कास्कीको प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीको सरूवा थमौती गर्न बिचौलियाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई ५३ लाख रुपैयाँ घुस प्रकरण बाहिरिएसँगै यसअघि पनि बिचौलियाको सोही समूहले अधिकारीको सरूवा रोक्न सफल भएको पाइएको छ।
अधिकारी लमजुङको मालपोत प्रमुखका रूपमा कास्कीबाट सरूवा भएर गएका छन् भने कास्कीमा मालपोत प्रमुखका रूपमा चिरञ्जीवी पौडेल आएका छन्।
सोही सरूवा रोक्न मन्त्री गुप्तालाई ५३ लाख रुपैयाँ घुस दिएको तर काम नभएको भन्दै नोट नम्बर र फोटोसहित उजुरी अख्तियारमा पुगेको जनाएको छ।
बिचौलियाले एक जना कर्मचारीको सरूवा रोक्न आधा करोड बढी रकम मन्त्रीलाई घुस दिएको प्रसंग बाहिरिएसँगै सोही समूहले यसअघि पनि अधिकारीको सरूवा रोक्न सफल भएको पाइएको छ।
अधिकारी कास्कीमा प्रमुख मालपोत अधिकृतका रूपमा २०७९ पुस २० देखि हाजिर भएका थिए।
उनलाई २०८० मंसिरमा बागलुङ सरूवा गरिएको थियो। त्यतिबेला बिचौलियाको समूहले अधिकारीलाई कास्कीमै थमौती गर्न सफल भएको मालपोत कार्यालय कास्कीको हाजिर रेकर्डले देखाउँछ।
कास्कीबाट बागलुङमा मालपोत प्रमुखका रूपमा सरूवा भएका अधिकारीका ठाउँमा तनहुँका मालपोत प्रमुख चिरञ्जीवी पौडेल कास्की सरूवा भएका थिए।
पौडेल पोखरा आएर मालपोत कार्यालय २०८० मंसिर २० गते बुधबार हाजिर भएका थिए। मालपोत कार्यालयको हाजिरी रेकर्डमा पौडेलले सोही एक दिन मात्र हाजिर गरेको देखिन्छ।
बागलुङ सरूवा भएका तत्कालीन मालपोत प्रमुख अधिकारी बागलुङ नगई बिचौलिया र केही नेता कार्यकर्ताको समूह लिएर काठमाडौं गएका थिए। त्यतिबेला भूमि व्यवस्था मन्त्री नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठ थिइन्।
मन्त्रालयका सचिव हालका गृहसचिव गोकर्णमणि दवाडी थिए। काठमाडौं पुगेर अधिकारीले आफ्नो बागलुङ सरूवा रोकेर कास्कीकै मालपोत प्रमुखका रूपमा फर्किएको मालपोत कार्यालय कास्कीका एक अधिकृतले बताए।
कास्कीमा मालपोत प्रमुखका रूपमा एक दिन मात्र हाजिर भएका पौडेललाई त्यसपछि लमजुङ सरूवा गरिदिएको थियो।
‘म कास्कीमा एक दिन मात्र हाजिर भएको के थिएँ, फेरि मन्त्रालयले मलाई लमजुङ सरूवा गरिदियो,’ उनले भने, ‘मालपोत प्रमुखका रूपमा म लमजुङ दोस्रो पटक जानुपर्यो।’
कास्कीबाट बागलुङ जानुपर्ने रामचन्द्र अधिकारी काठमाडौं गएपछि उनले पौडेललाई फोन गरेर काम बाँकी भए सकेर जान अनुरोध गरेका थिए। तर अधिकारी सरूवा नै थमौती गरेर फर्किन सफल भएको मालपोत अधिकृतहरू बताउँछन्।
यसरी कास्कीको मालपोत प्रमुखका रूपमा टिकिरहेका अधिकारी २०८१ पुस ९ गते लमजुङ सरूवा भएका थिए।
कास्कीबाट दोस्रो पटक सरूवा भएर अन्त जानुपर्ने भएपछि उनी लमजुङ नगई काठमाडौं पुगेका थिए। काठमाडौं गएर पनि सरूवा थमौती हुने नदेखिएपछि उनले उच्च अदालत पाटनमा आफ्नो सरूवाविरूद्ध मुद्दा दायर गरे ।
कास्कीमा मालपोत प्रमुखका रूपमा पुस २२ गते हाजिर भएका पौडेललाई २३ गते नै उच्च अदालत पाटनबाट म्याद आएको थियो। अदालतमा उपस्थित भएर आफ्ना कुरा राखेपछि निवेदक अधिकारीले माग गरे अनुसार अदालतले अन्तरिम आदेश दिएन । त्यसपछि अधिकारी लमजुङ गए भने पौडेल कास्कीमा स्थिर छन्।
कास्कीबाट लमजुङ पुगेका अधिकारीलाई कास्कीमै थमौती गर्न बिचौलिया भनिएका सुजन लामाको समूहले मन्त्री गुप्तालाई घुस दिएको प्रकरण अहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेको छ।
