संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस लेनदेनसम्बन्धी अडिओबारे संसदमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रश्न उठाएको छ।
भूमी आयोगको कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी अडिओ सार्वजनिक भएपछि आइतबार प्रतिनिधि सभामा रास्वपा सांसद सुमना श्रेष्ठले त्यसबारेमा प्रश्न उठाएकी हुन्।
उनले सरकार भूमि विधेयक फास्ट ट्र्याकबाट किन पास गर्न खोज्दै छ भन्ने विषय पनि अडिओ सार्वजनिक भएपछि खुलेको बताइन्।
'कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे र जिल्लाको भूमि आयोगको अध्यक्षमा सेटिङ? किन भूमि विधेयक फास्ट ट्र्याकबाट पास गर्न खोजिएको भन्ने बुझ्यौं। आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन !,' उनले भनिन्।
सार्वजनिक भएको अडिओमा पनि एउटा मन्त्री (सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता) ले अर्को मन्त्री (भूमि मन्त्री बलराम अधिकारी) लाई पोलेकोले यसमा पनि छानबिन गर्न सांसद श्रेष्ठले माग गरेकी छन्।
'अडिओमा भनिएको बा को हुन्? दुई तिहाइ भनेको मिलिजुली भाग खान हो? कसको प्रश्रय? कस्तो तागत? कस्तो संस्कार? के फरक भयो यी सबै वर्ष? जनताले के पाए? संसदीय समिति त चाहिन्छ चाहिन्छ,' उनले भनिन्।