संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग 'घुस डिल' मा संलग्न भनिएका सुजन लामा र कास्की भूमी आयोगका अध्यक्ष उम्मेदवार खेम पुनले अडिओ छानबिन गर्न माग राखेका छन्।
अडिओमा घुस प्रस्ताव गरेको भनिएका व्यक्ति लामाले आफूले मन्त्रीलाई घुस प्रस्ताव नगरेको र उक्त अडिओ 'एआई जेनेरेटेड' भएको दाबी गरे।
'मैले मन्त्रीसँग क्वार्टरमा अहिलेसम्म भेटेको छैन। घुस प्रस्ताव गरेको पनि छैन। मेरो त्यो हैसियत पनि छैन,' उनले सेतोपाटीलाई भने, 'अडिओको ल्याब टेष्ट गरेर छानबिन होस्।'
भूमी आयोग कास्कीको अध्यक्ष उम्मेदवार पुनले पनि आफूले मन्त्रीसँग अहिलेसम्म भेटघाट नगरेको दाबी गरे। आयोगको जिल्ला अध्यक्ष बन्न आफू उम्मेदवार भए पनि घुस खुवाएर अध्यक्ष बन्न नखोजेको उनले दाबी गरे। पुन एमाले गण्डकी प्रदेश कमिटीका सदस्य हुन्।
'मलाई एमालेको प्रदेश कमिटीले भूमी आयोग कास्कीको अध्यक्ष बनाउन एकल सिफारिस गरेको थियो। तर सरकारले बनाएन,' उनले भने, 'उम्मेदवारको चर्चा हुनु स्वभाविक हो, तर मैले घुस प्रस्ताव कसैलाई गरेको छैन।'
पुनलाई आयोगको अध्यक्ष बनाउन सामान्य प्रशासन मन्त्री गुप्तालाई भूमी सुधार मन्त्री बलराम अधिकारीलाई भनिदिन र त्यसो गरे बापत २५ लाख घुस दिने अडिओमा प्रस्ताव गरेको सुनिन्छ।
अडिओमा घुस प्रस्ताव गरेको भनिएका सुजन लामाले मन्त्री गुप्तासँग आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको कार्याक्रममा एक-दुई पटक सामूहिक भेट भएको बताए। उनी आदिवासी जनजाति महासंघ गण्डकीका महासचिव हुन्।
'आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान उहाँ (मन्त्री गुप्ता) कै मातहतमा भएकाले सामूहिक रूपमा एक-दुई पटक भेट भएको छ,' उनले भने, 'व्यक्तिगत रूपमा त्यति धेरै नजिक भएको छैन।'
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले 'घुस डिल' गरेकोसबन्धी अडिओ सार्वजनिक भएको छ। मन्त्री गुप्ताले घुस डिल गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी 'डिल गरेको' अडिओ सार्वजनिक भएको थियो।
यो पनि: