अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग थालेको व्यापार युद्धका कारण अमेरिकी हवाइजहाज निर्माता बोइङ युरोपेली एयरबस भन्दा चिनियाँ बजारमा अझ पछि पर्ने देखिन्छ।
ट्रम्पको पहिलो कार्यकालसम्म बोइङ चिनियाँ वायुसेवा कम्पनीहरूको पहिलो रोजाइमा थियो। तर २०१८ मा ट्रम्पले चीनसँग व्यापार युद्ध थालेको र बोइङको ७३७ म्याक्स मोडलमा समस्या आएका कारण एयरबसले बिस्तारै चीनमा बजार विस्तार गर्न थाल्यो।
दोस्रो कार्यकालमा ट्रम्पले चीनसँग झन् चर्को व्यापार युद्ध थालेपछि बोइङ चीनमा एयरबस भन्दा अझ पछि पर्ने लक्षण देखिएको छ।
चीनले आगामी महिना एयरबसका सयौं विमानहरू अर्डर गर्ने विचार गरिरहेको छ भनेर ब्लुमबर्गले लेखेको छ। जुलाईमा चीन र युरोपियन युनयन (इयु) बीच कूटनीतिक सम्बन्ध शुरू भएको ५० वर्ष पुगेको अवसर पारेर युरोपेली नेताहरू चीन भ्रमणमा जाने अपेक्षा गरिएको छ। सो भ्रमणको बेलामा न्यारोबडी र वाइडबडी गरेर करिब ३०० एयरबसका विमानहरू अर्डर गर्न चीनले छलफल थालेको भनेर चिनियाँ अधिकारीहरूको हवाला दिंदै ब्लुमबर्गले जनाएको छ।
ट्रम्पले 'स्वतन्त्रता दिवस' भन्दै अप्रिल २ मा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धी देशहरूलाई उच्च 'रेसिप्रोकल' (पारस्परिक) भन्सार लगाउने घोषणा गरेका थिए।
सो घोषणापछि सबै देशलाई उनले जबाफी कदम चाले अझ उच्च भन्सार लगाउने र नचाले पुरस्कृत गर्ने धम्की दिएका थिए। उनको डरले चीन बाहेक कसैले पनि जबाफी कदम चालेनन्।
अमेरिकासँग व्यापार फाइदा भएका सबै देशलाई विभिन्न उच्च दरको भन्सार लगाई गलाएर अमेरिकालाई फाइदा हुने सर्तमा व्यापार सम्झौता गर्ने मनसायले उनले पारस्परिक भन्सार महसुल लगाएका थिए। जबाफी कदम नचाल्नेलाई पुरस्कृत गर्ने भने पनि व्यापार सम्झौता नगरूञ्जेल भन्सार घटाउने उनको मनसाय थिएन।
तर यही कारण अमेरिकी अर्थतन्त्र नै धराशायी हुने खतरा भएपछि उनले एक सातामै ७० वटाभन्दा बढी देशलाई लगाएको उच्च पारस्परिक दर फिर्ता लिए र सबैलाई १० प्रतिशत दर लगाए।
चीनले भने उनको धम्की बेवास्ता गर्दै जबाफी भन्सार दर लगायो। ट्रम्पले रिसाएर दर अझ बढाउने र चीनले फेरि जबाफ दिने क्रम चल्दै जाँदा ट्रम्पले दोस्रो कार्यकाल सुरू भएपछि चीनलाई लगाएको भन्सार दर आकाशिएर १४५ प्रतिशत पुग्यो। अर्कोतर्फ चीनले अमेरिकी वस्तुमा लगाएको भन्सार दर १२५ प्रतिशत पुग्यो। यसरी चीनले जबाफी कदम चाले पनि ६ हप्ता नपुग्दै ट्रम्प झुक्नुपर्यो।
स्विट्जरल्यान्डको जेनेभामा भएको वार्तापछि दुवै देशले एक अर्कालाई लगाएको भन्सार दर ९० दिनका लागि ११५ प्रतिशत विन्दुले घटाउने घोषणा गरे। यसपछि ट्रम्पको दोस्रो कार्यकालमा चीनमाथि लगाएको भन्सार दर ३० प्रतिशतमा झरेको छ।
फेन्टनिल लागुपदार्थ बनाउन चाहिने कच्चा रसायन बेचेको भन्दै १० प्रतिशतका दरले दुई पटक लगाएको र सबै देशलाई लगाएको पारस्परिक दर १० प्रतिशत गरी ३० प्रतिशत मात्रै कायम हुनेछ। चीनले भने सबै अमेरिकी वस्तुमा १० प्रतिशत मात्रै थप भन्सार लगाउने छ।
व्यापार युद्ध चर्किरहेको बेलामा चीन सरकारले बोइङको नयाँ जहाज नलिन आफ्ना एयरलाइन कम्पनीहरूलाई निर्देशन दिएको थियो। चीनको उड्डयन नियामकले नयाँ जहाजका लागि खरिद सम्झौता मात्रै नभएर पहिल्यै सम्झौता भइसकेका जहाजको पनि डेलिभरी रोक्ने खालको निर्देशन जारी गरेको थियो।
जेनेभामा भएको वार्तापछि बोइङमाथि लगाएको प्रतिबन्ध चीनले फिर्ता लिएको थियो। तर ट्रम्पको कार्यकालमा अमेरिकासँग सम्बन्ध न्यानो हुने संभावना कम हुँदै गएका बेला चीनले बोइङका विमान किन्न इच्छा नदेखाएको हो।
अमेरिकाको कित्ता छोडेर युरोपेली देशलाई आफु नजिक ल्याउनका लागि पनि चीनले त्यति ठूलो परिमाणमा एयरबसका विमान किन्न लागेको हुनसक्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)