इसराइलले पाँच दिनदेखि कुनै रोकटोकबिना इरानमाथि लगातार प्रहार गरेपछि यो युद्धमा निर्णायक मोड आउन लागेको छ।
इरानको आणविक हतियार कार्यक्रम रोक्न इसराइलले गत साता हमला गरेपछि दुई देशबीच आक्रमण र प्रत्याक्रमणको शृंखला चलिरहेको छ। दुवै देशको आक्रमणको प्रभावकारितामा आकाश–जमिन फरक देखिन्छ।
गत अक्टोबरको आक्रमणमा इसराइलले इरानको धेरै एयर–डिफेन्स सिस्टम (हवाई सुरक्षा प्रणाली) इकाइ ध्वस्त पारेको थियो। गत साता पनि पहिले एयर–डिफेन्स सिस्टममै प्रहार गरेको थियो। अमेरिकामा बनेका अत्याधुनिक फाइटर–जेटहरू प्रयोग गरेर इसराइलले अहिले इरानको आकाशमाथि कब्जा जमाएको छ। जहाँ मनलाग्यो त्यहीँ प्रहार गरिरहेको छ। रातमा मात्रै नभएर दिनकै उज्यालोमा पनि बमबारी गरिरहेको छ।
इसराइलले पहिलो दिनमै इरानी सेनाको चेन–अफ–कमान्ड तोड्न इरानी सेना प्रमुख, उपप्रमुख, इस्लामिक रिभोलुसनरी गार्ड कोरका (आइआरजिसी) प्रमुख लगायत वरिष्ठ जनरलहरूको हत्या गरेको थियो। तिनको ठाउँमा नयाँ नियुक्त भएका जनरलहरूको पनि हत्या गरिरहेको छ। त्यस्तै इरानको आणविक हतियार कार्यक्रममा संलग्न धेरै वैज्ञानिक र विज्ञहरूको हत्या गरेको छ।
उता इरानले प्रहार गरेको प्रायः जसो मिसाइल भने तोड्न नसकिने जस्तो मानिने इसराइली एयर–डिफेन्स सिस्टमले खसालिरहेको छ। केही मिसाइल खसाल्न नसके पनि इसराइलमा लगभग सबै यहुदी जनताका लागि लुक्न मिल्ने निजी र सार्वजनिक बंकर छन्। त्यसैले धेरै ठूलो मानवीय क्षति हुँदैन।
अहिलेसम्म इरानमा सयौं मानिस मारिँदा इसराइलमा करिब २५ जना मारिएका छन्। यीमध्ये पनि धेरै जसो इसराइली सरकारले बंकरमा लुक्नु भनेर जारी गरेको सूचना बेवास्ता गरेर बाहिर बसेका थिए।
यसरी इसराइलले मनलाग्दी प्रहार गरिरहँदा इरानले भने इसराइलमा आक्कल झुक्कल मात्रै नोक्सान पुर्याउन सकेको छ।
इरानले सोमबार नयाँ तरिका अपनाएर, इसराइलका विभिन्न तहका एयर–डिफेन्स सिस्टमलाई एकअर्कामाथि प्रहार गर्न लगाएर सफल मिसाइल प्रहार गरेको दाबी गरेको थियो। तर उसको दाबी सही देखिँदैन। पहिले जस्तै अहिले पनि एक–दुइटा इरानी मिसाइलले मात्रै इसराइलमा नोक्सानी पुर्याइरहेका छन्।
यस्तोमा इसराइली प्रहारबाट जोगिन इरानले युद्धविरामका लागि पहल थालेको समाचार आएका छन्। इरानले ओमान, कतार र साउदी अरबलाई युद्धविरामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 'लबिइङ' गरिदिन आग्रह गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
इसराइलले गत साता हमला गरेपछि इरानले अमेरिकासँग चलिरहेको वार्ता त्यागेको घोषणा गरेको थियो। अब युद्ध हार्ने देखिएपछि उसले फेरि अमेरिकासँग राम्रो सम्बन्ध भएका तीन देशमार्फत वार्ताका लागि सन्देश पठाएको मानिन्छ।
शनिबार ट्रम्पको ७९ औं जन्मोत्सवको शुभकामना दिन फोन गर्दा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि युद्ध रोक्न आग्रह गरेका थिए। युक्रेनसँग लड्न इरानले रूसलाई ठूलो परिमाणमा आफूले बनाएको शाहिद ड्रोन दिएको थियो। अहिले ती ड्रोन रूसभित्रै उत्पादन हुन थालेका छन्। इरानले रूसलाई सस्ता गोलाबारूद पनि दिएको थियो।
