लुम्बिनी प्रादेशिक अस्पतालका लागि लुम्बिनी प्रदेश सरकारले छुट्ट्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट चालु आर्थिक वर्षको भुक्तानीमै सीमित हुने देखिएको छ।
प्रदेश सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश गौरवको आयोजनाको रूपमा अगाडि सारेर सवा ६ अर्ब रुपैयाँको लागतमा अत्याधुनिक सुविधा सहितको भवन निर्माणको काम गरिरहेको छ।
तर, अस्पताल भवनको लागि आवश्यक बजेट विनियोजन गर्न नसक्दा आगामी वर्ष निर्माण कार्य नै प्रभावित हुने अवस्था देखिएको छ।
प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले गत असार १ गते प्रदेशको बजेटमा लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको घोषणा गरेका थिए। तर, सरकारले विनियोजन गरेको १ अर्बमध्ये ८५ करोड रकम चालु आर्थिक वर्षको भुक्तानी गर्दा नै सकिने छ।
अस्पतालको भवन निर्माणको जिम्मा लिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका साइड इन्चार्ज इन्जिनियर शंकर सुवेदीका अनुसार निर्माण कम्पनीले काम गरेबापत करिब ८५ करोड रुपैयाँ प्राधिकरणले भुक्तानी गर्नुपर्ने छ।
उक्त रकम भुक्तानी गरेपछि सरकारले छुट्ट्याएको १ अर्बमध्ये जम्मा १५ करोड मात्र बाँकी रहन्छ।
‘यो वर्षको रकम भुक्तानी गर्दा आगामी वर्षको लागि सरकारले छुट्ट्याएको १ अर्बमध्ये १५ करोड रुपैयाँ मात्र बाँकी रहन्छ, १५ करोडले भदौ महिनासम्म काम गर्न पुग्ला,’ इन्जिनियर सुवेदीले भने।
मुलुकमै सबभन्दा ठूलो १२ तलाको अत्याधुनिक सुविधासहितको अस्पताल बनाउने भन्दै २०८० साल पुस २६ गते प्रदेश पूर्वाधार विकास प्राधिकरणले भवन निर्माणको लागी ठेक्का सम्झौता गरेको थियो।
सुविधा सम्पन्न दुई वटा भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार लागत अनुमान गरिएकोमा भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगेसनसँग ६ अर्ब १८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।
ठेक्का सम्झौता अनुसार ५ वर्ष अर्थात् २०८५ पुस २५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सर्त रहे पनि ठेक्का सम्झौता भएको आठ महिनापछि २०८१ भदौ १५ गते शिलान्यास गरी भवन निर्माणको काम अगाडि बढाइएको थियो।
इन्जिनियर सुवेदीका अनुसार निर्माण सुरू भएको १० महिनामा अस्पतालको भवन निर्माणको काम २५ दशमलव २५ प्रतिशत पूरा भएको छ। निर्माण कम्पनीलाई भुक्तानी भने १६ प्रतिशतको हाराहारीमा मात्र भएको छ।
ठेक्का सम्झौता गरिएको अवधिबाट हेर्ने हो भने आगामी आर्थिक वर्षभित्र ४७ प्रतिशत काम पूरा गर्नुपर्ने कार्य तालिका छ। सोही कार्य तालिका अनुसार काम सम्पन्न भए मात्र तोकिएको म्यादभित्रै अस्पतालको भवन निर्माण सम्पन्न हुन सक्छ।
तर, सरकारले आवश्यक बजेट विनियोजन गर्न नसक्दा कार्य तालिका अनुरूप भवन निर्माणको काम अगाडि बढ्नेमा आशङ्का उब्जिएको छ।
‘सरकारले अहिले छुट्ट्याएको बजेट पुरानो भुक्तानीमै सकिए पनि निर्माणमा ढिलासुस्ती नगर्न बजेटका लागि अरू कुनै व्यवस्था गर्ला भन्ने आशा गरौँ,’ सुवेदीले भने।
इन्जिनियर सुवेदीका अनुसार निर्माण कम्पनीलाई पेश्की स्वरूप ठेक्का सम्झौताको २० प्रतिशत रकम दिने प्रावधान रहे पनि निर्माण कम्पनीले पेश्की स्वरूप १८ प्रतिशत रकम लगेको छ। यसरी लगेको पेश्की रकम ३० प्रतिशत काम पूरा नगर्दासम्म काट्न पाइँदैन।
