राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाले फरक मत राख्नेहरूलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पेल्दै लगेकोले निर्वाचन आयोगमा उजुरी दिने अवस्थामा आफूहरू पुगेको बताएका छन्।
पार्टी अनुशासन समितिबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई असार २५ गते अध्यक्ष लिङ्देनले हटाएका थिए। अनुशासन समिति अध्यक्षमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेका थिए।
अध्यक्ष लिङ्देनको यो कदम विधानविपरीत भन्दै पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, नवराज सुवेदी र महामन्त्री राणासहितको टोली आइतबार निर्वाचन आयोग पुगेर उजुरी दिएका हुन्।
निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री राणाले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको विरोध गरेका छन्।
‘यो पार्टी विभाजन भइरह्यो भनेर नै हामीले परिवर्तन ल्याएको हो, नयाँ पुस्तालाई। मैले नै काँधमा बोकेर ल्याएको,’ अध्यक्ष लिङ्देनलाई २०७८ मा भएको राप्रपा महाधिवेशनमा सहयोग गरेको उल्लेख गर्दै राणाले भने, ‘तर मैमाथि पटक पटक कारबाही हुन्छ। म क्यान्सर उपचार गर्न मुम्बई जाँदा मलाई संगठन विभाग प्रमुखबाट हटाइयो।’
उनले पार्टी फुट्न नदिने पनि बताए। अध्यक्ष लिङ्देनले आन्तरिक विषयहरू पार्टीभित्रै मिलाउने भने पनि नमिलाएकोले आफूहरू निर्वाचन आयोग आउनुपरेको उनको भनाइ छ।
उनले नवराज सुवेदीलाई अनुशासन समिति अध्यक्षमा पुनर्बहालीका लागि निर्वाचन आयोगमा उजुरी दिइएको पनि बताए।
यो पनि: पार्टीभित्रका असन्तुष्टलाई लिङ्देनको जबाफ- गुट बनाएर घेराबन्दी गर्ने?