राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केही मनोनीत पदाधिकारीहरूलाई स्पष्टीकरण सोध्ने र जिम्मेवारी खोस्ने गरी आन्तरिक छलफल गरेका छन्।
अध्यक्ष लिङ्देनले विधानअनुसार केही पदाधिकारी र समिति प्रमुखहरू मनोनीत गरेका थिए। आफैले मनोनीत गरेकाहरू अहिले भिन्नै गुट बनाएर आफूविरूद्ध लागेको निष्कर्ष लिङ्देनको छ।
अध्यक्ष लिङ्देननिकट एक नेताले सेतोपाटीलाई दिएको जानकारीअनुसार पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीको भूमिकाप्रति उनी सन्तुष्ट छैनन्।
लोहनीलाई २०७९ माघमा केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गराएर लिङ्देनले निर्देशन समिति अध्यक्ष मनोनीत गरेका थिए।
तर लोहनीले अहिले पार्टीभित्र बेग्लै गुट बनाएर त्यसको नेतृत्व गर्दै भेला गर्ने र अध्यक्षलाई चुनौती दिने गतिविधि गरिरहेको ती नेताको भनाइ छ।
‘कुनै विषयलाई लिएर पार्टीभित्र मतभेद देखियो भने निर्देशन समिति अध्यक्षले त्यो विषय पार्टीभित्रै छलफल गरेर पो समाधान निकाल्न पहल गर्नुपर्छ त, उहाँ त पूर्वअध्यक्ष पनि हो, तर व्यक्तिका घरमा गएर अध्यक्षविरूद्ध भेला गर्नुहुन्छ,’ गत शनिबार महामन्त्री धवल शम्शेर राणाको घरमा भएको भेलालाई लक्ष्य गर्दै लिङ्देननिकट ती नेताले भने, ‘निर्देशन समिति अध्यक्षको भूमिका गुट भेला गर्ने हो कि पार्टीमा समन्वयकारी भूमिका खेल्ने हो? त्यसैले उहाँमाथि स्पष्टीकरण सोध्नेबारे पनि आन्तरिक छलफल भएको छ।’
असार २५ गते अध्यक्ष लिङ्देनले अनुशासन समिति अध्यक्षमा आफूनिकट उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेका थिए। अनुशासन समति अध्यक्ष नवराज सुवेदी चैत ४ गते राजसंस्था पुनर्स्थापनाका लागि ‘संयुक्त जनआन्दोलन समिति’ गठन गर्दै संयोजक बन्न गएका थिए भने सुवेदीले त्यसबेला राप्रपा परित्यागको घोषणासमेत गरेका थिए।
अनुशासन समिति अध्यक्ष रिक्त रहेको झन्डै तीन महिनामा लिङ्देनले कार्कीलाई मनोनीत गरेका थिए। साथै ‘संयुक्त जनआन्दोलन समिति’ मै सक्रिय रहेका प्रवक्ता सगुनसुन्दर लावतीलाई पनि लिङ्देनले असार २५ गते नै पदमुक्त गरेका थिए।
यो विषयले राप्रपाभित्र विवाद सिर्जना गरेको छ।
अध्यक्ष लिङ्देनले गरेको निर्णय ‘एकलौटी र विधानविपरीत’ भन्दै पूर्वअध्यक्ष लोहनीको नेतृत्वमा सुवेदी र लावतीसहित महामन्त्री राणालगायत निर्वाचन आयोग नै पुगेर पुनर्बहालीको मागसहित उजुरी दिएका छन्।
आफूहरूलाई स्पष्टीकरणको मौकासमेत नदिई, केन्द्रीय समितिमा छलफलसमेत नगरी अध्यक्ष लिङ्देनले पदमुक्त गरेको आरोप सुवेदी र लावतीको छ।
तर अध्यक्ष लिङ्देन पक्षले भने पार्टीको बृहत्तर हितविपरीत नेताहरू विभिन्न अभियानमा सक्रिय रहेको पाइएकोले केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार नै कारबाही गरिएको जबाफ दिने गरेको छ।
साथै नवराज सुवेदीले 'पार्टी सदस्यता नै परित्याग गरेँ' भनेकोले फेरि राप्रपामै सक्रिय हुने हो भने सदस्यता लिनुपर्ने तर्कसमेत अध्यक्ष लिङ्देन पक्षको छ।
