मेयर बालेन शाह र वडाध्यक्षहरूको असमझदारीले निर्धारित समय गुज्रिँदा पनि बजेट ल्याउन नसकेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक यसै साता बस्ने भएको छ।
उपमेयर सुनीता डंगोल, वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, ३२ का नवराज पराजुली र १५ का ईश्वरमान डंगोलबीच असार २५ गतेसम्म आकस्मिक कार्यपालिका बैठक डाक्ने सहमति भएको हो।
उनीहरू मेयर शाहसँग समझदारी गरी कार्यपालिका बैठक डाक्ने र बजेट ल्याउने प्रक्रिया सुरू गर्न पटक पटक बैठक बस्दै आएका थिए।
'यो साताभित्रै कार्यपालिकाको आकस्मिक बैठक बोलाइने हुँदा वडाध्यक्षहरूलाई काठमाडौं बाहिर नजान प्रवक्ता नवीन मानन्धरले आग्रह गर्नुभएको छ,' वडा नम्बर ६ का अध्यक्ष भुवन लामाले सेतोपाटीसँग भने, 'उस्तै परे एक–दुई घन्टाभित्रै उपस्थित हुनुपर्ने गरी बैठक बोलाइनसक्छ।'
असार २५ गतेसम्म बैठक बस्ने कुरा भएको पनि उनले जानकारी दिए।
आगामी आर्थिक वर्षको बजेट ल्याउन र कार्यपालिका बैठक बोलाउन उपमेयर डंगोल र तीन जना वडाध्यक्षले मेयर शाहसँग विभिन्न चरणमा छलफल गर्दै आएका थिए।
मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको उपस्थितिमा कुनै हालतमा बैठक नराख्ने अडान लिए। उपमेयर डंगोल र वडाध्यक्षहरूले पटक पटक आग्रह गर्दा पनि उनले मानेनन्।
त्यसपछि नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले मेयरको ढिपीका कारण महानगरका गतिविधि नै रोकिने स्थिति आएको भन्दै गुरागाईंलाई विदा बस्न लगाएर भए पनि कार्यपालिका बैठक डाक्नुपर्ने राय व्यक्त गरे।
एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भने यसमा सहमति रहेन। उनीहरूले नियमअनुसार गुरागाईंलाई पनि बैठकमा सामेल गराउनुपर्ने अडान लिए। यसको नेतृत्व एमाले तर्फबाट निर्वाचित उपमेयर डंगोलले नै लिएकी थिइन्।
आखिरमा मेयर शाह कुनै हालतमा मञ्जुर नहुने देखेपछि गुरागाईंलाई विदामा राखेर बैठक डाक्न उपमेयर तयार भएको महानगर प्रतिनिधिहरूले बताए।
'कार्यकारीलाई विदामा बस्न लगाएर बजेट ल्याउने कुरा भएको थियो तर त्यसमा उपमेयर र एमालेका वडाध्यक्षहरू सहमत भएका थिएनन्,' वडा नम्बर ७ का अध्यक्ष विमलकुमार होडाले भने, 'धेरै छलफलपछि उहाँहरू नगरवासीको हितका लागि एक कदम पछाडि हट्न तयार हुनुपर्ने भन्दै राजी हुनुभएको हो।'
उनका अनुसार यही २५ वा २६ गते कार्यपालिका डाकेर त्यसको तीन दिनभित्र नगरसभा बैठक बोलाई बजेट प्रस्तुत गर्ने तयारी भइरहेको छ।
महानगरका प्रवक्ता मानन्धरले पनि यो महिनाभित्रै बजेट पेस भई पारित हुने बताए।
'एक जना व्यक्तिका कारण महानगर बन्धक बन्न हुँदैन भन्नेमा हामी प्रस्ट छौं,' उनले भने, 'यो महिनाभित्र जसरी भए पनि महानगरको बजेट आउँछ।'
वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन महानगरका कार्यकारीलाई मेयर शाहले पटक पटक अपमान गरेको बताउँछन्।
'अहिलेसम्म मेयरले कार्यकारीलाई पटकपटक उपमान गर्नुभयो,' उनले भने, 'तर अहिले साथीहरू मेयरसँग सम्झौता गरेर बजेट ल्याउनेमा हुनुहुन्छ। हामीले त्यसो गर्न हुँदैन, यो बजेटको मात्र कुरा नभई समग्र राजनीतिको कुरा हो भनेका थियौं। तर मेयरको अडानले महानगर नै बन्धक हुने स्थिति आयो।'
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पनि बजेट ल्याउन आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताएका छन्।
‘म बजेट आउनुपर्छ भन्नेमा छु। मेयरसाब तथा उपमेयरज्यू र जनप्रतिनिधिका निर्णयहरूमा बाधक बन्दिनँ भनेर भन्दै आएको छु,’ उनले भने, ‘अहिले जुन ढंगले बजेटसँग काठमाडौं टावरको विषयलाई जोडिएको छ, त्यसो गर्न हुँदैन भन्ने लाग्छ। कसैले ‘तँ भ्रष्टाचारी हो' भनेर भन्ने बित्तिकै ऊ भ्रष्टाचारी हुँदैन।’
यो पनिः
बजेट ल्याउने वातावरण बनाउन मेयरज्यूलाई भेटेरै आग्रह गरेकी छुः उपमेयर डंगोल
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?
पहिले बालेनले दिएका थिए स्वीकृति, यसपालि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले गरे नक्सा पास