लुम्बिनी प्रदेश सरकारले अस्पतालको भवन निर्माणका लागि १ अर्ब ८० करोड रकम विनियोजन गरेको थियो। सोही रकमबाट करिब १ अर्ब १० करोड रुपैयाँ पेश्की बापत र अन्य कामको भुक्तानी गरिएको छ। रकम अपुग भएपछि चालु वर्षमा सम्पन्न भएका कामको ८५ करोडका बिल प्राधिकरणमा रोकिएका छन्।
पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छवि पोखरेलले बजेट अभाव नहुने हो भने निर्माण कम्पनीले हालसम्म गरेको काम र प्रगति हेर्दा निर्धारित समयभन्दा अगाडि नै निर्माणको काम पूरा हुने दाबी गरे।
‘निर्माण कम्पनीले जसरी काम गरिरहेको छ यही गतिमा अगाडि बढ्ने र सरकारले पनि बजेट विनियोजन गर्ने हो भने निर्धारित समयभन्दा अगाडि नै भवन निर्माणको काम सम्पन्न हुन सक्छ,’ इन्जिनियर पोखरेलको दाबी छ।
साइड इन्चार्ज सुवेदीका अनुसार अहिले १० जना विशेष प्राविधिकसहित २ सय २० जना कामदार दैनिक रूपमा भवन निर्माणको काममा खटिएका छन्। दिउँसो र रातिमा गरी दुई सिफ्टमा विभाजन गरी धमाधम काम गरिरहेका छन्।
असार दोस्रो सातासम्म मुख्य संरचनाको बेसमेन्टको काम पूरा भएको छ भने क्यान्सर भवनको ढलान सम्पन्न भइसकेको छ।
हाल अस्पतालको मुख्य भवनको दायाँ, बायाँ र बीच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको छ।
दोस्रो बेसमेन्टको ढलान पूरा गरी लेफ्ट विङको पहिलो बेसमेन्टको ढलानका लागि छड बुन्ने कार्य भइरहेको इन्जिनियर सुवेदीले जानकारी दिए।
भवन निर्माणमा प्रयोग भइरहेका वस्तु तथा कामको गुणस्तर अनुगमनका लागि काठमाडौं विश्वविद्यालयको १६ जनाको प्राविधिक टोलीले सुपरीवेक्षण गरिरहेको छ।
भवनको डिजाइन र गुणस्तर सुपरीवेक्षणको जिम्मा ‘जी–टु–जी’ माध्यमबाट काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौं युनिकन्सर्न कन्सल्टेन्सीलाई दिइएको थियो।
सिद्धार्थ राजमार्गसँगै जोडिएको कुल ६ बिघा १२ कट्ठा जमिनमा २०१६ सालमा बनेका पुराना संरचना भत्काएर १२ तलाको मुख्य भवन र क्यान्सर भवन निर्माण थालिएको हो। यसअघि निर्माण गरिएका डाइग्नोस्टिक एन्ड रिसर्च, प्रसूति, महिला तथा बाल रोग, जनरल वार्ड र शल्यक्रिया भवनहरू भने यथावत् राखिएका छन्।
१२ तलाको सुविधा सम्पन्न मुख्य भवन निर्माण सम्पन्न भएपछि १२ सय बेडको अस्पताल बन्ने छ।
तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा ओपिडी, आपतकालीन सेवा इनडोर सर्भिस कक्ष, माथिल्ला तलामा १२ सय बेडसहितको उपचार सेवा रहने गरी भवनको डिजाइन गरिएको छ।
अहिले सोहीअनुरूपको निर्माण कार्य भइरहेको छ। मुख्य भवनबाटै विशिष्टीकृत ग्यास्ट्रोएन्टेरोलोजी, न्युरोलोजी, कार्डियोलोजी लगायतका सबै विभागीय सेवा सञ्चालन हुनेछन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार हाल ५३० भन्दा धेरै बेड रहेको अस्पतालबाट दैनिक ३ हजार भन्दा बढी बिरामीले इमरजेन्सी र ओपिडीबाट सेवा लिइरहेका छन्।
वार्षिक १० लाखभन्दा बढी बिरामीले सेवा लिइरहेको लुम्बिनी प्रादेशिक अस्पतालमा जनरल मेडिसिन, न्युरो मेडिसिन, कार्डियोलोजी, अर्थोपेडिक, प्लास्टिक सर्जरी, डायलाइसिस, युरो सर्जरी, इन्टेरेस्कोप, सिएनसियू, पिआइसियू, एनआइसियू, बर्थिङ सेन्टर, नाक कान घाँटी, आँखा रोग लगायत १७ भन्दा बढी विशिष्टीकृत सेवा सञ्चालन भइरहेका छन्।
हाल लुम्बिनी प्रादेशिक अस्पतालमा ७४ जना विशेषज्ञ सहित १२७ जना चिकित्सक, २९४ जना नर्सिङ, १५७ पारामेडिक्स, २८ जना प्रशासनिक कर्मचारी, १८९ जना कार्यालय सहयोगी र सफाइकर्मी, २६ जना सुरक्षा गार्ड तथा २८ जना अन्य गरी ८५१ जना कार्यरत छन्।