बिचौलियाको उक्त समूहले पोखरा महानगर वडा नम्बर– १६ मा स्थानीयले लालपुर्जा लिएर हकभोग गरिरहेको १३५ रोपनी जग्गा हडप्न प्रपञ्च रचेका छन्। सोही काम फत्ते गर्न बिचौलियाले अधिकारीलाई कास्कीमा थमौती गर्न खोजेको एक मालपोत अधिकृत बताउँछन्।
बिचौलियाको समूहले विगत २ वर्षदेखि मालपोत कार्यालयमा फाइल खडा गरेर अर्काको लालपुर्जा भएको जग्गा हडप्न प्रयास गरिरहेका थिए। उक्त प्रयासमा अहिले कार्यरत प्रमुख मालपोत अधिकृत पौडेलले कानुन विपरीत काम नहुने भनेपछि बिचौलियाको समूह मालपोत प्रमुख सरूवा गर्न खाजेका हुन्।
उक्त जग्गा हडप्न खोज्ने बिचौलिया समूहका एक जना सुजन लामा पौडेल कार्यालयमा हाजिर भएपछि खादा लिएर गएको मालपोत अधिकृतहरू बताउँछन्।
मालपोत कार्यालय गएर कर्मचारीलाई सरूवा र बढुवाको आश्वासन र धम्की दिने, कार्यालयमा घुमफिर गरिरहने लगायतका गतिविधि गरेपछि पौडेलले उनलाई सेवाग्राहीका रूपमा आउने भए आउनू नत्र यहाँ आएर यस्ता गतिविधि नगर्नू भनेर पठाइदिएका थिए।
त्यसपछि नै बिचौलियाको समूह मालपोत प्रमुख पौडेलसँग काम नहुने देखेर अधिकारीलाई ल्याउन खोजेको मालपोत अधिकृतहरू बताउँछन्।
भनसुन र अदालत जाँदा बिचौलियाले भने अनुसार आदेश नभएपछि मन्त्रीलाई घुस खुवाएको र घुस खुवाउँदासमेत अधिकारीको थमौती कास्कीमा नभएपछि अख्तियारमा उजुरी पुगेको मालपोतका अधिकारीहरू बताउँछन्।
कास्कीमा प्रमुख मालपोत अधिकृतका रूपमा दोस्रो पटक हाजिर हुन आइपुगेका पौडेललाई फेरि पनि एक दिनमै लखेट्ने बिचौलियाले चर्चा चलाएका थिए। आफूहरुले भने अनुसार काम नगर्ने भएकाले उनलाई कास्कीबाट धपाएर अधिकारी ल्याउन खोको उनीहरूको भनाइ छ।
‘लौ फेरि रामचन्द्र अधिकारी सर नै आउनुहुन्छ, बिचौलिया र नेता मिलेर ल्याउँछन् भनेर यहाँ ब्यापक चर्चा थियो,’ ती अधिकृतले भने, ‘चिरञ्जीवी पौडेल सरलाई पहिलेको जस्तै एक दिन मात्र हाजिर गरेर लखेट्ने भनेका थिए।’
कास्कीबाट लमजुङ सरूवा भएका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिरकरी भने अवधि नपुगी सरूवा भएकाले उच्च अदालत पाटन गएको बताउँछन्।
उनी कास्कीमा हाजिर भएको २०८० पुस २० गते हाजिर भएका थिए भने कास्कीबाट २०८१ पुस २१ गते कास्की छाडेका थिए। यस हिसाबले उनी कास्कीमा १ वर्ष पूरा बिताएका थिए। तर उनले अवधि पूरा नभएको भएर उच्च अदालतमा मुद्दा हालेको बताए।
मुद्दामा माग अनुसार अन्तरिम आदेश नभएपछि आफू लमजुङ गएर कार्यरत रहेको अधिकारीले बताए। आफ्नो सरूवा रोक्न को के कसरी लागे भन्नेबारे आफूलाई थाहा नभएको अधिकारी बताउँछन्।
‘के के कसरी लागे? के के गरे मलाई जानकारी छैन,’ उनले सेतोपाटीलाई भने, ‘पूरा अवधि नभएकाले कास्कीमै थमौती होस् भनेर मुद्दा हालेको हुँ, स्टे अर्डर नआएपछि लमजुङ आएर काम गरिराखेको छु।’
यसअघि २०८० मंसिरमा बागलुङमा भएको काज सरूवाका विषयमा पनि आफूले मुद्दा हाल्ने भएपछि मन्त्रालयले काज सरूवा रोकेको उनले बताए।
‘त्यतिबेला पनि अवधि पुगेको थिएन। अदालतबाट सरूवा फिर्ता हुने भएकाले सचिवज्यूले सरूवा रोक्नुभएको थियो,’ उनले भने।
पोखराको लिची बगैंचा हडप्न बिचौलियाका समूहले मन्त्रीलाई घुस खुवाएको र उक्त फाइल सदर गर्न खोज्नुभएको हो भन्ने प्रश्नमा उनले यसमा पनि अनविज्ञता जनाए। तर उक्त फाइल सदर गर्ने निर्णय आफूले नगरेको उनले बताए।
‘मकहाँ दिनहुँ ४, ५ सय मानिस आए होलान्। को को आए सम्झिन सक्दिनँ,’ उनले भने, ‘मैले लिची बगैंचाको जग्गा दर्ता गरेर लालपुर्जा दिने निर्णय गरेको छैन। निर्णय नै नगरेको कुरामा मेरो संलग्नता हुँदैन।’
यो पनि:
पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न मन्त्री–बिचौलिया 'घुस डिल'