प्रधानमन्त्री केपी ओलीले विद्यादेवी भण्डारीलाई उनको पार्टी सदस्यता नवीकरण नहुने र उनले राजनीतिमा सक्रिय हुनुको सट्टा पूर्वराष्ट्रपतिका रूपमा सम्मानपूर्वक बस्नुपर्ने स्पष्टसँग बताएका छन्।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आइतबार पार्टी कार्यालय, च्यासलमा भएको भेटमा ओलीले सो कुरा भनेका हुन्। त्यस्तै आइतबारको भेट पूर्वराष्ट्रपति भण्डारीकै आग्रहमा भएको हो। भण्डारीले आइतबार बिहान अध्यक्ष ओलीलाई टेलिफोन गरेर संवादका लागि आग्रह गरेकी थिइन्।
भण्डारीको आग्रह अनुरूप ओलीले भेटका लागि सुरूमा बालुवाटार बोलाएका थिए।
'पूर्वराष्ट्रपतिले फोन गरेर भेटौं भनेपछि प्रधानमन्त्रीले बालुवाटारमा भेट्ने त भन्नुभएको रहेछ,' प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, 'बालुवाटारमा नभेटौं, पार्टी कार्यालयमै भेटौं भनेपछि च्यासलमा भेट भएको हो।'
भेटमा भण्डारीले पार्टी सदस्यता नवीकरणको सन्दर्भ उठाएको प्रधानमन्त्रीको सचिवालयको दाबी छ।
'पूर्वराष्ट्रपतिले आफ्नो सदस्यता नवीकरणबारे पार्टी अध्यक्षलाई सोध्नुभयो। अध्यक्षले तपाईंको सदस्यता नवीकरण हुँदैन भनेर आज पनि स्पष्ट भाषामा भन्नुभएको छ,' प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने।
त्यसपछि पूर्वराष्ट्रपति भण्डारीले 'मैले पहिले स्वेच्छाले सदस्यता त्यागेकाले पुन: प्राप्त गर्न निवेदन त दिनैपर्ने रहेछ' भनेको पनि ती सदस्यले बताए।
तर त्यसपछि प्रधानमन्त्री ओलीले यो प्रक्रियाको कुरा नभएको र भण्डारीले एमालेको सदस्यता लिएर सक्रिय राजनीतिमा फर्किन नमिल्ने प्रस्ट पारेका थिए।
'प्रधानमन्त्रीले स्रेस्ता मिलाएर सदस्यता फेरि लिने कुरा होइन, यो कुनै व्यक्तिको कुरा पनि होइन। राष्ट्रपति भइसकेको मानिस राजनीतिमा फर्किन मिल्दैन भन्ने कुरा नै हो। यो खासमा व्यवस्था र प्रणालीको कुरा हो भन्नुभएको छ,' ती सदस्यले भने।
त्यसपछि भण्डारीले 'मेरो भूमिका के हुन्छ त' भनेर जिज्ञासा राखेकी थिइन्।
प्रधानमन्त्री ओलीले 'तपाईं पूर्वराष्ट्रपतिको हैसियतमा सम्मानपूर्वक बस्ने हो' भनेर प्रस्ट पारेको उनले बताए।
च्यासलमा प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच पौने दुई घन्टा कुराकानी भएको थियो।
उनीहरूबीच अपराह्न तीन बजेका लागि भेट तय भएको थियो। भण्डारी ३:२२ बजे ललितपुरस्थित एमाले मुख्यालय च्यासल पुगेकी थिइन्। ओलीले समय धकेलेपछि उनीहरूबीच ३:५७ बजे मात्र भेट भयो। करिब आधा घन्टा भण्डारी पार्टी कार्यालयमा कुरेर बसिन्।
उनीहरूबीच साँझ ५:४५ बजेसम्म कुराकानी भएको थियो। भेटको बिट मारेर बाहिर निस्किँदा अध्यक्ष ओलीले कुनै प्रतिक्रिया दिएनन्।
ओलीसँगै आएकी भण्डारी भने सञ्चारकर्मीसामु बोलेकी थिइन्। भण्डारीले धेरै बताउन चाहेकी थिइन्। तर सञ्चारकर्मीको हुलमुलले त्यो वातावरण बिथोलियो।
संक्षिप्त प्रतिक्रियामा भण्डारीले ओलीसँगको राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको बताइन्।
सञ्चारकर्मीले उनको पार्टी सदस्यता नवीकरणबारे जिज्ञासा राखेका थिए।
सुरूमा त उनले 'यो कुरा पछि बताउँला' भनेर टारिन्।
'यो कुरा पछि भनौंला, आज उहाँसँग राष्ट्रिय राजनीतिबारे मात्रै कुराकानी भयो। अरू विषय तपाईंलाई आधिकारिक च्यानलबाट मात्रै थाहा हुन्छ,' उनले भनिन्।
