रूपन्देही–३ मा सरकारले उपचुनावको मिति घोषणा गर्ने तयारी गरेसँगै दलहरू आन्तरिक छलफलमा जुटेका छन्।
सत्तारूढ नेकपा (एमाले) ले चुनावको मिति नै नतोकी उम्मेदवारबारे चर्चा चलाउन सुरू गरेपछि ६ दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले पनि साझा उम्मेदवार तय गर्ने गृहकार्य थालेको छ।
शुक्रबार र आइतबार बसेको बैठकमा यसबारे छलफल भएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए।
‘रूपन्देही–३ मा साझा उम्मेदवार तय गर्ने बारे हामी छलफलमा छौं। तर कुन पार्टीको उम्मेदवार साझा बनाउने भन्ने चाहिँ टुंगो लागिसकेको छैन,’ उनले भने।
मोर्चाका एक नेताले दिएको जानकारी अनुसार रूपन्देही–३ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट साझा उम्मेदवार तय गर्ने तयारीमा मोर्चा छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा निर्वाचित भएको त्यस निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्तिका तुलशीप्रसाद थारू चौथो भएका थिए। उनले ४ हजार ७५१ मत ल्याएका थिए।
बोहोराले ३६ हजार ७१७ मत ल्याएर चुनाव जित्दा नेपाली कांग्रेसका बालकृष्ण खाणले ३४ हजार ३६ मत ल्याएका थिए।
त्यो निर्वाचनमा एमालेले राप्रपालाई सघाएको थियो भने कांग्रेस र माओवादी केन्द्रको साझा उम्मेदवार खाण थिए।
यद्यपि त्यतिबेला त्यहाँ माओवादी केन्द्रको मताधिकार भने कमजोर देखिएको थियो।
पहिलो पटक निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यहाँ उल्लेख्य मत प्राप्त गरेको थियो। रास्वपाका उम्मेदवार जितबहादुर गुप्ता तेलीले ५ हजार ७९६ मत प्राप्त गरेका थिए।
६ दलीय मोर्चामध्ये नाउपाको मताधार बलियो देखिएका त्यसैबाट साझा उम्मेदवार छान्ने तयारीमा उनीहरू जुटेका हुन्। नाउपापछि जनमतको मत देखिएको छ। जनमतका उम्मेदवार प्रमोदकुमार राउतले ३ हजार ३१७ मत प्राप्त गरेका थिए।
समानुपातिकतर्फ भने मत परिणामको दृश्य फरक छ।
२०७९ को निर्वाचनमा रूपन्देही–३ मा नेपाली कांग्रेस पहिलो थियो। उसले २० हजार २७९ मत प्राप्त गरेको थियो। दोस्रो स्थानको एमालेले १६ हजार ९८६ मत प्राप्त गरेको थियो। तेस्रो मत ल्याएको रास्वपाले १४ हजार १५४ मत ल्याएको थियो।
राप्रपाले ९ हजार १५४ मत ल्याएको थियो। नाउपाले ६ हजार १०, जनता समाजवादी पार्टी नेपालले ५ हजार २९१, लोसपाले ५ हजार ५३, जनमतले ३ हजार ६३२ र माओवादी केन्द्रले २ हजार ६३७ मत ल्याएको थियो।
तीन वर्षअघिको यो मताधारमा धेरै फेरबदल आइसकेको जनमतका नेताहरू बताउँछन्।
संघीय लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार तय गर्ने छलफल चलाइरहँदा जनमत पार्टीले भने फरक धारणा राखेको छ।
उसले मोर्चा गठनको ध्येय संविधान संशोधनका मुद्दामा साझा धारणा तय गर्नु रहेको बताउँदै यसैबाट चुनावी गठबन्धनसमेतको आधार खोज्नु गलत हुने बताएको छ।
