असार ५ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय दाङमा एउटा पत्र पुग्यो।
त्यो पत्र नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव तथा दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद मेटमणि चौधरी विरूद्धको जाहेरी थियो।
बैंकिङ कसुर सम्बन्धमा चेक अनादर (चेक बाउन्स) भएको भन्दै प्रहरी कार्यालयमा हुलाकमार्फत जाहेरी पुगेको थियो।
जाहेरीमा सांसद चौधरीले दिएको ५ करोड ४० लाख रुपैयाँ बराबरको एभरेस्ट बैंकको चेक बाउन्स भएको भन्दै चौधरीमाथि अनुसन्धान गर्न माग गरिएको थियो।
चौधरीविरूद्ध जाहेरी दिने व्यक्ति रोल्पा घर भइ दाङको घोराही बस्ने धात बुढामगर हुन्। उनी ठेक्कापट्टाको काम गर्छन्।
सुरूमा धात जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय दाङमा आफै उपस्थित भएका थिए। त्यतिबेला प्रहरीले जाहेरी लिन नमानेपछि उनले हुलाकबाट पठाएका थिए।
बुढामगरले जाहेरी दिए पनि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छैन। हुलाकबाट जाहेरी दिए पनि सनाखतका लागि जाहेरवाला आफै प्रहरी कार्यालयमा उपस्थित हुनुपर्छ। प्रहरीले बुढामगर सनाखत गर्न नआएको बताएको छ।
बरू उनले अहिले हुलाकमार्फत अर्को पत्र पठाएर जाहेरी फिर्ता गरिदिन माग गरेका छन्।
बुढामगर सनाखत गर्न किन गएनन् ? सुरुमा प्रहरीले जाहेरी नै लिन किन मानेन? एकजना सांसद र ठेकेदारबीच ५ करोड ४० लाखको लेनदेन के हो? किन हुन्छ यति ठूलो रकमको लेनदेन? यी लगायतका गम्भीर प्रश्न यो घटनामा जोडिएका छन्।
सबैभन्दा पहिले प्रहरीले बुढामगरको जाहेरी लिन किन मानेन भन्ने कुरा हेरौं। प्रहरीले चेक ‘बाउन्स’ जस्तो तत्कालै कसुरको प्रमाण देखिने गम्भीर विषयमा तुरुन्तै जाहेरी लिन्छ र कारबाही अघि बढाउँछ। यसमा भने बढाएन।
यसबारे सेतोपाटीले दाङ प्रहरी कार्यालयका प्रमुख एसपी अर्जुन तिम्सिनासँग कुरा गरेको छ। उनले सुरुमा बुढामगर प्रहरी कार्यालयमा आएर जाहेरी दिन खोजेको अस्वीकार गरे। थप प्रश्न गरेपछि मात्रै उनले त्यसलाई स्वीकार गरे।
एसपी तिम्सिनासँगको कुराकानी—
सांसद मेटमणि चौधरी विरूद्धको जाहेरीमा के भइरहेको छ?
केही पनि भएन त्यसमा। सनाखत नै हुन सकेन।
धात बुढामगर को हुन्?
उहाँलाई म व्यक्तिगत रूपमा चिन्दिनँ। उहाँको व्यक्तिगत व्यवसाय के हो थाहा छैन। उहाँको घर रोल्पा हो, दाङमा बसोबास छ रे। मैले आजसम्म उहाँलाई देखेको पनि छैन।
उनले हुलाकबाट किन जाहेरी पठाएका रहेछन्?
खै, उहाँ आएर भेटेको भए थाहा हुन्थ्यो। आउनुभएको छैन। सनाखत गर्नुभएको छैन। बरु जाहेरी फिर्ता गरिदिनु भनेर अर्को उल्टो पत्र हुलाकबाट आयो। फिर्ता नै लिन आउनू भनेर फोन गर्दा पनि आउनुभएको छैन। हामीले उहाँलाई दुई-तीन पटक फोन नै गर्यौं। अब हामी उहाँलाई सनाखत गर्न आउनुस् भनेर मेसेज गर्छौं।
धात बुढामगर सुरुमा ‘चेक बाउन्स’बारे जाहेरी दिन आफै प्रहरी कार्यालय आएका थिए। त्यतिबेला प्रहरीले उनको जाहेरी किन नलिएको?
