प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको २३औं वार्षिक प्रतिवेदन पारित भएको छ।
सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेस गरिने जानकारी दिए।
बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनीले नक्कली कागजात पेस गरी बोलपत्रमा समावेश भएको भनि आएका गुनासाका विषयमा प्रस्ट नभई सम्झौता अघि नबढाउन निर्देशन दिएको छ।
यस्तै, बेरुजु फारछ्यौटका सम्बन्धमा तीन तहकै जनप्रतिनिधिको सहभागितामा असार ९ र १० गते काठमाडौँमा राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको छ।
गोष्ठीमा सबै प्रदेशका सार्वजनिक लेखा समिति सभापति र सचिव, विज्ञ, महालेखा परीक्षकको, कार्यालय, नगरपालिका र गाउँपालिका महासङ्घका प्रतिनिधि सहभागी हुनेछन्।
सभापति पोखरलेले बेरुजु फर्छ्यौटमा स्थानीय तहदेखि संघसम्मको समग्र अवस्थाबारे जानकारी लिँदै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा रायसुझाव लिने उद्देश्यले गोष्ठी गर्न लागिएको जानकारी दिए।
बैठकले भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन समितिले थप अध्ययनका लागि स्थलगत अवलोकन गर्ने माग गरेकामा स्वीकृत प्रदान गरेको छ।
यस वर्ष मौसम केही जटिल हुने प्रक्षेपण गरिएकाले पूर्वतयारी प्रतिकार्यलाई चुस्त र व्यवस्थित तुल्याउन सरकारलाई सुझाव दिँदै समितिले आगामी धान बालीका लागि किसानलाई रासायनिक मलको अभाव हुन नदिन उचित व्यवस्थानमा लाग्न निर्देश गरेको छ।