प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले विधेयकहरुमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने विषयमा छलफल भएको छ।
शनिवार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकहरुमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने विषयमा छलफल भएको हो।
समितिमा आउन लागेको मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ र बालबालिका सम्बन्धी ऐन, २०७५ को संशोधन विधेयकमाथि वृहत छलफल गर्नुपर्ने भएकाले त्यसमा आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्न उपयुक्त हुने समिति सभापति किरणकुमार साहले बताए।
‘भोलिको दिनमा हाम्रो समितिमा आउन लागेको दुई वटा विधेयक मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ र बालबालिका सम्बन्धी ऐन, २०७५ को संशोधन विधेयकमाथि वृहत छलफल गर्नुपर्ने भएकाले र विज्ञहरुको आवश्यकता भएको कारणले विज्ञहरु नियुक्ति गर्नुपर्ने आवश्यकता देखेका छौं। पारिश्रमीक बिना कसैले एक दिन, दुई दिन सहयोग गर्नसक्छ । तर हामीसँग पर्याप्त विज्ञ नियुक्ति गर्न बजेट भएकै अवस्थामा किन आर्थिक हिसावले नै नियुक्ति नगर्ने । दीर्घकालीन हिसावले नै छलफल गरेर विज्ञको नियुक्ति गर्नुपर्ने देखिएको छ,' उनले भने।
त्यसका लागि समिति सभापति साहले काशिराज दाहाल र माधव पौडेलेको नाम प्रस्ताव समेत भएको छ। उनले सांसदहरुसँग विज्ञहरुको अरू नाम भए दिन आग्रह गरेका छन्।
तर समितिका सांसदहरुले नै मानव बेचबिखन नियन्त्रण र रोकथामको बारेमा दुवै विज्ञहरु ज्ञाता नभएको भन्दै अन्य विज्ञहरु नियुक्ति गर्नु उचित हुने धारणा राखे। -न्युज एजेन्सी नेपाल