी थिएँ,' उनले भनिन्।
च्यासलमा अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीति, कांग्रेससँगको समीकरणलगायत विषयमा कुराकानी भएको उनको भनाइ छ। तर अध्यक्ष ओलीले पार्टी सदस्यता राजनीतिक विषय भएको र यसमा पार्टीले निर्णय लिने बताएका थिए।
'तपाईं राष्ट्रपति भइसकेको मानिस हो, सम्मानित पदमा बसेकै राम्रो हुन्छ, बाहिर पनि टीकाटिप्पणी गर्छन्, अनेक प्रचार गर्छन्,' अध्यक्ष ओलीको भनाइ थियो।
अध्यक्ष ओलीसँग आफूले सदस्यता नवीकरण भइसकेको र आफू सक्रिय राजनीतिमा अघि बढिसकेको कुरा राखेको पनि भण्डारीले बताइन्।
भण्डारीले केही पुराना कुरा पनि निकालिन्।
२०७० सालमा आफूलाई सभामुख बन्ने प्रस्ताव आएको प्रसंग निकाल्दै उनले भनिन्, 'मलाई त्यस बेला पार्टीका नेताहरूबाटै सभामुख बन्न प्रस्ताव आएको थियो. हिँडडुल गरिराख्नुपर्ने मानिस म ८ घन्टा लगातार कुर्सीमा बस्न सक्दिनँ भनेर सभामुख भइनँ। त्यसपछि सभामुख सुवास नेम्वाङ नै बन्नुभयो।'
साथै उनले राष्ट्रपतिका लागि प्रस्ताव आएको प्रसंग पनि सुनाइन्।
'राष्ट्रपति बन्नुपर्छ भनेर प्रस्ताव आउँदा मलाई रातभर निद्रा लागेन, राष्ट्रपतिमा जाने कि नजाने भनेर। छोरीहरूले पनि राष्ट्रपतिमा गएर बुबाको सपना कसरी पूरा हुन्छ भनेर मलाई सोधे। म राष्ट्रपति हुँदा मेरो घरमा खुसी थिएन,' उनले दाबी गरिन्।
पार्टीले राष्ट्रपतिमा पठाउने निर्णय गरेपछि आफू गएको उल्लेख गर्दै उनले राष्ट्रपति हुँदा गरेका कामप्रति पछुतो र गुनासो भने नरहेको बताइन्।
'म राष्ट्रपति हुँदा दुई पटक संसद विघटन भयो। मैले त्यो ठिकै गरेँ भन्ने लाग्छ। अदालतले पनि आफ्नो काम गर्यो। मैले पनि आफ्नो काम गरेकी हुँ,' उनले भनिन्, 'मैले राष्ट्रपति हुँदा गरेको काममा पछुतो भने छैन। देशको अहित हुने काम पनि गरिनँ भन्ने लाग्छ।'
भण्डारीले अध्यक्ष ओलीप्रति कटाक्ष पनि गरिन्। अध्यक्ष ओली आफ्नै विचारबाट पछि हटेको उनको आरोप छ। अध्यक्ष ओलीले विगतमा पार्टी लोकतान्त्रीकरणको विचार राखे पनि अहिले उमेर हद र दुई कार्यकाल निर्णय उल्टाएको उनको भनाइ छ।
'ओलीजी आफ्नै विचारबाट पछि फर्कनुभयो। लोकतान्त्रीकरणको विचारबाट उहाँ हट्नुभयो,' उनले भनिन्।
पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्किन हुने उनको दाबी छ।
'राष्ट्रपति भएको मानिस राजनीतिमा फर्किन हुँदैन भनिरहेका छन्। कतिपयले यो अनैतिक पनि भनेका छन्। के पार्टीको निर्णय अनुसार राष्ट्रपतिमा जानु अनैतिक हो? म जहाँ गए पनि पार्टीकै आदेश अनुसार र निर्णय अनुसार गएको हुँ, काम गरेकी हुँ। अहिले अनैतिक नैतिक कुरा गरिँदैछ। राष्ट्रपति संस्थामा नैतिक मानिस जाने हो भने फर्किएर आएपछि पार्टी पनि त नैतिकवान हुन्छ,' उनले भनिन्।
अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपतिको प्रवक्ता नबन्न र बने कारबाही गर्ने चेतावनी दिएको संकेत गर्दै उनले भनिन्, 'नेताहरूलाई नबोल्न भनिएको रहेछ। तर म अघि बढिसकेँ। केन्द्रीय समिति बैठकअघि प्रदेश प्रदेशमा भेला गरिएको रहेछ, केन्द्रीय समितिमा त्रास सिर्जना गर्न खोजिएको छ।'
ओलीले पार्टीभित्र आफ्नो विकल्प छैन भन्न खोजिएकोतर्फ लक्ष्य गर्दै उनले भनिन्, 'पार्टीभित्र मेरो विकल्प छैन भनेर आफूबाहेक उहाँले अर्को नेतृत्व देख्नुभएको छैन। अरूलाई केटाकेटी ठान्नुहुन्छ। नेतृत्व नै ठान्नु हुन्न।'
उनले आफू दुई कार्यकाल उपाध्यक्ष भइसकेपछि नेताहरूको आँखाको कसिंगर बनिसकेको पनि बताएकी थिइन्।
'दुई कार्यकाल उपाध्यक्ष भएकाले अध्यक्ष उठ्न सक्छ भनेर त्यस बेलै नेताहरूको आँखामा म कसिंगर भएकी थिएँ,' उनले भनिन्।
उनले आफू २०३५–२०३६ सालदेखि अनेरास्ववियुबाट पार्टीमा लागेको पनि बताइन्।
'संगठनका अधिवेशनमा म एक्लै, माझकिरातकी छोरी, काठमाडौं आउँथेँ। संघर्षबाट आएकी हुँ। खुट्टा कमाउँदिनँ,' उनले दोहोर्याएकी थिइन्।
कमिटीले राजनीतिमा आउन हुन्न भनेर निर्णय गरेमा के गर्ने भन्ने प्रश्न सोध्दा उनले भनेकी थिइन्, 'यस्तो कठोर निर्णय केन्द्रीय कमिटीले लिँदैन भन्ने लाग्छ, यदि लियो भने त्यसै बेला प्रतिक्रिया दिऊँला।'
मंगलबार मध्यरातमा कमिटीले भने उनको आशा विपरीत निर्णय गर्दै पार्टी पुनरागमनको 'च्याप्टर क्लोज' गरिदिएको छ।