नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
संसदीय दलले शुक्रबार समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता घनश्याम चौधरीले जानकारी दिए।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले नाउपाका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदबाट हटाएका थिए।
कृषकहरूका लागि अनुदानमा दिने पावर टिलर (हाते ट्याक्टर) वितरणमा आर्थिक चलखेल गरेको आरोप लागेपछि मुख्यमन्त्री शाहले चौधरीलाई बर्खास्त गरेका थिए।
आफ्नो मन्त्रीलाई जबर्जस्ती हटाएर अपमान गरेको भन्दै नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र रेशम चौधरीले संघ र प्रदेश दुवैतिर प्रतिपक्षमा बस्ने निष्कर्ष निकालेका थिए।
अध्यक्ष र संरक्षकको त्यही निर्देशन गएपछि दलका नेताले शुक्रबार समर्थन फिर्ता गर्ने निर्णय गरेका हुन्। तर समर्थन फिर्ता लिने सन्दर्भमा सुदूरपश्चिम प्रदेशका सांसद विभाजित देखिएका छन्।
सुदूरपश्चिम प्रदेश सभामा नाउपाका सात जना सांसद छन्। आजको बैठकमा तीन जना सांसद अनुपस्थित रहेको खुसीराम चौधरीले जानकारी दिए।
सांसदहरू लक्ष्मणकिशोर चौधरी, खुसीराम चौधरी र कैलाश चौधरी समर्थन फिर्ता लिने विपक्षमा छन्।
‘पार्टी केन्द्रीय कमिटीको बैठक बस्नुपर्यो। त्यहाँ छलफल हुनुपर्यो। अनियमितताको आरोप लागेपछि राजीनामा दिनुस भनेका थियौं। त्यसले पार्टीको इज्जत जोखिन्थ्यो। उहाँले राजीनामा दिनुभएन। मुख्यमन्त्रीले हटाउनुभयो। यसबारे केन्द्रीय समितिमा छलफल हुनुपर्यो नि,’ सांसद खुसीराम चौधरीले भने।
केन्द्रीय कमिटीले समर्थन फिर्ता लिने मन्त्री पनि फिर्ता बोलाउने निर्णय गरेपछि क्रमशः प्रदेश हुँदै सुदूरपश्चिम प्रदेश संसदीय दलले पनि निर्णय गर्थो। तर यहाँ नेतृत्वले जे मन लाग्यो त्यही गर्ने चलन छ,’ उनले भने।
सांसद लक्ष्मणकिशोर चौधरीले पनि आफू बैठकमा नभएको र दलको बैठक पनि बसे नबसेको थाहा नभएको बताए। ‘दलको नेताले फिर्ता लिएँ भनेपछि भयो होला। तर दलको बैठक मा गएको छैन,’ उनले भने।