नेकपा (एमाले) निकट अनेरास्ववियुको २४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय बढाइएको छ।
मतदान समय बिहीबार साँझ ७ बजेसम्म बढाइएको हो।
काठमाडौं, कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा बिहान ९ः५० बाट मतदान सुरू भएको थियो।
१ हजार ५३४ मतदातामध्ये अहिलेसम्म आधा पनि (७०० हाराहारी) मात्रै मत खसेको छ। एक जनलाई मत हाल्न २० देखि २५ मिनेट समय लाग्छ। ४३ वटा भोटिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ।
निर्धारित समयमा मतदान नसकिने भए पनि समय बढाइएको निवर्तमान उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए।
अनेरास्ववियुमा निवर्तमान सचिवद्वय प्रकाश पौडेल र डा. सुजन कडरियाले अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका छन्।
उनीहरूले छुट्टाछुट्टै समूह बनाएर प्रतिस्पर्धा गरिरहेका हुन्।
पौडेल समूहबाट महिला उपाध्यक्षमा आरती भट्टराई र खुला उपाध्यक्षतर्फ भरत धामीले प्रतिस्पर्धा गरिहेका छन्।
त्यस्तै महासचिवमा आरके रोमस र उपमहासचिवमा कमल जोशी प्रतिस्पर्धामा छन्।
डा. सुजन कडरिया समूहबाट महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी र खुला उपाध्यक्षतर्फ राजकुमार ढकाल प्रतिस्पर्धामा छन्।
महासचिवमा दीपक धामी र उपमहासचिवमा प्रेमिका शाहीले उम्मेदवारी दिएकी छन्।
उपाध्यक्षमा ९, महासचिवमा ३, उपमहासचिवमा ३ र सचिवहरूमा ३६ जनाको उम्मेदवारी परेको छ।
९ पदाधिकारी, ४९ सचिवालय सदस्य र १५१ सदस्यी कमिटीका लागि ५०० जनाभन्दा बढी प्रतिस्पर्धामा छन्। केही निर्विरोध निर्वाचित भइसकेका छन्।
अनेरास्ववियुको महाधिवेशन गत जेठ २५ गतेदेखि सुरू भएको हो।
