नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको एक वर्षमा सुधारका सुस्पष्ट परिणाम देखिएको बताएका छन्।
पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारले वर्ष दिन पूरा गरेको सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले एक वर्षमा ओरालो यात्रा रोकिएको बताएका हुन्।
‘पार्टी अध्यक्ष नेतृत्वको सरकारले एक वर्ष पुरा गरेको छ। यो एक वर्षमा ओरालो यात्रा रोकिएको छ र सुधारका सुस्पष्ट परिणाम देखिँदैछन्,’ उनले फेसबुकमा पोस्ट गरेका छन्।
अघिल्लो असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा सत्ता सहकार्यका लागि सात बुँदे सहमति भएपछि असार ३० गते ओली नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।
प्रधानमन्त्री ओलीले पनि आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्दै मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएको बताएका छन्।
‘हामी सरकारमा आएको एक वर्ष पुग्दै छ। यस बीचमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
प्रधानमन्त्री ओलीले टाइमलाइन (समयावधि) तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि नभएको दाबी गरेका छन् र अहिले त्यो सुरूआत भएको बताएका छन्।
नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानुनहरू संशोधन भएको पनि प्रधानमन्त्रीले बताएका छन्।
‘तिनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ। गर्नुपर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ,’ उनले भने।