अनेरास्ववियुका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले नेकपा (एमाले) भित्र ७० वर्षे उमेरहदको विषय बहसमा ल्याइदिए।
जेठ २५ गते अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ७० वर्षे उमेरहदका कारण आफू एमालेको सक्रिय राजनीतिबाट बिदा भएको बताए। यद्यपि एमालेको विधानमा अहिले उमेरहदको प्रावधान निष्क्रिय छ।
मैनालीले उमेरहदको प्रसंग निकालेपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको सीमा फेल खाइसकेको टिप्पणी गरे।
यसपछि एमालेभित्र यो विषय अहिले बहसमा छ। नेता–कार्यकर्ताहरूले धारणा सार्वजनिक गर्न थालेका छन्।
‘अघि विश्वकान्तजीले..., उहाँले अलि पाको पनि हुनुभो। बाइ द वे उहाँले भनिहाल्नुभो ७० वर्षे उमेरको कुरा। ७० वर्ष उमेर फेल खाइसक्यो। ७० वर्ष उमेर फेल खाइसक्यो। अहिले म ७४ चल्दैछु। ७० वर्षमा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन? अहिले म ७४ चलिराखेको छु। ७० वर्षमा रिटार्यड हुन उमेर चार वर्ष घटाउन भएन क्यारे! उमेरले होइन, स्वास्थ्यले साथ दिन्छ दिँदैन? यी कुराहरू मुख्य हुन्। कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा यी हुन्,’ अनेरास्ववियुको महाधिवेशनमा अध्यक्ष ओलीले भने।
उनले चीनको उदाहरण दिए। त्यहाँ दुईपटक राष्ट्रपति, पार्टी महासचिव हुन पाउने प्रबन्ध राखेर पनि हटाएको उनले तर्क गरे।
‘चीनमा दुईपल्ट मात्रै महासचिव हुन पाउने नियम बनाएको थियो। राष्ट्रपति दुईपटक मात्रै हुन पाउने बनाएको थियो। सी चिनफिङको निरन्तरताको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ७० वर्ष पनि हुँदैन, ६५ वर्ष पनि हुँदैन भन्यो। उहाँहरूले ६५ लगाउनुभएको थियो। अहिले राष्ट्रपति सी चिनफिङ ७२ पुगिसक्नुभएको छ। साइप्रसको कम्युनिस्ट पार्टीले ६५ तोकेको थियो, छोड्नुभयो। अरू विभिन्न पार्टीले उमेरहद तोकेका थिए। सबैले छाडे। किनकि उमेरले होइन थुप्रै फ्याक्टर हुँदा रहेछन्। आवश्यकताहरू थुप्रै पर्दा रहेछन्,’ उनले भने।
पार्टी अध्यक्ष ओलीले ७० वर्षे प्रावधान असफलसिद्ध भइसकेको जिकिर गरेपछि त्यसविरूद्ध एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बोलेका छन्।
हिमालय टेलिभिजनको यक्ष प्रश्नमा पत्रकार राजेन्द्र बानियाँको प्रश्नमा उनले उमेरहदबारे धारणा राखेका हुन्।
पोखरेलले आफू ७० वर्षे उमेरको सीमाको पक्षमा मात्र नभई लगातार दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्नुनहुने पक्षमा रहेकोसमेत बताए।
‘हाम्रो पार्टीको विगतको महाधिवेशनले नेतृत्वको बारेमा दुइटा कुरा गरेको छ। एउटा उमेरको सीमा तय गरेको छ, ७० वर्ष। अर्को, कार्यकारी पदमा लगातार दुईपटक भन्दा बेसी नहुने, डिस्कन्टिन्यु हुनुपर्छ भन्ने प्रावधान राखेको छ,’ उनले भने।
एमालेले नवौं महाधिवेशनपछि उमेरहदको प्रबन्ध गरेको थियो। बीचमा २०७५ जेठ ३ गते नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्दा त्यो प्रावधान हटेको थियो। २०७८ मा एमालेले विधान महाधिवेशन गर्दा पुनः त्यो प्रावधान राखेको थियो। तर २०८० जेठमा एकीकृत समाजवादीबाट मुकुन्द न्यौपानेसहितका नेताहरूलाई भित्र्याउन मात्रै त्यो प्रावधान खुला गरिएको उपाध्यक्ष पोखरेलले बताए।
‘एकीकृत समाजवादीमा गएका साथीहरू, कतिपय पुराना पार्टीमा रहनु भएको साथीहरू आउने स्थितिमा उमेरको सीमाले समस्यामा पार्ने भएको हुनाले केही समयका लागि खुला गर्यौं। साथीहरू आउनुभयो। केन्द्रीय कमिटीमा, स्थायी कमिटीमा रहनुभएको छ। तर यसको अर्थ, जुन महाधिवेशनले व्यवस्था गरेको थियो, त्यो व्यवस्था केही समयका लागि अन्तरिम व्यवस्थापन गरेको हो,’ उनले भने।
उनले अहिले निष्क्रिय राखिएको निर्णयलाई आउँदो भदौमा हुने विधान महाधिवेशनले अनुमोदन गर्छ कि गर्दैन भनेर हेर्नुपर्ने उनले बताए।
‘लगातार दुईटा कार्यकारी पदमा बसेकाले दुई कार्यकालपछि निरन्तरता पाउनुहुँदैन भनेर हामीले लामो छलफल गरेर तय गरेको विषय थियो। त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा छु म,’ उनले भने।
उनले कुनै व्यक्तिका सन्दर्भमा आफूले नभनेको उनले बताए।
पार्टी अध्यक्ष ओली ७४ वर्ष पूरा भइसकेका छन्। त्यस्तै उपाध्यक्ष पोखरेल पनि ७३ वर्ष पूरा भइसकेका छन्।
‘मैले सोलोडोलो कुरा गरेको होइन, मैले को कहाँ पर्छ भन्ने कुरा गरेको होइन। हामीले कुन मान्यताको आधारमा हामीले व्यवस्था गर्यौं, त्यो मान्यता प्रति अडिनुपर्छ भनेको हो,’ उनले आफ्नो तर्कमा उभिँदै भने।
एमालेको नवौंं महाधिवेशनले लगातार दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाइने विधानमा प्रबन्ध गरेको थियो।
२०७८ को विधान अधिवेशनले त्यो कुरालाई विधानमा समावेश गरेन। ७० वर्षे उमेरहदलाई भने निरन्तरता दिएको थियो। विधान महाधिवेशनले गरेको निर्णय सचिवालय बैठकले निष्क्रिय तुल्याएको भनेर एमालेभित्र आलोचना भइरहेको सन्दर्भमा नेताहरूले मुख खोल्न थालेका हुन्।