गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक लेखा समिति सभापति नपाएपछि सामाजिक विकास तथा कृषि समिति सभापति लिएको छ।
प्रदेश सभामा क्रियाशील चारवटा संसदीय समितिमध्ये सामाजिक विकास तथा कृषि समितिका सभापति फणिन्द्र देवकोटा जलस्रोत मन्त्री बनेपछि उक्त समितिको सभापति पद रिक्त थियो। माओवादीकै तर्फबाट सभापति बनेका देवकोटा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका तर्फबाट सरकारमा मन्त्री बनेका थिए।
नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार पुनर्गठन भएपछि माओवादी प्रमुख प्रतिपक्षमा छ। संसदीय मान्यतामा सार्वजनिक लेखा समिति सभापति प्रमुख प्रतिपक्षी दललाई दिने चलन भए पनि गण्डकीमा एमालेले उक्त समिति लिएको छ।
निर्वाचन पश्चात गण्डकीमा कांग्रेस र माओवादी केन्द्र मिलेर सरकार बनाउँदा एमाले प्रमुख प्रतिपक्षी थियो। त्यतिबेला प्रतिपक्षी दलकै हैसियतमा एमालेका सांसद सुधीरकुरमा पौड्याल सार्वजनिक लेखा समिति सभापति बनेका थिए।
कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि माओवादी प्रतिपक्षी कित्तामा छ। माओवादी गण्डकीका संसदीय दलका नेता हरिबहादुर चुमानले सार्वजनिक लेखा समितिको सभापति माग्दा एमालेले नदिएको बताए। लेखा समितिको सभापति माओवादीलाई दिने हो भने अर्को उपसमिति गठन गरेर सभापति दिनुपर्ने अडान एमालेले राखेको चुमानले बताए।
‘हामीले सार्वजनिक लेखा समिति दिनुस् भनेर बारम्बार भन्यौं। एमालेले अर्को विशेष समिति गठन गरेर सभापति दिने भए मात्र सार्वजनिक लेखा समिति छाड्छौं भनेर अडान राख्यौ,’ उनले भने, ‘फेरि अर्को समिति थप्नुभन्दा सामाजिक तथा कृषि समिति लिएर हामीले सार्वजनिक लेखा समितिको अडान छाड्यौं।’
प्रदेश सरकारले खर्च नभएको भन्दै आफू मातहतका संरचना खारेज गरेको भन्दै उनले संसदीय समिति थप्दा औचित्य साबित नहुने बताए। डेढ महिनादेखि छलफल भएपनि एमालेले अडान नछाडेको चुमानको भनाइ छ।
‘म त प्रमुख प्रतिपक्षी भएँ, नयाँ समिति थप्ने कुराको विरोध गर्छु नै,’ उनले भने, ‘संसदीय समिति थप गर्दा सत्ता पक्षले पनि औचित्य साबित गर्न सक्दैनन्।’
एमालेले सार्वजनिक लेखा समिति प्रतिपक्षी दललाई नदिने अडान राखेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग कुरा गरेर कृषि समिति लिएको चुमानले बताए।
सामाजिक विकास तथा कृषि समितिमा माओवादी सांसद दमयन्ती रुचालको एकल उम्मेदवारी परेको छ। प्रदेश सभाको कार्यतालिका अनुसार रुचालको प्रस्तावक कांग्रेस सांसद महेश भट्टराई छन् भने समर्थक एमाले सांसद लिलबहादुर थापा छन्। रुचाल शुक्रबार दिउँसो बस्ने सामाजिक विकास तथा कृषि समिति बैठकमा सभापति चुनिनेछन्।
सार्वजनिक लेखा समितिको सभापति दिँदा माओवादीले नै लिन नमानेको एमाले संसदीय दलका नेता खगराज अधिकारीले बताए। एमालेकै समर्थनमा माओवादीबाट कृषि समिति सभापति चुनिएको भन्दै उनले एमालेको विरोध मात्र गरेको बताए।
‘हामी सार्वजनिक लेखा समिति सभापति अहिल्यै दिन तयार छौं। उहाँहरुले नै लिन नमान्नुभएको हो,’ उनले भने, ‘हामीले नियमावलीमा भएको विशेष समिति गठन गरौं भन्दा माओवादीका सभामुखले त्यो समिति गठन नै नगरी निष्क्रिय बनाएका छन्।’
एमालेको विरोध गर्नका लागि मात्र माओवादीले अभिव्यक्ति दिएको अधिकारीले बताए। प्रदेश सभा संचालन नियमावलीमा ६ वटा संसदीय समिति बनाउन सकिने व्यवस्था छ। अहिले प्रदेश सभामा ४ वटा समिति मात्र क्रियाशील छ।
संसदीय समिति र सांसदको क्रियाकलाप हेर्न व्यवस्था गरिएको विशेष समिति गठन गरेर सभापति दिनुपर्ने र सामाजिक तथा कृषि समितिको सभापति पनि दिनुपर्ने एमालेले अडान राखेको थियो। एमालेको उक्त अडान कांग्रेस र माोवादीले अस्वीकार गरेको छ।
अहिले गण्डकी प्रदेश सभामा क्रियाशील ४ वटा संसदीय समिति मध्ये २ वटा समितिको सभापति कांग्रेसको भागमा छ भने माओवादी र एमालेले १/१ वटा समिति सभापति लिएका छन्।
नेपाली कांग्रेस गण्डकीका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानलेले संसदीय समिति गठन गर्दा कांग्रेसले २ वटा समिति, एमाले र माओवादीले १/१ वटा समिति सभापति लिने सहमति भएको बताए। सोही सहमतिअनुसार अहिले कृषि तथा सामाजिक समति सभापति माओवादीलाई परेको उनले बताए।
कांग्रेस सांसद भोजराज अर्याल अर्थ तथा विकास समिति र चम्पादेवी खड्का प्रदेश मामिला समितिका सभापति छन्।
सार्वजनिक लेखा समिति प्रतिपक्षीलाई दिनुपर्ने मान्यता रहे पनि माओवादीले नै सामाजिक तथा कृषि समिति सभापति लिन राजी भएको बताए।
‘यहाँ कतिबेला को प्रतिपक्षी बन्छ थाहा नै हुँदैन। माओवादीलाई सार्वजनिक लेखा समिति नदिएको भन्दा पनि उहाँहरु कृषि समिति सभापति लिन सहमति गर्नुभएको हो,’ उनले भने।
नियमावलीमा ६ वटा संसदीय समिति गठन गर्न सकिने व्यवस्था रहे पनि समिति गठन सभामुखको क्षेत्राधिकारको कुरा भएको उनले बताए।
अहिले हामीसँग चारवटा संसदीय समिति मात्र क्रियाशील छ, नियमावलीमा व्यवस्था भएको २ वटा समिति गठन नै भएको छैन,’ उनले भने, ‘संसदीय समिति गठन गर्ने कुरा सरकारको भन्दा पनि सभामखुको भूमिका हो नि।’