'तपाईंको सदस्यता नवीकरण भइसकेको हो' भन्दै सञ्चारकर्मीले दोहोर्याएर सोधेपछि भने उनले भइसकेको बताइन्।
'होइन, त्यो त पुरानै कुरा भयो। पहिले नै सकेको कुरा हो,' उनले यति मात्रै भनिन्।
च्यासलमा रहेको तुलसीलाल स्मृति भवनमा पार्टी कार्यालय उनले टेकेको तेस्रो पटक हो। यसअघि उनी सुवास नेम्वाङ र तुलशीलाल अमात्यकै स्मृतिमा पार्टी मुख्यालय पुगेकी थिइन्।
आफू कमजोर भएपछि भण्डारी पक्षको सुलह प्रयास
भण्डारीनिकट एक नेताले बताए अनुसार पार्टीका कमिटीहरूमा पूर्वराष्ट्रपतिका पक्षमा थोरै मानिसहरू मात्र खुलेपछि र प्रधानमन्त्री ओली उनलाई पार्टी प्रवेश गर्नबाट रोक्नेमा दृढ देखिएपछि उनीहरू रक्षात्मक अवस्थामा पुगेका छन्।
१९ सदस्यीय सचिवालय बैठकमा ६ जना नेताले मात्र भण्डारीको पक्षमा बोलेका थिए। उनीहरूले मात्र ओली पक्षले अघि सारेको ७० वर्षे उमेर हद र अध्यक्षमा दुई कार्यकाल मात्र कायम रहन पाउने यसअघिको व्यवस्था हटाउने पक्षमा बोलेका थिए। साथै उनीहरूले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा फर्किएर सक्रिय राजनीति गर्न रोक लगाउन नहुने पक्षमा बोलेका थिए।
तर पोलिटब्युरो बैठकमा आइपुग्दा भण्डारीको पक्षमा बोल्ने नेताहरू झनै घटे।
भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन दिनुपर्छ र एमालेले उनलाई त्यसका लागि स्वागत गर्नुपर्छ भनेर बोल्नेहरूको संख्या झिनो मात्र देखियो। कर्ण थापा, आनन्द पोखरेल लगायत केही नेता मात्रै उनको पक्षमा खुलेर बोले।
विगतदेखि भण्डारी पक्षको हुँ भन्नेहरू नै गलेर 'अब ओलीसँग मिलेर एकताको सन्देश दिनुपर्छ' भन्न थालेपछि पूर्वराष्ट्रपति भण्डारी दबाबमा परेकी एक नेताले बताए।
'पोलिटब्युरो बैठकमा उठेका विचार र धारणा सुनिसकेपछि हामीले एक खालको निष्कर्ष निकालिसकेका थियौं। हामी एकदमै अल्पमतमा पर्यौं, त्यसलाई स्वीकार गर्नुपर्छ,' ती नेताले भने।
सोमबारका लागि राखिएको केन्द्रीय कमिटीमा एकताको सन्देश जाओस् भनेर पनि त्यसअघि नै छलफलको चाँजोपाँजो मिलाएको उनले बताए।
'उहाँहरू बीच के, कसरी कुरा भयो यकिन छैन। एक्लाएक्लै भेटवार्ता भएकाले उहाँहरूले आ–आफ्ना पक्षका नेताहरूलाई सेयर गरेपछि थप कुरा बाहिर आउने हो,' उनले भने।
ओली–भण्डारी भेटअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य कर्ण थापा र कार्यालय सचिव भीष्म अधिकारी मिसिएर सामूहिक तस्बिर खिचेका थिए।
वरिष्ठ उपाध्यक्ष पोखरेल आइतबार बिहानै बालुवाटार गएको पनि प्रधानमन्त्रीको सचिवालयले बतायो। पोखरेलले विधान संशोधन प्रस्तावमा वरिष्ठ उपाध्यक्ष हटाइएकोबारे पनि चासो राखेका थिए। विधानको मौजुदा व्यवस्थामा भएको वरिष्ठ उपाध्यक्ष सम्बन्धी प्रावधान हटाउन नहुने धारणा राखेको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।
'उहाँले पार्टी अध्यक्ष ओलीसँग त्यस्तो असहमति नरहेको बताउँदै प्रस्तावित विधानमा वरिष्ठ उपाध्यक्ष राख्नुपर्ने तर्क गर्नुभएको थियो। जबाफमा पार्टी अध्यक्षले तपाईं त ७० वर्षे उमेर हद राख्नुपर्छ भन्नुहुन्छ, तपाईं ७० वर्ष पनि पुगिहाल्नुभयो, पार्टीमा अरूको पोजिसनको चिन्ता किन गर्नुहुन्छ भनेर भन्नुभयो,' प्रधानमन्त्री सचिवालयका एका सदस्यले भने।
पोखरेलले पनि सञ्चारकर्मीसँग कुरा गर्दै आफू बिहान बालुवाटार गएको स्वीकार गरे तर किन गएको बताउन चाहेनन्।