मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले ‘अनुशासन उल्लंघन गरेको’ भन्दै दुई जना वडाध्यक्षलाई गाउँसभामा सात दिन उपस्थित हुन नपाउने आदेश दिएका छन्।
शुक्रबार आयोजित ग्रामथानको गाउँसभामा ‘नीति तथा कार्यक्रम कार्यपालिकाबाट पास नगरी किन गाउँसभामा पेस गर्नुभयो’ भनेर प्रश्न गर्ने दुई जना वडाध्यक्षलाई अध्यक्ष माझीले सभाबाट निकालेको सूचना जारी गरेका हुन्।
वडा नम्बर ७ का अध्यक्ष विरेन्द्र चौधरी र ५ नम्बरका अध्यक्ष भेष नारायण चौधरीलाई अध्यक्ष माझीले अनुशासनको कारबाही गरेका हुन्।
‘प्रस्तुत विषयमा आज मिति २०८२ साल असार २७ गते १७ औं गाउँसभाको तेस्रो बैठक सञ्चालन भइरहेको अवस्थामा यस ग्रामथान गाउँपालिकाको गाउँ सभाका तपशिल बमोजिमका सदस्यहरूले अनुशासन भंग गरेको, अपमानजनक शब्द प्रयोग गरेको र सभाको प्रतिष्ठामा धक्का लाग्ने किसिमको कार्य गरेकाले ग्रामथान गाउँपालिका सभा सञ्चालन कार्यविधि, २०७४ को दफा १६ को (४) अनुसार सात दिन सम्मको लागि निजहरूलाई सभामा आउन नपाउने गरी आदेश जारी गरिएको छ.’ अध्यक्षले जारी गरेको आदेशमा भनिएको छ।
गएको मंसिरमा भएको उपनिर्वाचनमा माओवादीबाट अध्यक्ष जितेका माझीले एमालेका वडाध्यक्षमाथि अनुशासनको कारबाही गरेका हुन्।
अध्यक्षलाई प्रश्न गरेकै कारण आफूहरूलाई यस्तो कारबाहीको घोषणा भएको भन्दै दुबै वडाध्यक्षले यसको कानुनी उपचार खोज्ने बताएका छन्।
यसअघि उपाध्यक्ष गुणवती थारुसहितका एमालेका जनप्रतिनिधिको गाडी खोसेका र उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिएका माझीले कोरम नपुर्याइ कार्यपालिका बैठकबाट निर्णय पनि गराएका थिए। दुई पटक आफूखुसी निर्णय गराएका उनको कदमलाई अदालतले अंकुश लगाइसकेको छ। कार्यवाहक पनि उपाध्यक्षलाई दिनुपर्ने भन्दै अदालतले उनले वडाध्यक्षलाई दिएको कार्यवाहक कार्यान्वयन नगर्न भनेको थियो।
यसपटक गाउँसभामा एमालेका दुई वडाध्यक्षलाई बैठकमा बस्नै प्रतिबन्ध लगाएपछि ग्रामथानको गाउँसभा फेरि स्थगित भएको छ। ग्रामथानले अहिलेसम्म बजेट ल्याउन सकेको छैन। ग्रामथानमा कांग्रेस र एमालेको बहुमत छ।