पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५ लाखमा धरौटीमा रिहा भएको विषयमा आफूहरुले पनि प्रश्न गरिरहेको बताएका छन्।
शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किएका सम्मानित नेता खनालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
भ्रष्टाचारको आरोप लागेर ३५ लाख धरौटीमा छुट्नुभएका तपाईंका पार्टीका अध्यक्षले नेतृत्व गरेर पार्टी सबल र राम्रो हुन्छ भन्नेकुरा कसरी विश्वास गर्ने?,’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले यो आम जनताको प्रश्न रहेको बताए।
‘यो आम जनताको प्रश्न हो हामीले पनि यस्ता प्रश्नहरु गर्नुपर्ने हुनसक्छ । मैले हाम्रो पार्टीको सचिवालयको भर्खरै सम्पन्न भएको बैठकमा एउटा लिखित दस्ताबेज प्रश्तुत गरेको छु । त्यो दस्ताबेज अहिले मैले बाहिर ल्याएको छैन । त्यो पार्टीभित्रै पहिला राखौँ भनेकाले पार्टीभित्रै राखेको छु, त्यसबारेमा छलफल हुन्छ, हुनेवाला छ । त्यो छलफल भइसकेपछि यो बारेमा भन्नुपर्ने कुरा भन्नेछु,’ उनले भने।
पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टीको मात्रै नभइ सिंगो कम्युनिष्ट आन्दोलनलाई वैचारिक क्रान्ति कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यनीतिका बारेमा अघि बढाउन आवश्यक रहेको बताए।
वामपन्थीहरुबीच खँदिलो एकता आवश्यक रहेको पनि उनले बताए।— न्युज एजेन्सी नेपाल