गत डिसेम्बरमा सिरियामा बसर अल–असदको सत्ता ढलेपछि मध्यपूर्वमा आफ्नो प्रभाव भएको अर्को देशमा पनि सत्ता परिवर्तन नहोस् भनेर रूसले इसराइल–इरान युद्ध रोक्न लगातार ट्रम्प सरकारसँग पहल गरिरहेको मानिन्छ।
तर इरानको आणविक हतियार कार्यक्रम नरोकिइकन युद्धविराम हुने देखिँदैन।
इरानले लामो समयदेखि आफ्नो आणविक कार्यक्रम हतियार बनाउन नभएर शान्तिपूर्ण उद्देश्यका लागि हो भन्दै आएको छ। तर इसराइल, अमेरिका लगायत पश्चिमा राष्ट्रले इरानले आणविक हतियार नै बनाउन खोजेको भन्दै रोक्ने कोसिस गर्दै आएका छन्।
इरानले वार्ता गरेर आणविक हतियार कार्यक्रम नरोके इसराइल र अमेरिकाले आक्रमण गर्ने धम्की पहिल्यै दिएका थिए।
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले आणविक हतियार कार्यक्रम रोक्नेबारे गरेको बहुराष्ट्रिय सम्झौता ट्रम्पले सन् २०१७ मा पहिलो पटक कार्यभार सम्हालेपछि तोडेका थिए। त्यसपछि वर्षौंसम्म अप्रत्यक्ष वार्ता भए पनि कुनै सफलता हासिल भएको छैन।
इसराइल र अमेरिकाले इरानलाई कहिल्यै पनि आणविक हतियार बनाउन नदिने चेतावनी दिइरहेका बेला ट्रम्पले दोस्रो कार्यकालमा अप्रत्याशित रूपमा इरानसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। ट्रम्पको नोबेल शान्ति पुरस्कार जित्ने उत्कट चाहना छ। रूस–युक्रेन युद्ध रोक्ने योजना सफल नहुने देखेपछि नोबेल पुरस्कारको आशमै ट्रम्पले इरानमाथि हमला नगरेर वार्ताको पहल गरेको कतिले अनुमान गरेका थिए।
सुरूमा त अमेरिकी वार्ता टोलीको नेतृत्व गर्ने ट्रम्पका अर्बपति मित्र स्टिभ विट्कफले झन्डै ओबामाले गरेकै खालका सर्तमा सम्झौता हुन सक्ने संकेत गरेका थिए। तर आफूले काम नलाग्ने भनेर पहिलो कार्यकालमा तोडेकै खालको सम्झौता गर्नु हुँदैन भनेर ट्रम्पलाई सल्लाहकारहरूले सम्झाए।
त्यसपछि अमेरिकाले आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने र अरू देशमा विभिन्न समूह सञ्चालन पनि नगर्ने भनेर कडा सर्त तेर्स्यायो।
अहिलेका आणविक भट्टीहरू बन्द गरेर ऊर्जा निकाल्ने लगायत गैरसैनिक प्रयोजनका लागि साउदी अरब लगायत देशहरूसँग संयुक्त आणविक कार्यक्रम चलाउनुपर्ने प्रस्ताव अमेरिकाले गरेको मानिन्छ।
केही मिडियाहरूका अनुसार अमेरिकाले प्रस्ताव गरेको संयुक्त आणविक कार्यक्रम इरानी भूमिमा सञ्चालन हुने हो भने इरानले मान्छ। कतिले त दबाब बढाउँदै लगे अरू देशमै सो कार्यक्रम चलाए पनि इरानले मान्छ भनेर अड्कल गरेका थिए।
पाँच दिनदेखिको इसराइली आक्रमणले कमजोर भएको इरानले अब सबैखाले आणविक कार्यक्रम पूर्ण बन्द नगरे अमेरिकासँग सम्झौता हुने देखिँदैन। सम्झौता नभइन्जेल इसराइलले प्रहार गरिरहने देखिन्छ।
अहिले इरानले चलाएको हिजबुल्लाह, हमास र असद नेतृत्वको सिरिया लगायत सम्मिलित 'एक्सिस अफ रेसिस्टेन्स' धराशायी भएको छ। इरान आफै पनि कमजोर छ। यस्तो अवस्थामा इरानले आणविक कार्यक्रम पूर्ण रूपमा बन्द नगरे इसराइल नरोकिने देखिन्छ।
