'संयुक्त जनआन्दोलन समिति' का संयोजकसमेत रहेका नवराज सुवेदीले अहिले देखा परेको विवादले राष्ट्रिय प्रजातन्त्र पार्टी नफुट्ने बताएका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते सुवेदीलाई पार्टीको अनुशासन समिति अध्यक्षबाट हटाएका थिए।
राप्रपा अनुशासन समिति अध्यक्षमा लिङ्देनले उपाध्यक्ष रोशन कार्कीलाई मनोनीतसमेत गरिसकेका छन्।
तर सुवेदीले आफूलाई हटाएको विरोधमा आइतबार निर्वाचन आयोगमा उजुरी दिएका छन्। पार्टी विधानविरीत आफूलाई हटाएको दाबी उनको छ।
सुवेदीले गत चैत ४ गते 'संयुक्त जनआन्दोलन समिति' गठन गरेका थिए। त्यसबेला उनले राप्रपाको साधारण सदस्यता पनि परित्याग गरेको घोषणा गरेका थिए।
‘मैले राप्रपा सचिवालयमा सोधेँ- मलाई अध्यक्षजीले अनुशासन समिति अध्यक्षबाट हटाउनुभएको हो भनेर, सचिवालयले हो भनेपछि मैले अध्यक्षजीसँग कुरा गरेको छैन,’ सुवेदीले आइतबार मध्याह्न निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग भने, ‘यो विवादले पार्टी भने फुट्दैन।’
सुवेदीले आफूलाई अनुशासन समिति अध्यक्षबाट हटाउने निर्णय केन्द्रीय समितिबाट नभई अध्यक्षबाट मात्रै भएको पनि बताए।
‘निर्णय गर्नुअघि मलाई सोधिएको छैन, मलाई चिठी दिएको पनि छैन, मैले मिडियाबाट थाहा पाएँ कि उहाँले मलाई निकालेर अर्को मानिस ल्याउनुभयो भन्ने,’ उनले भने, ‘पार्टीमा आन्तरिक अन्याय हुन लाग्यो, त्यसको खिलापमा मैले यो आवाज उठाएको हो।’
उनले आफूले अनुशासन विपरीत काम नगरेको पनि बताए। ‘मैले के अुनशासन विपरीत काम गरेँ?’ उनले प्रतिप्रश्न गरे।
पार्टी अझै बलियो होस् र षड्यन्त्र नहोस् भनेर निर्वाचन आयोगमा उजुरी दिएको उनले बताए। पार्टी त फुट्दैन नि यो विवादले भन्ने प्रश्नमा सुवेदीले भने ‘फुट्दैन फुट्दैन।’
यस्तो छ सुवेदीले आयोगमा दिएको उजुरी;
उनले राजसंस्था पुनर्स्थापनाको आन्दोलन नहराएको पनि बताए। ‘यो राप्रपाले मात्र चलाएको आन्दोलन होइन, ४४/४५ संस्था छन्,’ उनले भने।
अध्यक्ष लिङ्देनले असार २५ गते नै प्रवक्ताबाट पदमुक्त गरेका सगुनसुन्दर लावतीले पनि निर्वाचन आयोग पुगेर उजुरी दिएका छन्।
‘म त पार्टीको सिपाही हुँ, रगत र पसिना बगाएको छु, हाम्रो घर जलेको छ,’ उनले भने, ‘मलाई मात्र होइन विगतमा महामन्त्री धवल शम्शेर राणालाई पनि संगठन विभागबाट निकाल्दा स्पष्टीकरण सोधिएन। यस्तो पटक पटक भएको छ, अन्याय भयो। उहाँ (सुवेदी) मार्फत निर्वाचन आयोगमा आएका छौं, मलाई तेस्रो पटक निकालिएको हो,’ लावतीले भने।
यो पनि:
राप्रपाले अनुशासन समिति अध्यक्षबाट हटाएपछि निर्वाचन आयोग पुगे नवराज सुवेदी (तस्बिरहरू)
पार्टीभित्रका असन्तुष्टलाई लिङ्देनको जबाफ- गुट बनाएर घेराबन्दी गर्ने?
अध्यक्ष लिङ्देनको निर्णयविरूद्ध निर्वाचन आयोग जाँदै राप्रपा महामन्त्री धवल शम्शेरलगायत