उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीको संसदीय दललाई निर्देशन दिएको हो।
‘हाम्रो पार्टीको कार्यकारिणी बैठकले सरकारलाई दिएको समर्थन पुनर्विचार गर्न संसदीय दललाई निर्देशन दिएको छ,’ पार्टी अध्यक्ष उपेन्द्र यादवले सेतोपाटीसँग भने, ‘सरकारको एक वर्षको कामको डेलिभरी र मूल्याङ्कनका आधारमा निर्णय गरेका हौँ।’
अध्यक्ष यादवले संसदीय दलको बैठक बसेर केही दिन भित्रै निर्णय लिइने बताए।
‘पार्टीले सरकारको कामबारे असन्तुष्टि व्यक्त गरेको छ,’ यादवले भने, ‘सरकारले आफूले गरेको प्रतिबद्धता पूरा गर्न सकेन। त्यसैले पुनर्विचार गर्ने निर्णय भयो।’
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुबैमा उपेन्द्र यादव नै नेतृत्वमा छन्।
जसपा नेपालका वरिष्ठ नेता राजकिशोर यादवले छिट्टै संसदीय दलको औपचारिक बैठक बसेर समर्थन फिर्ताको निर्णय लिने बताए।
‘यो सरकारलाई संविधान संशोधन, सुशासन, आर्थिक गतिविधि बढाउने अपेक्षामा समर्थन गरिएको थियो,’ नेता यादवले भने, ‘सरकार पूर्ण रूपमा असफल रह्यो। त्यसैले समर्थन फिर्ताको निर्णय दलबाट गर्न कार्यकारिणी समितिले निर्देशन दिएको छ।’
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्नेछ।
५९ सदस्यीय राष्ट्रिय सभामा सरकारमा सहभागी दलहरूको २७ जना मात्र सांसद छन्।
राष्ट्रिय सभामा नेपाली कांग्रेस(१६), नेकपा एमाले(१०) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(१) जना सांसद छन्।
सरकारमा सहभागी नभए पनि समर्थन गरिरहेको जसपा नेपालका ३ सांसद छन्। यसरी जसपा नेपालको साथ पाउँदा ३० सांसदसहित सरकार राष्ट्रिय सभामा बहुमतमा थियो।
तर जसपा नेपालको समर्थन फिर्तापछि सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्ने देखिएको छ।
राष्ट्रिय सभाको सबभन्दा ठूलो दल नेकपा माओवादी केन्द्र विपक्षमा छ। उक्त दलका १७ सांसद छन्। नेकपा एकीकृत समाजवादी पार्टीका ८ र राष्ट्रिय जनमोर्चाका १ सांसद विपक्षमा छन्। यसरी विपक्षमा हाल २६ सांसद छन्।
राष्ट्रिय सभामा ३ जना मनोनीत सांसद हुन्छन्। मनोनीत मध्येका नारायणप्रसाद दाहाल राष्ट्रिय सभाका अध्यक्ष छन्। उनी माओवादी केन्द्रको कोटामा राष्ट्रिय सभामा पुगेका हुन्। अञ्जान शाक्य नेकपा एमालेको कोटामा राष्ट्रिय सभा पुगेकी हुन्।
त्यस्तै, नेकपा काल (एमाले र माओवादी केन्द्र) मिलेका बेला वामदेव गौतम पनि राष्ट्रिय सभामा मनोनीत भएका थिए। वामदेव गौतम र अञ्जान शाक्यले साथ दिए पनि जसपाको समर्थन फिर्तापछि सरकारसँग अब २९ सांसदको मात्र साथ हुने भएको छ। जबकि बहुमतका लागि सरकारलाई ३० सांसद आवश्यक हुन्छ।
राष्ट्रिय सभामा जसपा नेपाल दलका नेता मृगेन्द्रकुमार सिंह यादवले संसदीय दलले निर्णय गरेपछि आफूहरू राष्ट्रिय सभामा विपक्षी बेञ्चमा बस्ने बताए।
‘केही सांसद बाहिर भएकाले संसदीय दलको बैठक बसेको छैन,’ यादवले भने, ‘दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्छ।’
नेता यादवले भूमिसम्बन्धी अध्यादेश आफूहरूले अस्वीकार गरेको तर सरकारले जस्ताको तस्तै विधेयकमा ल्याएको र संशोधनको गुञ्जायस नदेखिएको बताए।
‘संविधान संशोधन हुने देखिएन। प्रधानमन्त्री नै २०८६ मा हुन्छ भनेर भन्नुहुन्छ। संशोधनदेखि सुशासनसम्म केही भएन,’ यादवले भने, ‘हामीले बाहिर बसेर समर्थन गरिराखेका थियौं। अब सरकारले केही काम नगरेपछि हामी किन साक्षी बस्ने भनेर समर्थन फिर्ता लिन कार्यकारिणीले निर्देशन गर्यो।’