प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले अवरोध र विरोधको बेवास्ता गर्दै सदन चलाउनु दुःखको कुरा भएको बताएका छन्।
बिहीवार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकहरुमाथिको छलफलमा सांसद शर्माले नेतृत्वले समस्याको समाधान गर्नुपर्नेमा त्यसतर्फ चिन्ता र चासो नहुनु दुःखद बताएका हुन्।
'समस्याको समाधान गर्न हामी किन सक्दैनौं ? नेतृत्वको काम भनेको समस्याको समाधान गर्ने हो । समाधान गर्नेतिर हाम्रो चासो र चिन्ता छैन । त्यसकारण यस्तो संस्कार र यस्तो संस्कृति हामीले बसाल्न हुँदैन । यसको तत्काल समाधान खोज्नुपर्छ,' उनले भने।
उनले बजेट वक्तव्यमाथिको छलफलमा सांसदहरूलाई बोल्न नदिइएको पनि बताए।
'म दुःखका साथ भन्न चाहन्छु बजेट वक्तव्यमा हतार गरेर हामीलाई बोल्न नदिएर, सांसदहरुको अधिकारसमेत कटौती हुनेगरी हतारमा टुंग्याइयो त्यसप्रति पनि म दुःख व्यक्त गर्छु,' उनले भने, 'वार्षिक कार्यक्रम हो, वर्षभरिलाई कार्यान्वयन हुने कार्यक्रममा सांसदहरुले आफ्नो कुरा नपाउने हो भने के अर्थ छ हाम्रो? हाम्रो अधिकार किन कटौती गरियो ? यसप्रति मेरो आपत्ति छ।'
उनले मध्यपूर्वमा रहेका नपालीहरूको सुरक्षाबारे सरकारले गरेको कामबारे पनि चासो व्यक्त गरे।
'उनीहरुको सुरक्षाका बारेमा सरकारले के गर्छ ? भन्ने गम्भीर प्रश्न उठेको छ । त्यहाँ चालिसौं लाख नेपाली हुनुहुन्छ भोलि युद्ध चर्किदा फिर्ता कसरी ल्याउँछौं ? सुरक्षा कसरी गर्छौं ? रोजगारी कसरी दिन्छौं ? खाना कसरी दिन्छौं ? धेरै गम्भीर विषय छ,’ उनले भने।