पेरिसडाँडामा शनिबार पाँच कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीच छलफल भएको छ।
शनिबार दिउँसो नेकपा (माओवादी केन्द्र)का अध्ययक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', महासचिव देव गुरूङ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेल लगायतका नेताहरू सहभागी थिए।
अन्तर्राष्ट्रिय राजनीतिमा विकसित घटनाक्रमहरू बारे छलफलका लागि बैठक बोलाइएको थियो।
नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरूङका अनुसार विशेषगरी इसराइलले प्यालेस्टाइनमा भएको नरसंहारको विषयमा छलफल गर्ने एजेन्डा थियो। त्यसको विरूद्धमा विभिन्न कार्यक्रम गर्ने विषयमा पाँचवटै छलफल भएको उनले बताए।
उनका अनुसार पाँच दलबीच सोही एजेन्डामा यसअघि पनि छलफल भएका थिए।
त्यस्ता कार्यक्रम सञ्चालनका लागि दिगो किसिमको संयन्त्र बनाउने कि तत्काल कार्यक्रमहरू आयोजना मात्रै गरेर जाने भन्ने विषयमा छलफल भएको महासचिव गुरूङले बताए।
'पहिले कार्यक्रमहरू चलाउँदै गरौं। आवश्यक देखिए संयन्त्र बनाएर जानुपर्छ भन्ने छलफल भएको छ,' उनले भने, ' संयुक्त राष्ट्रसंघले भनिरहेको छ तर इसराइलले प्यालेस्टिनी भूभागहरूमा युद्धविराम गरेको छैन। हेगले युद्ध अपराध भनेर वारेन्ट जारी गरेको छ। इसराइल अझै तयार हुँदैन। त्यसकारण यो विषयमा ऐक्यबद्धता जाहेर गर्नुपर्यो भन्ने कुराहरू छलफलमा उठेको छ।'
नेकपाका प्रवक्ता प्रकाण्डले पनि इसराइलले गजामा आक्रमण गरेको तथा इसराइल र अमेरिका मिलेर इरानमा गरेको हमलाको विषयमा छलफल भएको बताए।
'अन्तर्राष्ट्रिय राजनीतिमा साम्राज्यवादको दादागिरी, हमला र नरसंहार भएको विषय धेरै आपत्तिजनक र खेदजनक छ। यसका विरूद्ध ऐक्यबद्धता जनाउन योजना बनाउने विषयमा छलफल भयो। तत्काल सबै घटकबाट दुई-दुई जना बसेर कार्यक्रमको ठोस योजना बनाउने भन्ने निर्णय भएको छ,' उनले भने।
यसमा पाँच दल मात्रै नभई अरू दलहरूलाई पनि समेट्ने र काठमाडौंमा छिट्टै एउटा दबाबमूलक कार्यक्रम गर्ने तय भएको प्रकाण्डले बताए। ती कार्यक्रमको योजना बनेपछि छिट्टै सार्वजनिक गरिने पनि उनले बताए।
बैठकमा आन्तरिक विषयमा भने कम छलफल भएको प्रकाण्डले बताए।
'सबै पार्टीको आन्तरिक राजनीति जटिल दिशातिर गएको छ। यसबारे सबै पार्टीभित्र सरसल्लाह गरेर आऔं त्यसपछि साझा मुद्दा र सहकार्यका सम्भावनाहरूको पहिचान गरेर त्यतातिर पनि जाऔं भन्ने कुराकानी भ,' उनले भने।
साझा मुद्दाको पहिचान गर्न पार्टीभित्र छलफल गर्ने विषयमा पनि पाँच वटै घटकहरू सकारात्मक रहेको उनले बताए।