प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरू कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको बताएका छन्।
उनले यस्ता कुराहरूको जबाफ दिन आवश्यक नभएको पनि टिप्पणी गरे।
झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्दै उनले भने, ‘स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरू कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेका छन्।’
विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । रु ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ।
प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेकोे जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताए।
प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने बताए।
उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा नि:शुल्क अनलाइन कक्षा सञ्चालन गरेपछि यस वर्ष एसइइमा नतिजा १३ प्रतिशतले सुधार आएको बताए।