‘नवराज सुवेदी राप्रपाकै एजेन्डा थपक्क बोकेर बेग्लै अभियानको नेतृत्व गर्दै राजा फर्काउन जानुभएको होइन? त्यसबेला माहोल देखेर हो कि के हो उहाँले राप्रपा नै परित्याग गरेँ भनेर भाषण गर्नुभयो, अहिले राजाको माहोल सेलाएछ कि, फेरि उहाँलाई राप्रपाकै पदप्रतिष्ठाको माया लाग्न थाल्यो,’ अध्यक्ष लिङ्देननिकट ती नेताले भने, ‘उहाँ राप्रपामै सक्रिय हुने भए फेरि सदस्यता लिनुपर्यो होइन भने थपक्क घरमा बस्नुपर्यो।’
८६ वर्षका पूर्वपञ्च सुवेदी राजसंस्था पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ संयोजक छन्। यो समितिमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सदस्य सचिव र महामन्त्री धवल शम्शेर राणा आन्दोलन परिचालन समितिमा छन्। सुवेदी नेतृत्वको समितिले लिङ्देनलाई पनि सुरूमै समिति सदस्य राखे पनि उनले अस्वीकार गरेका थिए।
तर पटक-पटक पूर्वराजा ज्ञानेन्द्र शाहसँगको भेटवार्तापछि लिङ्देन सुवेदीकै नेतृत्वमा असार १५ गतेदेखि ‘अनिश्चितकालीन जनआन्दोलन’ मा होमिएका थिए। तर विभिन्न पार्टी र समूह गरी राजा फर्काउन ‘जनआन्दोलन’ घोषणा गरे पनि एक साता नबित्दै उक्त आन्दोलन हरायो।
‘राजा फर्काउन सकिन्न भन्ने लागेछ कि के हो नवराज सुवेदी फेरि राप्रपा अनुशासन समिति अध्यक्ष नै चाहियो भन्ने ठाउँमा आइपुग्नुभयो, अध्यक्षसँग कुरा गर्ने हिम्मत भएनछ, पूर्वअध्यक्ष लोहनीको साथमा निर्वाचन आयोगमा उजुरी लिएर पुग्नुभएको छ,’ लिङ्देननिकट ती नेताले भने, ‘नवराज सुवेदीलाई मोहरा बनाएर पार्टीभित्र केहीले गुटको राजनीति गर्न खोजेका छन्, आउँदो महाधिवेशन तयारी गर्न खोज्दै गरेको गतिविधिले बुझिहालिन्छ नि!’
यो कुरा थाहा पाएका अध्यक्ष लिङ्देन कठोर बन्दै जाने पनि उनको भनाइ छ।
‘पूर्वअध्यक्ष लोहनीका हकमा नवराज सुवेदीलाई लिएर निर्वाचन आयोग पुगेको र पार्टी अध्यक्षसँग एक पटक पनि छलफल नगरेको विषमा स्पष्टीकरण नै सोध्ने गरी तयारी भइरहेको छ,’ स्रोतले भन्यो, ‘विगतका घटनाले पार्टी फुटाउने पूर्वअभ्यासमा लोहनी जोडिने गरेको देखाउँछ। अहिलेको अभ्यासले पनि पार्टीलाई फुटतर्फ लैजाने त होइन?’
यसबारे नेता लोहनीसँग प्रतिक्रिया लिन प्रयास गरे पनि उनी अस्पतालमा रहेकोले लिन सकिएन। तर सुवेदी, लोहनी र महामन्त्री राणाले पार्टीलाई फुटतर्फ नलैजाने बरू एकताबद्ध गर्ने बताउँदै आएका छन्।
राप्रपाभित्र महामन्त्रीद्वय धवलशम्शेर राणा र कुन्ति शाही तथा केन्द्रीय सदस्य जनकराज पाठकलाई पनि स्पष्टीकरण सोध्नेबारे आन्तरिक छलफल भएको छ।
‘महामन्त्री कुन्ति शाही पनि निर्वाचन आयोग पुगेर नवराज सुवेदीको पत्र वाचन गर्दै गरेको देखियो, उहाँ त पदाधिकारी हो, कुनै समस्या भए पार्टीभित्रै छलफल गर्न भूमिका खेल्नुपर्नेमा गुटमा रमाउने?,’ अध्यक्षनिकट ती नेताले भने, ‘विधानलाई आफूखुसी व्याख्या गर्ने र निर्वाचन आयोग तथा आम कार्यकर्ताहरूलाई भ्रम सिर्जना गर्न महामन्त्री शाही लागेको देखिएकोले स्पष्टीकरण सोध्नुपर्छ भन्ने कुरा उठेको छ, सायद पत्र पनि तयार हुँदै होला।’
साथै केन्द्रीय सदस्य जनकराज पाठकले ‘पार्टीको बृहत्तर हित र एकताविपरीत सञ्चार माध्यममा अभिव्यक्ति दिँदै हिँडेको र सामाजिक सञ्जालमा भ्रम पैदा गर्ने गरी पोस्ट गर्ने गरेको’ विषय पार्टीले नोटिसमा लिएको उनले बताए।
