अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि उच्च भन्सार महसुल नलगाउन् भनेर भारतले अमेरिका सँगको व्यापार वार्तालाई तीव्रता दिएको छ।
ट्रम्पले 'स्वतन्त्रता दिवस' भन्दै अप्रिल २ मा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र भारतसहित मुख्य प्रतिस्पर्धी देशहरूलाई उच्च 'रेसिप्रोकल' (पारस्परिक) भन्सार लगाउने घोषणा गरेका थिए। भारतलाई उनले २६ प्रतिशत भन्सार दर लगाएका थिए।
तर, यही कारण अमेरिकी अर्थतन्त्र नै धराशायी हुने खतरा भएपछि उनले एक सातामै ७० वटाभन्दा बढी देशलाई लगाएको उच्च पारस्परिक दर ९० दिनका लागि फिर्ता लिए। त्यसपछि चीनबाहेक सबैलाई १० प्रतिशत भन्सार लगाए।
सो ९० दिन जुलाई ९ मा सकिँदैछ। त्यसअघि व्यापार सम्झौता नभए उनले फेरि २६ प्रतिशत भन्सार लगाउने सम्भावना रहेकाले भारतले वार्तालाई तीव्रता दिएको हो। भारतीय व्यापार प्रतिनिधिमण्डल गत बिहीबारदेखि अमेरिकामै रहेर सम्झौताका लागि वार्ता गरिरहेको छ।
भारतले भरसक कृषि र दुग्ध उत्पादनका मुद्दामा सम्झौता नगरिकनै सहमति गर्न प्रयास गरिरहेको छ। भारतमा किसानहरू राजनीतिक रूपमा शक्तिशाली छन्। त्यसैले आनुवंशिक रूपमा परिमार्जित अमेरिकी मकै, भटमास, चामल र गहुँलाई भारतीय बजारमा सहज प्रवेश दिन भारत मानिरहेको छैन।
त्यस्तै, अमेरिकामा गाईले खाने चारोमा गाईवस्तुको मासु पनि मिसाइने भएकाले ती गाईको दुग्ध उत्पादन आयात गर्न पनि भारतले अस्वीकार गर्दै आइरहेको छ।
अमेरिकाको भारतसँग उच्च व्यापार घाटा रहेको भन्दै त्यसलाई कम गर्ने ट्रम्पले घोषणा गरेका छन्। त्यसैले अमेरिकाबाट प्राकृतिक ग्यास, 'ड्राइ फ्रुट', मोटर पार्टसलगायतका वस्तु किन्ने भनेर भारतले अमेरिकालाई मनाउन खोजिरहेको छ।
आफ्नो प्रमुख प्रतिस्पर्धी ठान्ने चीनले ट्रम्पसामु खुट्टा नकमाएर उल्टै ट्रम्पलाई झुकाएकाले भारत पनि कमजोर देखिन चाहँदैन।
ट्रम्पले अप्रिल २ मा उच्च 'रेसिप्रोकल' (पारस्परिक) भन्सार लगाउने घोषणा गर्दा जबाफी कदम चाले अझ उच्च भन्सार लगाउने धम्की दिएका थिए। जबाफी कदम नचाले पुरस्कृत गर्ने भनेका थिए। उनको डरले चीनबाहेक कसैले पनि जबाफी कदम चालेनन्।
चीनले भने उनको धम्कीलाई बेवास्ता गर्दै जबाफी भन्सार दर लगायो। ट्रम्पले रिसाएर दर अझ बढाउने र चीनले फेरि जबाफ दिने क्रम चल्दै जाँदा ट्रम्पको दोस्रो कार्यकाल सुरू भएपछि चीनलाई लगाएको भन्सार दर आकासिएर १४५ प्रतिशत पुग्यो। चीनले अमेरिकी वस्तुमा लगाएको भन्सार दर पनि १२५ प्रतिशत पुग्यो।
यसरी चीनले प्रतिकार गरेर ६ साता नपुग्दै ट्रम्प झुके। स्विट्जरल्यान्डको जेनेभामा मे महिनामा भएको व्यापार वार्तापछि दुबै देशले एकअर्कालाई लगाएको भन्सार दर ९० दिनका लागि ११५ प्रतिशत विन्दुले घटाउने घोषणा गरे।
चीनले प्रतिकार गरेर अमेरिकालाई झुकाएकाले भारत पनि अहिलेको सम्झौतामा धेरै कमजोर देखिन चाहँदैन। त्यसैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भरसक कृषि र दुग्ध उत्पादनका मुद्दामा सम्झौता नगरिकनै सहमति गर्न चाहन्छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)