काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका सदस्यहरूको सहमतिमै एक मिनेटमा बैठक टुंग्याएका छन्।
शुक्रबार काठमाडौं प्लाजास्थित सभा हलमा बसेको ४० औं नगर कार्यपालिका बैठकमा उनले २४ वटामध्ये एउटामात्रै एजेण्डा प्रस्तुत गर्दै एक मिनेटभित्रै बैठक सकाए।
उनले एक मिनेट भित्र उपमेयर सुनिता डंगोललाई मात्रै सम्बोधन गरे। प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरूलाई एकमुष्ठ रूपमा कर्मचारी र वडाध्यक्षहरू बताउँदै सम्बोधन गरेका थिए।
यसरी एक मिनेटमै सकेको बैठकबारे सेतोपाटीले पाँच जना वडाध्यक्षहरूसँग कुराकानी गरेको छ। उनीहरू सबैले सहमतिअनुसार नै एउटा मात्र एजेण्डा प्रस्तुत गर्ने निर्णय गरेको बताएका छन्।
'समय नभएको भएर एउटा कार्यसूचीमा मात्रै छलफल गर्ने सर्वसम्मति भएको थियो,' वडा नम्बर २६ का वडाध्यक्ष ख्याम तिवारीले भने, 'मेयरको सचिवालयबाट २४ वटा एजेण्डा राखेर कार्यसूचीको पत्र आएपनि सबैको सहमतिकै आधारमा नगर सभा बोलाउने भन्ने एउटा मात्रै एजेण्डा प्रस्तुत भएको हो।'
यस्तै वडा नम्बर २४ का वडाध्यक्ष भाइराम खड्गी पनि समय नभएर एउटा मात्र एजेण्डामा छलफल भएको बताउँछन्।
'बिहान बजेट सीमा निर्धारण समितिको बैठक बसेको थियो,' उनले भने, 'त्यसपछि बजेट तर्जुमा समितिको बैठक बसेको हुँदा समय थिएन। समय नभएकै कारण एउटा मात्रै एजेण्डामा छलफल गर्ने सहमति बनेको थियो।'
वडा नम्बर ६ का अध्यक्ष भुवन लामाले कार्यपालिका बैठकमा धेरै कुरा राख्नुपर्ने भए पनि ती विषयमा प्रवेश गर्न नपाएको बताए।
'कार्यपालिकामा धेरै कुरा राख्नुपर्ने थियो,' उनले भने, 'तर मेयर बैठक सकिएको घोषणा गरेर बाहिर निस्किहाल्नुभयो। कसरी कुरा राख्नु!'
वडा नम्बर ३ का वडाध्यक्ष प्रेम थापाले शुक्रबार बैठक बसेसँगै लामो समय देखिको गाँठो फुकेको बताए।
'लामो समयदेखिको गाँठो फुकेको छ,' उनले भने, 'अरू एजेण्डा पनि थिए। तर अहिले बजेट ल्याउने समय घर्किसकेको हुँदा त्यसैमा केन्द्रित भयौं।'
कार्यपालिका सदस्यहरूले कानुनविद्हरूसँग छलफल गर्दा असारमै बजेट नल्याए साउन १ गतेबाट सबै काम रोकिने र महानगरको कामकाज नै ठप्प हुने बताएका थिए। त्यसैले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र मेयर बालेन शाहका कारण साउन १ गतेदेखि महानगर ठप्प हुने स्थिति देखेपछि 'विन-विन' हुनेगरी काम गरेको वडाध्यक्ष थापाको भनाइ छ।
यस्तै, थापाले आजको बैठकमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं र मेयर शाह सँगै बैठकमा देखिनु खुसीको कुरा भएको बताए। कार्यपालिका बैठक बस्नुअघि बसेको बजेट सीमा निर्धारण समितिमा उनीहरू दुई जना सँगै देखिएका थिए।
अहिलेको आवश्यकता बजेट भएपनि पछि बस्ने कार्यपालिका बैठकमा विभिन्न विषयहरू आफूहरूले उठाउने बताए।
'अहिले बजेट प्रमुख प्राथमिकतामा हो,' उनले भने, 'तर हामी मेयरको सचिवालय सदस्यहरूले आफू नै प्रमुख जस्तो गरेर सिस्टमभन्दा बाहिर गएर जे-जस्ता अभिव्यक्ति दिएका छन्। त्यसबारे प्रश्न उठाउँछौं। उहाँहरूलाई सिस्टममा ल्याउनुपर्छ। महानगरको कुरा प्रवक्ताले गर्ने हो, सचिवालय सदस्यले होइन।'
वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन आजको बैठक ऐतिहासिक भएको टिप्पणी गर्छन्।
'बैठकमा कार्यकारीको उपस्थिति हुनु मुख्य कुरा थियो,' उनले भने, 'जसरी उहाँ (मेयर बालेन) एकोहोरो कार्यकारीसँग बैठक नबस्ने अडान लिएर बस्नुभएको थियो। त्यसबाट उहाँ पछि हट्नुभएको छ।'
मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले नगर सभा बोलाउनेबारे मात्रै सहमति भएकाले अन्य एजेण्डाभित्र प्रवेश नगरेको बताए।
'हिजो उपमेयर सुनिता डंगोल र प्रवक्ता नवीन मानन्धरसँग बसेको छलफलमा नगर सभा मात्रै बोलाउने सहमति भएको थियो। सोही अनुसार नगरसभा मात्रै बोलाइएको हो,' उनले भने।
आज किन कार्यकारीलाई मेयरले सम्बोधन नगरेको भन्ने प्रश्नमा उनले त्यसबारे कुनै टिप्पणी नभएको बताए।