बाँसको भाटाले बेरबार गरिएको टाटीका प्वालहरूबाट तातो हावा हुरहुरी छिर्छ।
बाँस र डोरीले कसकास पारेर छानामा अड्याइएको जस्तापातालाई पनि अहिलेको चर्को घामले बेस्सरी तताइदिन्छ।
बाहिरबाट भित्र पस्ने तातो हावामा छानाको रापसमेत थपिँदा खल्ट्याक–खल्ट्याक आवाज निकाल्दै घुम्ने पंखाले पनि तातै हावा मात्र फ्याँक्छ।
यसरी घरको समग्र पर्यावरण तात्तिएका बेला दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका नारायणकुमार सुवेदीको मथिंगल यसै तात्तिएको छ।
यो मौसममा लगातार खेप्नुपरेको तनावले उनलाई यति बेचैन बनाइदिएको छ, अचेल धेरै नियमित कामहरू हातमा आएका छैनन्। जाँगर पनि चलेको छैन।
झापाको शरणार्थी शिविरमा दस वर्षभन्दा लामो समयदेखि एक्लै बसिरहेका उनको छाप्रोमा ५२ दिनयता छोरा आशिष र उनका दुई जना साथी थपिएका छन्। शिविरको थोत्रो छाप्रोमा एक्लै दशक बिताउँदा बरू उनलाई सन्तोक थियो, अहिले छोरा र साथीहरू थपिएपछिको समय उच्चाटलाग्दो बनेको छ।
'बरू एक्लै हुँदा धेरै सन्तोक थियो,' बुधबार दिउँसो सेतोपाटीसँग कुरा गर्दा सुवेदी भन्दै थिए, 'अहिले छोरा साथैमा छ, तर कहिलेसम्म साथ रहन्छ टुंगो छैन। उसले यहाँ बस्ने अनुमति पाएको दिनको भाखा पनि सकिनै लाग्यो। त्यसपछि के गर्ला, कता जाला, फेरि थुनिने पो हो कि भन्ने चिन्ताले सताइरहन्छ।'
नारायणकुमारका छोरा आशिषसहित चार जना भुटानी शरणार्थीलाई गएको चैत १५ मा अमेरिकाले डिपोर्ट गर्दै भुटान लगेर छाडिदिएको थियो। भुटानले पनि फकाउँदै र धम्क्याउँदै नेपालतिरै पठाइदिएपछि उनीहरू प्रहरी फन्दामा परिहाले।
अमेरिकामा आपराधिक गतिविधिमा संलग्न भनेर जेल सजाय भोगिरहेका र केही सजायसमेत काटिसकेका उनीहरू परिवार उतै छाडेर डिपोर्टको सजाय खेप्न बाध्य भए। त्यसपछि पनि अवैध रूपले नेपाल छिरेको अभियोगमा २८ दिन थुनामा परे।
आफ्ना छोरा र उनका साथीहरूलाई छुटाउन नारायणकुमारले सर्वोच्च अदालतको ढोका ढक्ढक्याए। उनले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले गएको वैशाख ११ मा उनीहरूलाई थुनामुक्त गर्न आदेश दियो।
सर्वोच्चले वैशाख ११ गते उनीहरूलाई 'स्थान हद तोकेर राख्न र ६० दिनभित्र अनुसन्धान सक्न' सरकारलाई आदेश दिएको थियो। सर्वोच्चले तोकेको ६० दिनको समय सीमामध्ये बुधबारसम्म ५२ दिन बितिसकेको छ। म्याद नजिकिँदै जाँदा छोरा र उनका साथीहरूको आगामी दिन कस्तो होला भन्ने चिन्ताले नारायणकुमारलाई सताइरहेको छ।
'तावाबाट उम्केर भुंग्रोमा भनेजस्तो घानमा परेका छन् केटाहरू,' उनले भने, 'अब चानचुन एक साता बाँकी छ। त्यसपछि के हुन्छ टुंगो छैन। यतै बस्न पाउने हुन् कि होइनन्, बसे पनि फेरि थुनिएलान् कि भन्ने पनि छ। अमेरिका फर्कन त पाउँदैनन् नै होला। के गर्ने, के नगर्ने भएको छ।'
अनिश्चयको यस्तो भुमरीमा परेका बेला छोराहरूलाई देख्दा पनि घरि घरि भक्कानो छुट्ने नारायण बताउँछन्।
सुन्दर भविष्यको सपना साँच्दै राष्ट्रसंघीय उच्च आयोगले अमेरिका लगेका छोरा आशिष त्यहीँ थुनिए। डोनाल्ड ट्रम्प दोस्रोचोटि राष्ट्रपति भएपछि अदालतले तोकिसकेको सजाय सकिनै लाग्दा देश निकालामा परे।
श्रीमती र सानी छोरीलाई अमेरिकामै छाडेर फेरि शिविर आइपुगेका छोराको उनीहरूसँग भेट हुने–नहुने टुंगो छैन। अबको एक सातापछि छोरा र उनका साथीहरूबारे नेपालले के निर्णय गर्ला भन्ने उनका लागि प्रतीक्षाको विषय बनेको छ।
'अब के गर्ला त सरकारले?' नारायणले उल्टै हामीलाई सोधे, 'अब अदालतले भनेको समय ८ दिन बाँकी छ। के गर्छ होला त यिनीहरूलाई?'
