पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा दर्ता भएपछि सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड' लाई फोन गरे।
बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा माधव नेपालमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
त्यसको केहीबेरमा सभापति देउवाले अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर माधव नेपालमाथि मुद्दा किन लागेको हो भन्ने जस्ता विषयमा कुराकानी गरेका हुन्।
पूर्वप्रधानमन्त्री नेपालमाथि किन र के कारणले भ्रष्टाचार मुद्दा लाग्यो भन्ने चासो देउवाको थियो। यो कुरा प्रचण्डले नै आज नयाँ बानेश्वरमा पत्रकारहरूमाझ खुलाएका हुन्।
‘देउवाजीले हिजो फोन गर्नुभएको थियो। खासगरी माधव नेपालमाथि मुद्दा दर्ता भएको विषयमा उहाँले मलाई सोध्नुभयो- के भएको हो भनेर। अब शेरबहादुरजीले मलाई सोध्ने भनेपछि म आश्चर्यमा परे। सत्तापक्षको सबैभन्दा ठूलो नेताले के भएको हो, माधवजीको मुद्दा दर्ता कसरी भएको हो भनेपछि मैले पो तपाईंलाई सोध्नुपर्ने हो, तपाईंले सोध्नुभयो भनेँ। उहाँलाई थाहा नभएको बुझेँ मैले,’ अध्यक्ष प्रचण्डले भने।
माधव नेपाललाई मुद्दा दर्ता गर्ने बेलामा नेपाली कांग्रेस सभापति देउवासँग सल्लाह भएर दर्ता गरेको होइन रहेछ भन्ने आफूलाई लागेको प्रचण्डको भनाइ छ।
‘शेरबहादुरजीले ढाट्नुहुन्न, उहाँ सिधासिधा भन्नुहुन्छ, ढाट्नुहुन्न भन्ने लाग्छ, यो कुरा मैले विश्वासको मत लिने बेला संसदमा पहिले पनि भनेको थिएँ,’ उनले भने, ‘माधव नेपालको विषयमा राजनीतिक प्रतिशोध साँध्ने ढंगले नै सरकारले अघि बढाएको देखिन्छ।’
भिडिओ:
केही समयअघि ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईको पनि चर्चा चलेको र मुद्दा नचलाउने भनेर अख्तियारले दस्तावेज नै सरकारलाई पठाएको अध्यक्ष प्रचण्डको भनाइ छ।
‘प्रधानमन्त्री र मन्त्रिपरिषदले गरेको निर्णयमाथि अख्तियारको क्षेत्राधिकार नपर्ने भएको हुनाले उहाँहरू (माधव र बाबुराम) को बारेमा के गर्नुपर्ने हो मन्त्रिपरिषदले नै गरोस् भनेर अख्तियारले लेखेर दिएको छ, त्यही अख्तियार अहिले कसरी प्रधानमन्त्रीमाथि नै सिधै मुद्दा दर्ता गर्न पुगे भन्ने प्रश्न पनि छ,’ उनले भने, ‘यो गम्भीर प्रश्न छ, कहीँ न कहीँ प्रतिशोध साँध्नका लागि ठेलेर, माधवजीलाई जसरी पनि गरौं भन्ने नियतले काम गरेको देखिन्छ, जुन गलत हो।’
प्रधानमन्त्रीले निर्णय गर्दा प्राय: नीतिगत निर्णय गर्ने पनि उनले बताए। त्यसै कारण माधव नेपालले पनि त्यो बेला के भएको आफूलाई थाहा नभएको कुरा राखिरहेको उनको भनाइ थियो।
‘यो कहीँ न कहीँ प्रतिशोध छ भन्ने देखिन्छ, माधवजीले त आफ्ना कुरा सिधासिधा राखिरहनुभएको छ,’ उनले भने, ‘त्यसमाथि नेकपाकै बेलादेखि चिनिएको छ नि!, बुझिएकै छ नि! प्रतिशोधको गन्ध छ। अदालतमा गइसकेको हुनाले अदालतले न्याय गर्छ भन्ने आशा गर्नुपर्छ।’
उनले यस विषयमा अदालतप्रति भसोरा गर्नुपर्ने बताए।
साथै अध्यक्ष प्रचण्डले माधव नेपालमाथि लागेको मुद्दाको प्रकृतिले धेरै काण्डहरूबारे मुद्दाको बाटो खुला गरेको बताए।
‘यसले धेरै चिज खुला गर्ने भयो- गिरीबन्धु, ओम्नी सबै भएभरका खुला गर्ने भयो। अब प्रधानमन्त्री कोही पनि बच्ने कुरा भएन,’ प्रचण्डले हाँस्दै भने, ‘माधवलाई मात्रै हुने कुरा भएन नि यो त। भएभरका प्रधानमन्त्री पनि खुला हुने भए नि त।’
तर अहिले राजनीतिक आग्रह र पूर्वाग्रहका भरमा कसलाई कारबाही गर्ने वा बदनाम गर्ने भन्ने कुरा नियोजित रूपमा हुन थालेको पनि अध्यक्ष प्रचण्डको भनाइ छ।
‘एकथरिलाई गल्ती नगरे पनि दोष देखाएर कारबाही गर्नेजस्तो देखिन्छ, त्यसभन्दा बढी दोष भएकालाई जसरी पनि बचाउनेजस्तो सरकारको रबैया देखिन्छ,’ उनले भने, ‘कुनमान घिसिङ, टेरामक्समा मोहन बस्नेत प्रकरणमा सरकारको गतिविधिले प्रतिशोध देखिन्छ। केहीलाई जोगाएको छ, केहीलाई मुद्दा लगाएको छ।’
यो पनि: माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा लैजाँदा अख्तियारले सारेका ५ आधार