नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले केपी शर्मा ओलीले गत वर्षबाट सडकको नेतृत्व गरेदेखि नै पार्टी र नेतृत्व विरूद्ध आक्रमण सुरू भएको बताएका छन्।
बिहीबार पार्टी जनसंगठनहरू पदाधिकारी र इन्चार्जहरूको भेलामा बोल्द उनले एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकाले अनेक लाञ्छना लगाइएको तर्क गरे। हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको समेत उनले बताए।
‘कुनै बेला सरकारमा लगिदिनुपर्यो भनेर रातदिन बालकोट धाउनेहरू नै अहिले लोकप्रियताका नाममा एमाले र नेतृत्वलाई गाली गर्ने अग्रपंक्तिमा रहेका छन्’ महासचिव पोखरेलले भने, ‘पश्चगामी सोच भएका राजावादी र कम्युनिस्ट नामधारी माओवादी पनि एमालेलाई मात्र गाली गरेर काग्रेससँग सम्बन्ध सुधार गर्ने प्रयासमा छन्।’
उनले यी तीनै शक्ति एमालेलाई कांग्रेसबाट अलग्याएर आफूहरू सहितको सरकार बनाउन तल्लीन रहेको पोखरेलले दाबी गरे।
महासचिव पोखरेलले भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीमा लाग्नुपर्नेमा एकथरी नेता कार्यकर्ता पार्टीभित्र नै किताकाट गर्ने काममा संलग्न भएको उनले बताए।
‘भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन हो राष्ट्रिय महाधिवेशन होइन। त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरूरी छैन,’ महासचिव पोखरेलले भेलालाई निर्देशन दिँदै भने, ‘जतिबेला जे काम पर्छ त्यही गर्नुहोस। नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरूले थाहा पाउनुहोस।’
महासचिव पोखरेलले जनसंगठनमा हालै भएका महाधिवेशनहरूका दस्तावेज केन्द्रीय कार्यलयमा साता दिनभित्र पठाउन निर्देशन दिएका छन्।
‘जनसंगठनका दस्तावेज र पार्टीले तयार गरेको दस्तावेजमा कति भिन्नता छ भन्ने कुरा हामी तुलना गर्छौं,’ महासचिव पोखरेलले भने, ‘सबै जनसंगठनले जनतासँग जोडिने नीति र दस्तावेज बनाएर कार्यान्वयन गर्नुहोस।’