‘अध्यक्षले सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट पदमुक्त गरिदिनुभयो, केही मनोनीत पदाधिकारीलाई पनि पदमुक्त गर्ने सम्भावना देखिन्छ। विधानमा अध्यक्षले मनोनीत गर्ने र हटाउन सक्ने व्यवस्था छ, लिङ्देनबाटै मनोनीत खाएर उहाँविरूद्ध नै लागेपछि पदमुक्त नै अन्तिम उपाय त होला!,’ उनले भने, ‘विक्रम पाण्डेलगायत नेताहरूको भूमिका पनि प्रष्ट देखिन्न, पार्टी बैठकमा कुरा नराख्ने, बाहिरबाहिर कुरा राख्दै हिँड्ने गर्नुभएको छ।’
अध्यक्ष लिङ्देनले राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत मुद्दाहरूमा राप्रपाले नै आन्दोलन अघि बढाउने, नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ को औचित्य सकिएकोसमेत आन्तरिक छलफलमा बताएको ती नेताको भनाइ छ।
राप्रपाको महाधिवेशन २०७८ मंसिरमा भएको थियो। विधानअनुसार चार वर्षमा महाधिवेशन हुनुपर्छ तर एक वर्ष कार्यकाल थप गर्न पाउने व्यवस्था छ। आउँदो महाधिवेशनका लागि पनि राप्रपाभित्र रस्साकस्सी चलिरहँदा यस्ता मतभेदका घटना बाहिर आएका छन्।
सतहमा यो विवादमा नवराज सुवेदी र सगुनसुन्दर लावती देखिए पनि भित्री लडाइँ भने अध्यक्ष लिङ्देन र महामन्त्री धवल शम्शेर राणाबीचको देखिन्छ। यसका केही पृष्ठभूमि छन्;
पछिल्लो समय अध्यक्ष लिङ्देन र महामन्त्री राणाबीच दूरी बढ्दो छ।
यसको सुरूवात महामन्त्री राणा उपचारका लागि भारतमा रहेका बेला अध्यक्ष लिङ्देनले संगठन विभाग प्रमुख खोसेर आफूनिकट उपाध्यक्ष बुद्धिमान तामाङलाई दिएपछि भएको थियो।
आफू बिरामी भएका बेला संगठन विभाग प्रमुखको जिम्मेवारी खोसिएकोमा महामन्त्री राणाले २०८१ माघको केन्द्रीय समिति बैठकमै ६ पृष्ठको बेग्लै राजनीतिक प्रतिवेदन पेस गरेर असहमति जनाए।
‘म महामन्त्री धवलशम्शेर राणालाई हठात संगठन विभाग प्रमुखबाट हटाइनु मानवीय, राजनीतिक र वैधानिक कुनै पनि दृष्टिबाट न्यायोचित थिएन, तर पछिल्लो घटनाक्रम जस्तो पार्टीमा बिरामी हुनै नपाइने, अस्पताल भर्ना भयो कि कारबाही हुने जस्ता साँघुरो मनोवृत्ति नजिर बने राप्रपामा महामन्त्री मात्र होइन, अध्यक्ष, अन्य पदाधिकारी र केन्द्रीय सदस्य बिरामी हुनासाथ पद गुम्ने व्यवस्था नियमित हुनेछ,’ राणाले भनेका थिए।
तर राणाको यो भनाइ प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा सहभागी हुँदा मन्त्री नबनाएको निहुँमा आएको अध्यक्ष लिङ्देन पक्षको आरोप थियो। महामन्त्री राणाले भने प्रचण्ड नेतृत्वको सरकारमा पार्टी जाँदा ओरालो लाग्नुपरेको भन्दै आलोचना गरेका थिए।
पूर्वराजा ज्ञानेन्द्र शाहसँग नजिकिएर अध्यक्ष लिङ्देनलाई चुनौती दिँदै नवराज सुवेदीलाई अघि सारेर आन्दोलन गराएको पनि राणामाथि आरोप छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशनले आफूलाई म्यान्डेट दिएको र यो अवधिभर आफूलाई काममा कम्तीमा मनोनीत पदाधिकारीहरूले सहयोग गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।
आफूविरूद्ध गुट बनाएर घेराबन्दी भएको उल्लेख गर्दै काठमाडौं क्षेत्र नम्बर ५ को जनजागरण तथा अगुवा कार्यकर्ता भेलालाई गत शनिबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूलाई असहयोग भइरहेको दाबी गरेका थिए।
‘हिजोअस्ती गुट बनाएर, थर्काएर, अध्यक्षलाई घेराबन्दी गरेर हिँड्ने?,’ पार्टी महामन्त्री राणालाई लक्ष्य गर्दै उनले भने।