इरानले आणविक हतियार बनाए आफूलाई ध्वस्त पार्छ भन्ने डरले इसराइलले उसलाई रोक्न हमला गरेको हो। अझ अहिले कमजोर भएको बेलामा कडा सर्त माने पनि बिस्तारै शक्ति सञ्चय गरेर इरानले फेरि आणविक हतियार कार्यक्रम अघि बढाउँछ भन्ने डर इसराइललाई छ। त्यसैले भरसक युद्धबाटै इरानका आणविक भट्टी ध्वस्त पार्न र सदाका लागि आणविक हतियार कार्यक्रम रोक्न चाहन्छ।
त्यसो गर्न सजिलो भने छैन।
इसराइलले पछिल्ला केही दिनमा इरानको नतान्ज लगायत अन्य केही ठाउँका आणविक भट्टीमा प्रहार गरेर नोक्सान पुर्याएको छ। तर फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाएको भट्टीमा नोक्सानी पुर्याउन सकेको छैन।
आणविक हतियार प्रयोग नगरी सो भट्टी ध्वस्त पार्ने क्षमता विश्वमा अमेरिकासँग मात्रै भएको मानिन्छ। त्यसका लागि अमेरिकासँग रहेको झन्डै १४ टनको जिबियू–५७ भनिने सबभन्दा ठूलो बम प्रयोग गर्नुपर्ने मानिन्छ। त्यो बम पनि एउटाले हुँदैन। लगातार एकै ठाउँमा धेरैवटाले प्रहार गरेर मात्रै भट्टी ध्वस्त पार्न सकिने विज्ञहरूले बताएका छन्।
सो बम बोक्न सक्ने बमवर्षक विमान पनि इसराइलसँग छैन। अमेरिकासँग भएको अत्याधुनिक बी–२ बमवर्षक विमानले मात्रै बोकेर प्रहार गर्न सक्छ। त्यसैले इसराइलले अमेरिकालाई फर्दोको भट्टी ध्वस्त पार्न मद्दत मागिरहेको छ। त्यही भट्टीमा मात्रै प्रहार गरे पनि प्राविधिक रूपमा अमेरिका युद्धमा सहभागी हुनेछ। त्यसैले ट्रम्प के गर्ने भनेर दुबिधामा देखिन्छन्।
गत साता इसराइलले इरानमा हमला गरेपछि पनि ट्रम्पले सुरूमा आइतबार हुने भनिएको अमेरिका–इरानको अर्को चरणको वार्ता नरोकिने आशा गरेका थिए। तर इरानले वार्तामा भाग नलिने भन्यो। यसपछि ट्रम्पले इरानलाई अझ धेरै क्षति बेहोर्नुअघि नै वार्तामा बस्नु भन्दै पटक पटक धम्की दिए।
ट्रम्पले इसराइलले इरानी सर्वोच्च नेता आयातुल्लाह अली खमेनीको हत्या गर्न लाग्दा आफूले रोकेको पनि भन्दै आएका छन्। उनले इरान वार्तामा बस्दा उसलाई फकाउन वा डर देखाउन पनि यसो भनेका हुन सक्छन्।
क्यानडामा आइतबारदेखि सुरू भएको जी–७ राष्ट्रहरूको सम्मेलन बीचमै छाडेर सोमबार उनी अमेरिका फर्किए। सम्मेलनमै रहेका फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोंले ट्रम्प मध्यपूर्वकै समस्या समाधान गर्न र युद्धविरामको पहलका लागि फर्किएको बताएका थिए।
तर ट्रम्पले अमेरिका नपुगी म्याक्रोंको कुरा खण्डन गरे। उनले युद्धविरामका लागि नभएर ‘अझ ठूलो' कामका लागि गएको भन्दै युद्धमा सामेल हुने संकेत गरे। यसले फर्दोको भट्टी ध्वस्त पार्न उनले अमेरिकी सेनालाई आदेश दिन सक्ने देखिएको छ।
ट्रम्प मात्रै नभएर उनका मन्त्रीहरू, सहयोगी, अनि झन्डै सिंगो अमेरिका नै अहिले यो मामिलामा विभाजित देखिन्छ।