नारायणले हामीलाई तेर्स्याएको प्रश्न सेतोपाटीले अध्यागमन विभागलाई सोधेको छ। तर सर्वोच्च अदालतको आदेशअनुसार यी चारै जना शरणार्थी युवाबारे 'अनुसन्धानरत' अध्यागमन विभागसँग अहिलेसम्म यसको कुनै उत्तर तयार छैन।
'अहिलेसम्म उहाँहरूबारे केही नयाँ निर्णय भएको छैन, अलिकति समय बाँकी छ हेरौं न,' विभागका प्रवक्ता टिकाराम ढकालले भने, 'हामी गृह मन्त्रालयको राय लिने तयारीमा छौं।'
गृहको राय लिएर उनीहरूबारे निर्णय लिने तयारीमा जुटेको विभागले मन्त्रालयसँग कहिले राय माग्ने त भन्ने प्रश्नको उत्तर पनि दिन सकेको छैन।
'मन्त्रालयलाई यसबारे जानकारी छ, अब हामी छिट्टै लेखेर पठाउँछौं,' प्रवक्ता ढकालले भने।
उनको यस्तो जबाफले पछिल्लो ५२ दिनमा शरणार्थीबारे सरकारले केही नगरेको प्रस्ट हुन्छ।
सर्वोच्चको आदेशपछि वैशाख १२ गते थुनामुक्त भएर बेलडाँगी शिविर आइपुगेका अशोक गुरूङ पनि अब के होला भन्ने चिन्ताले सताएको बताउँछन्।
नारायणकुमारको छाप्रोमा आश्रय लिएर बसेका उनी अरू दुई जना साथीसहित हरेक साता स्थानीय प्रहरीमा हाजिरी जनाउन जान्छन्। त्यसपछि फर्केर दिनभरि छाप्रोमा या शिविरकै आसपास टहलिएर बस्छन्।
'केही काम गरौं भने पाइँदैन, कतै जाऊँ भने त्यो पनि पाइँदैन,' शिविर छाडेको १३ वर्षपछि फेरि त्यहीँ आइपुगेका उनले भने, 'कमाउने, परिवार पाल्ने उमेरमा आफै अरूको सहारामा बस्नुपरेको छ। सम्झिँदा पनि विरक्त लाग्छ।'
३३ वर्षीय अशोकको परिवारका अरू सबै सदस्य अमेरिकामै छन्। शरणार्थी शिविरको स्कुलमा कक्षा तीनसम्म मात्र पढेका उनी अमेरिका उड्नुअघि मिस्त्री मजदुरी गर्थे। अहिले त्यही मजदुरी पनि गर्न नपाउने अवस्थामा शिविरमा बसिरहेका छन्।
'साथीभाइसँग झगडा गरेको र अर्कैले चोट लाग्ने गरी छुरा हानेको केसमा साढे चार वर्ष थुनिएँ। अहिले डिपोर्टमा परेको छु,' उनले भने, 'अब नेपालले पनि बस्नै नदिने हो भने म कहाँ जानू? यो संसारमा मलाई बाँच्ने छुट पनि छैन त अब?'
नारायण सुवेदीका छोरा आशिषसहित सन्तोष दर्जी र अशोक गुरुङ अहिले सुवेदीसँगै बेलडाँगीमा छन्। उनीहरूसँगै थुनामुक्त भएका रोशन तामाङ मोरङको पथरी शनिश्चरे शिविरमा बसिरहेका छन्।
उनीहरू जहाँ बसिरहेका छन्, त्यहाँको एउटा स्थानीय तहबाहेक अन्यत्र जान बन्देज छ। त्यसैले अहिलेको बसाइ पनि जेलभन्दा कम नरहेको आशिष बताउँछन्।
बेलडाँगीमा रहेका तीनै जना शरणार्थी युवालाई फेरि थुनिनुपर्ने चिन्ताले सबभन्दा धेरै सताएको छ।
'अब के होला, कता जानुपर्ने हो कि यतै बस्न पाइने हो, फेरि थुनिनु पो पर्छ कि भन्ने डरैडरमा हाम्रा दिनहरू बितिरहेका छन्,' आशिषले भने, 'यसरी दिनरात अनिश्चय र डर पालेर बस्दा बुबासँग बसे पनि जेलमै पो छु कि जस्तो हुने रहेछ।'
उनका अनुसार पहिले–पहिले शरणार्थीले पाउने खाद्यान्न लगायतका सुविधा अहिले बन्द छ।
'तीन–तीन जना लाठेहरू घरमा थपिएका छौं,' उनले भने, 'बुबालाई पालो दिनुपर्ने बेला हामी उहाँका लागि बोझजस्ता भएका छौं। उहाँले त्यही सिद्रा बेचेर आफू र हामीलाई खुवाइरहनुभएको छ।'
कम्तिमा शरणार्थी परिचय प्राप्त गरेर यतै केही गरिखाने इलम गर्न पाए हुन्थ्यो भन्ने उनको चाहना छ।
'अमेरिका र भुटानले त हामीमाथि अलिकति पनि दया देखाएन,' आशिषले भने, 'नेपालले चाहिँ हामीलाई मानवीय व्यवहार गरिदेओस् भन्ने छ। पहिले पनि गरेकै हो। नत्र त यहाँबाट पनि लखेटिनुपर्यो भने कहाँ जानु हामी? अब पनि थुनिनुपर्यो भने के गर्नु?'
***
यी पनि पढ्नुहोस्: