प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधानबाट उमेर हद हटाउने विषयलाई सिद्धान्त नै परिवर्तन गरे जसरी हल्ला गर्न आवश्यक नभएको बताएका छन्।
च्यासलमा सोमबारदेखि भइरहेको पार्टी केन्द्रीय बैठकमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको जबाफ दिँदै ओलीले यस्तो भनेका हुन्।
उनले भने, 'आवश्यकताका आधारमा अहिले उमेर हद हटाइएको हो। पार्टीको सिद्धान्त नै फेरे जसरी हल्ला गर्न जरूरी छैन।'
ओलीले यो सामान्य कुरा भएको बताएको पनि बैठकमा सहभागी एक नेताले जानकारी दिए।
एमालेले विधानमा भएको ७० वर्षको उमेर हद र दुई कार्यकालको प्रावधान हटाउँदै आगामी भदौमा हुने विधान महाधिवेशनमा पेस गर्ने तयारी गरेको छ।