थिएन। आएका थिएनन्।
आएका थिए। त्यतिबेला प्रहरीले जाहेरी लिन नमानेपछि मात्रै उनी फर्किएका हुन् भन्ने सूचना हामीसँग छ। प्रहरीले किन फर्कायो उनलाई?
त्यतिबेला त्यो मुद्दा हेर्ने शाखाले बुढामगरलाई उनको रकमको स्रोत खुलाउनुस् भनेको थियो। स्रोत खुलाउन आएनन्। त्यही भएर हुलाकबाट पठाए। हुलाकबाट आउँदा पनि स्रोत खुलेर आएको छैन।
त्यसमा लेनदेनको स्रोतबारे केही भनिएको छैन?
जाहेरीमा खुलाइएको छैन। रकम मात्रै खुलेको छ।
जाहेरीमा के कारणले चेक बाउन्स भएको भनिएको छ?
त्यो त मुद्दा दर्ता भएपछि मात्रै भन्न सकियो। यस विषयमा मिडियामा दिनलाई दर्ता भएको हुनुपर्यो, मान्छेको पर्सनल इस्यु पनि भयो। धेरै पनि भन्न भएन।
यो जाहेरी त निर्वाचित सांसद विरूद्धको हो। त्यसैले हामीले सोधेका हौँ।
हुलाकबाट आएको दर्ता नभएको भएर सबै भन्न मिलेन।
चौधरी सांसद भएरै कारण प्रहरीले जाहेरी नलिएको हो कि?
होइन, होइन। हामीले मन्त्रीहरूलाई त एक्सन गरेका छौं। त्यस्तो होइन। कानुनी कार्यान्वयनको ठाउँमा छौ। कार्यान्वयन हुन्छ।
लेनदेन कहिले भएको रहेछ?
चेकको आधारबाट थाहा हुन्छ र! अब यो विषयमा हजुरले उहाँहरूसँग सम्पर्क गर्नुस् न। के-कसरी आयो भन्ने। दर्ता नभएसम्म कानुनी प्रक्रियामै नआएकोले हजुरले पक्ष विपक्षसँगै कुरा गर्नुस्।
पछिल्लो पटक धात बुढामगरलाई फोन गर्नुभएको छ?
फोन नै उठाउनुभएन। म आफैले फोन गरेको हुँ। शाखाले पनि गर्यो। तर उठाउनुभएन। अब मेसेजमार्फत तपाईंको प्रक्रिया के गर्नुहुन्छ भनेर सोध्छौं।
एसपी तिम्सिनासँगको यो कुराकानीबाट प्रस्ट हुन्छ—प्रहरीले सुरुमा बुढामगरको जाहेरी लिन मानेन। र हामीसँग कुरा गर्दा पनि उनी जाहेरी दिन प्रहरी कार्यालय आएका थिए भन्ने तथ्य प्रहरीले ढाकछोप गर्न खोज्यो।
यो घटनामा जोडिएका केही गम्भीर प्रश्नहरु छन् — एक जना निर्वाचित सांसदले कुनै ठेकेदारलाई ५ करोड ४० लाखको चेक दिनुपर्ने अवस्था किन आयो? ५ करोड ४० लाखको चेक दिने सांसद चौधरीको आर्थिक हैसियत र स्रोत के हो? यदि यो वैध कारोबार हो भने किन अहिले घटनाक्रम यसरी शंकास्पद ढंगले अघि बढेको छ? किन प्रहरीले सुरुमा जाहेरी लिन मानेन? किन ठेकेदारले अहिले जाहेरी फिर्ता लिन पत्र पठाए? किन सांसद चौधरी यसबारे कुरा गर्न मान्दैनन्?