अध्यक्ष लिङ्देनले यसो भनिरहँदा महामन्त्री राणालगायतले काठमाडौंमा शनिबार दिउँसो बेग्लै भेला गरेका थिए। उक्त भेलाले अध्यक्ष लिङ्देन विधानअनुसार नचलेकोले निर्वाचन आयोगमा ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।
अध्यक्ष लिङ्देनले आफ्नो निर्णय विधानसम्मत भएको कुरा भने गरेका थिएनन्। बरू यस्ता गतिविधि आउँदो महाधिवेशन तयारीकेन्द्रित हुन सक्ने भन्दै महाधिवेशनलाई जोडेर अभिव्यक्ति दिए।
उनले पार्टीभित्रका असन्तुष्टहरूलाई लक्ष्य गर्दै आफूले गल्ती गरेको भए महाधिवेशनमा हराउन चुनौती दिए।
‘मैले गल्ती गरेको छु भने महाधिवेशनमा हराइदिने हो अहिले अल्झाउने होइन। महाधिवेशनले मलाई म्यान्डेट दिएको छ, अहिले काममा सघाउने हो। अध्यक्षले मनोनीत गर्ने भनेर विधानमै भएका मानिसहरू चाहे उपाध्यक्ष हुन्, महामन्त्री हुन्, अध्यक्षको सहयोगको लागि हो। अध्यक्षलाई अल्झाउन, बदनाम गर्न, नभएको कुरा सञ्चार माध्यममा लेख्न र लेखाउन बनाइएको होइन,’ उनले भने।
पार्टी अध्यक्षलाई चुनौती दिने गरी गुट सञ्चालनलगायत आरोप लागेका महामन्त्री शवल शम्शेर राणालाई हामीले पार्टीभित्र देखिएको मतभेदका विषयमा कुराकानी गरेका छौं;
पार्टीमा देखिएको विवाद पार्टीभित्रै छलफल गर्नुपर्नेमा निर्वाचन आयोग गएको भनेर तपाईंहरूको आलोचना भएको रहेछ, के छ प्रतिक्रिया?
यो पार्टी सबै नेताकार्यकर्ताहरूको हो। सबैले मेहनत र लगानी गरेर नै यो पार्टी बनेको हो। कुनै पनि नेताकार्यकर्तालाई पदबाट हटाउँदा उसको अपमान हुन्छ, केही परे प्रक्रिया मिलाएर स्पष्टीकरणको मौका दिनुपर्छ। पद वा जिम्मेवारीबाट हटाउँदा प्रक्रिया पूरा गर्नुपर्छ भनेर हामीले भन्ने हो। तर धेरै मानिसहरूलाई एकलौटी रूपमा कारबाही गरेपछि डेढ वर्षदेखि पार्टीमा हामीले भन्दै आएका थियौं, कुनै सम्बोधन गरिएन।
निर्वाचन आयोग नै जानुपर्नाका कारण के हुन्?
लामो समयदेखि पार्टीमा यसबारेमा कुरा राखे पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर हामी निर्वाचन आयोगमा पुगेका हौं। कार्यकर्ताहरूको संरक्षण र पार्टी नबिग्रियोस् भनेर निर्वाचन आयोगमा जान बाध्य भएका हौं।
विवाद पार्टीकै निकायमा छलफल गर्नुपर्नेमा घरमा गुट भेला गरियो भन्ने छ नि!
पार्टीमा पर्याप्त छलफलको प्रयास गरेका हौं, अध्यक्षज्यूले सम्बोधन गर्नुभएन र एकल निर्णय गर्न थाल्नुभएपछि हामीले पनि बाध्य भएर छलफल गर्नुपरेको हो।
तपाईंहरूमाथि स्पष्टीकरण सोध्ने, मनोनीत गरिएकालाई हटाउनेजस्ता विषयमा आन्तरिक छलफल चलेको कुरा छ, के भन्नुहुन्छ?
आफ्नो पदलाई सम्हालेर राख्ने र आफ्ना सदस्यहरूलाई चित्त बुझाएर राख्ने जिम्मेवारी अध्यक्षको हो। पार्टीमा कुनै निर्णय हुँदा सामूहिक निर्णय गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो।
यो पनि;
राप्रपामा फेरि लिङ्देन-धवल शम्शेर आमनेसामने!
एक साता नपुग्दै राजावादी आन्दोलन बिथोलिनुका कारण
दोषजति दुर्गा प्रसाईंको टाउकोमा थोपरेर टक्टकिँदै पूर्वराजा ज्ञानेन्द्र र राजावादी!
पहिला नमानेका राजावादीहरू नवराज सुवेदीकै नेतृत्वमा एकत्रित हुन कसरी भए सहमत?
१२ दिनसम्म नगरकोट बसे पूर्वराजा ज्ञानेन्द्र शाह, क-कसलाई भेटे?