जनमतका उपाध्यक्ष अब्दुल खानले रूपन्देही–३ मा मोर्चाले साझा उम्मेदवार तय गर्ने विषयमा पार्टीको छुट्टै धारणा रहेको बताए।
‘रूपन्देही–३ मा साझा उम्मेदवार तय गर्ने छलफल भएको हो। यसमा जनमत सहमत छैन। जनमत पार्टीले छुट्टै उम्मेदवारी दिन्छ,’ उनले भने,‘संविधान संशोधनका विषयमा साझा धारणा बनाउने र संविधान संशोधनलाई साझा मुद्दा बनाउन मोर्चा बनाएको हो। यसको उद्देश्य चुनावमा पनि सहकार्य गर्नु होइन, छैन।’
उनले रूपन्देही–३ मा मोर्चाले आफै उम्मेदवारी दिन पनि सक्ने र अरूसँग सहकार्य गर्न पनिद सक्ने गरी विकल्प खुला राखेको उनले बताए।
‘रूपन्देही–३ को सन्दर्भमा मोर्चा निष्कर्षमा पुगिसकेको छैन। एकपटक अध्यक्षहरू बसेर छलफल गर्नुहुन्छ। त्यसपछि आधिकारिक कुरा आउला। अहिलेसम्मको परिस्थिति हेर्दा जनमत मोर्चाको साझा उम्मेदवारमा सहमत छैन,’ उनले भने।
जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादवले रूपन्देही–३ मा मोर्चाका तर्फबाट साझा उम्मेदवार दिने विषयमा छलफल भइरहेको बताए।
उनले लुम्बिनी प्रदेशमा नाउपाको मताधार राम्रो रहेको भन्दै रूपन्देही–३ मा उक्त पार्टीका संरक्षक रेशम चौधरीले आफ्नो पार्टीबाट साझा उम्मेदवार बनाउनुपर्ने प्रस्ताव राखेको बताए।
‘लुम्बिनी प्रदेशमा रेशमजीको पार्टीको मताधार राम्रो छ भन्दै उम्मेदवारी दाबी गर्नुभएको छ। विषय त्यतैतिर जानेजस्तो देखिएको छ। छलफल प्रारम्भ भएको छ। टुंगिइसकेको चाहिँ छैन,’ उनले भने।
गत असार ६ गते निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर रूपन्देही–३ को प्रतिनिधि सभा र मनाङ (२) को प्रदेश सभा निर्वाचन कात्तिकको दोस्रो हप्ता गर्नेबारे परामर्श गरेको थियो।
सरकारले पनि आयोगको सुझावलाई ध्यानमा राखेर उपनिर्वाचनको मिति घोषणाको तयारी गरेको छ।
आम निर्वाचन आउन दुई वर्ष बाँकी हुँदा हुन लागेको यो चुनावलाई दलहरूले महत्त्वका साथ हेरेका छन्। एमालेले पूर्वराष्ट्रिय सभा सदस्य एवम् पार्टी पोलिट्ब्युरो सदस्य खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ।
कांग्रेस, राप्रपा र माओवादी केन्द्र आन्तरिक गृहकार्यमा जुटेका छन्। परिणाम पक्षमा पार्ने गरी रास्वपाले पनि तयारी गरिरहेको छ।
रूपन्देही–३ मा सिद्धार्थ नगरपालिकाका १३ वटा वडा, बुटवल उपमहानगरपालिकाका ६ वटा, सियारी गाउँपालिकाका ६ वटा वडा, तिलोत्तमा नगरपालिकाका ४ वटा वडा समेटिएका छन्। यो क्षेत्र सुनौली नाकादेखि पूर्वपश्चिम राजमार्गसम्म उत्तरदक्षिण फैलिएको छ।
राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको गत चैत्र १९ गते निधन भएपछि उक्त क्षेत्र रिक्त भएको थियो।
पोस्ट कोभिडपछि उनको स्वर फर्कन सकेको थिएन। चुनावका बेला भाषणसमेत नगरी उनले बहालवाला गृहमन्त्री खाणलाई हराएका थिए।