असार ५ गते (बिहीबार) सांसद चौधरीविरूद्ध जाहेरी परेको थियो। सेतोपाटीले उनीसँग असार ७ गते (शुक्रबार) यसबारे बुझ्न सम्पर्क पनि गरेको थियो। तर उनले फोन उठाएनन्। त्यसपछि हामीले उनलाई ‘चेकको विषयमा कुराकानी गर्न खोजेको’ भन्दै मेसेज पठाएका थियौँ।
केहीबेरमै उनले मेसेजको उत्तर पठाए: ‘मिलाउन दिनुस् अनि कुरा गरौंला। फेरि बिग्रिन सक्छ। सबै कुरा भन्छु। कसैलाई उद्धार गर्न खोज्दा आफै फसिरा'छु।’
अहिले उनी मुद्धा मिलाउन ‘सफल’ हुन लागेको देखिन्छ। किनभने ठेकेदारले जाहेरी फिर्ता लिन उजुरी दिएका छन्।
हामीले अहिले पनि सांसद चौधरीसँग कुरा गर्न कोसिस जारी राखेका छौँ। तर उनले फोन उठाएका छैनन्। उनले फोन नउठाएपछि हामीले उनलाई मेसेजमै केही प्रश्न पठाएका छौँ:
तपाईं र निर्माण व्यवसायी धात बुढामगरसँगको सम्बन्ध के हो? कहिलेदेखिको चिनजान हो? तपाईंले उनीसँग पाँच करोड ४० लाख किन लिनुभएको थियो? पैसा नभएको खाताको चेक किन काटेर दिनुभयो? धात बुढामगरसँग तपाईं मन्त्री हुँदा ठेक्का पारिदिने भनेर रकम लिएको भन्ने कतिपयको आरोप छ नि? पछि ठेक्का दिन नसकेपछि र बुढामगरले पैसा फिर्ता माग्न थालेपछि तपाईंले एभरेस्ट बैंकको चेक काट्नुभएको हो? लेनदेन नभएको भए ५ करोड ४० लाखको जाहेरी किन पर्यो? बुढामगर विरूद्धको तपाईंको जाहेरी फिर्ता लिने निवेदन परेको छ, तपाईंले रकम तिर्नुभएको हो? कसरी तिर्नुभयो?
यी प्रश्नको उत्तर सांसद चौधरीले दिएका छैनन्।
हामीले ठेकेदार बुढामगरलाई पनि केही प्रश्न मेसेजमार्फत नै पठाएका छौं। त्यसपछि उनी पनि हाम्रो सम्पर्कमा आउन मानेका छैनन्:
मेटमणि चौधरीसँग तपाईंको चिनजान कहिलेदेखिको हो? के विषयमा लेनदेन भएको हो? पैसा कहिले र केका लागि भनेर लिनुभएको थियो? तपाईंलाई ठेक्का पारिदिने भनेर चौधरीले मन्त्री हुँदा पाँच करोड ४० लाख लिएको हो? चेक बाउन्स कहिले भएको हो? प्रहरीकहाँ जाहेरी किन हुलाकमार्फत पठाउनुभयो? सनाखत गर्न प्रहरीले बोलाउँदा किन नजानुभएको? अहिले पैसा फिर्ता पाइसक्नुभएको हो? भन्न प्रश्नहरू हामीले उनलाई पठएका छौं।
सुरुमा बुढामगरको जाहेरी लिन नमानेको प्रहरी अहिले ‘सञ्चो’सँग बसेको छ, जब कि यो कारोबारमा शंका गर्नुपर्ने प्रशस्त ठाउँ छ। कारोबार शंकास्पद देखिएपछि प्रहरीले बुढामगर र सांसद दुवैलाई सोधपुछ गर्न सक्छ र यो कारोबार वैध हो वा अवैध अनुसन्धान गरेर यकिन गर्न सक्छ।
दुवैलाई चिन्ने कतिपय मानिसले यो लेनदेन चौधरी सहरी विकास मन्त्री हुँदा भएको बताएका छन्। ठेकेदारले कुनै कामका लागि चौधरीलाई पैसा दिएको तर पछि त्यो काम नभएपछि पैसा फिर्ता मागेको हुन सक्ने उनीहरूको अनुमान छ। चौधरी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा हुँदा २०७९ असार १२ देखि पुस १० गतेसम्म सहरी विकास मन्त्री भएका थिए।
सम्बन्धित समाचार: मेटमणि विरूद्धको जाहेरी फिर्ता लिन प्रहरीमा पत्राचार
एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध जाहेरी