संसारका अरू देशमा बल प्रयोग गरेर हस्तक्षेप नगर्ने र हरेक मामिलामा अमेरिकी स्वार्थ मात्रै केन्द्रविन्दुमा राख्नुपर्ने ट्रम्पको 'अमेरिका फर्स्ट' नीति अँगालेका उनका उग्र समर्थक इरानमाथि अमेरिकाले आक्रमण गर्न नहुने बताउँछन्। विपक्षी डेमोक्र्याटिक पार्टीका पनि धेरैजसो नेताहरू यसै भन्छन्।
अर्कोतर्फ, रिपब्लिकन पार्टीको परम्परागत नीति मान्ने नेताहरू इरानको आणविक हतियार कार्यक्रम सधैंका लागि अन्त्य गर्ने यो सुवर्ण मौका छोड्न नहुने जिकिर गर्छन्। डेमोक्र्याटिक पार्टीकै केही नेताले पनि इरानले अमेरिकालाई सबभन्दा ठूलो शत्रु मान्ने भन्दै उसलाई रोक्ने यो मौका खेर फाल्न नहुने बताएका छन्।
यस्तोमा ट्रम्पले के निर्णय लिन्छन् भन्ने यकिन छैन। सुरूदेखि नै वार्तामा जोड दिइरहेको र सम्झौता गरेर नोबेल पुरस्कार जित्ने लोभले भए पनि उनले इरानमाथि आक्रमण गर्ने आदेश दिन सक्ने बताइन्छ। केही सट्टेबाजहरूले अमेरिकाले इरानमाथि आक्रमण गर्ने सम्भावना लगभग ५० प्रतिशत जति भएको भन्न थालेका समाचारहरू पनि आएका छन्।
अमेरिकाले आक्रमण गरे पनि, नगरे पनि इरानी आणविक हतियार कार्यक्रम रोकिने देखिन्छ। अमेरिकाले आक्रमण नगरे पनि सम्झौता गरेर इरानले आफ्नै हातले ती भट्टीहरू बन्द गर्नुपर्नेछ। इरानले कोलाङ गाज ला भन्ने पहाडमुनि फर्दो भन्दा धेरै गहिरो र बलियो बंकरमा पनि आणविक भट्टी बनाइरहेको बताइन्छ। त्यो अनि त्यस्तै गोप्य भट्टीहरू अन्त भए, ती सबै बन्द गर्नुपर्छ।
त्यस्तै फेरि आणविक हतियार कार्यक्रम सुरू गरेको छैन भनेर इरानले बेला बेलामा अन्तर्राष्ट्रिय निरीक्षकलाई निरीक्षण गर्न दिनुपर्नेछ। इरानले फेरि आणविक कार्यक्रम सुरू गर्न लागे इसराइलले तुरून्तै हमला गर्नेछ।
ट्रम्पले नोबेल पुरस्कारको लोभमा इरानी आणविक कार्यक्रम पूर्ण रूपमा बन्द नगरी सम्झौता गरे भने पनि इसराइलले सो सम्झौता नमान्ने देखिन्छ। ट्रम्पले त्यसो गरेमा इसराइलले आफ्ना कमान्डोहरू पठाएर भए पनि फर्दोको भट्टी ध्वस्त पार्ने योजना बनाएको मानिन्छ।
फर्दोको भट्टी सग्लो रहँदै युद्ध रोकियो वा सम्झौता भयो भने इरानले धेरै छोटो समयमा आणविक हतियार बनाउन सक्ने विज्ञहरू बताउँछन्। आणविक हतियारले मात्रै इसराइली हमलाको सम्भावना सधैंका लागि रोकिने भएकाले इरानले कुनै हालतमा हतियार बनाउन प्रयास गर्नेछ।
तर इरानमाथि यति सफल आक्रमण गरेर पनि त्यो खतरा रहिरहन इसराइलले कुनै हालतमा दिने छैन। त्यसैले पहिले लगातारको हवाई हमलाले फर्दो र वरपरका इरानी सेना शिथिल पारेर, कमान्डो पठाएर भए पनि सो भट्टी ध्वस्त पार्ने आकलन रक्षाविज्ञहरूले गरेका छन्।
सिरियामा असदको सत्ता नढल्दै, गत सेप्टेम्बरमा इसराइलले आफ्ना कमान्डो पठाएर हिजबुल्लाह र हमासका लागि इरानले चलाइरहेको एउटा भूमिगत मिसाइल कारखाना ध्वस्त पारेको थियो। सिरियाको सो कारखानाभन्दा फर्दोको भट्टी धेरै बलियो र इरानी सेना सिरियाली सेनाभन्दा शक्तिशाली भएकाले त्यसो गर्न सजिलो हुने छैन। तैपनि इसराइलका लागि असम्भव भने छैन।
***
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)