अमेरिकी कार निर्माता कम्पनी टेस्लाको सेयर मूल्यमा एकैदिन भारी गिरावट आएको छ।
टेस्लाका मालिक इलन मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको झगडापछि टेस्लाको सेयरमा बिहीबार एकैदिन १४ प्रतिशतले गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
त्यो भनेको उसको सेयर एकै दिन १५० अर्ब डलरले खस्किएको रोयटर्सले जनाएको छ।
बिहीबार राष्ट्रपति ट्रम्पले सरकारी खर्च कटौतीका लागि मस्कको कम्पनीलाई दिइएको अनुदान रोक्ने र भएका सम्झौता रद्द गर्ने बताएपछि मस्कले ट्रम्पको आलोचना गरेका थिए।
उनले ट्रम्पलाई आफूले राष्ट्रपति बनाएकोदेखि महाभियोग लगाउनुपर्नेसम्मका अभियव्यक्ति एक्समार्फत दिएका थिए।
ट्रम्पले मस्कको कम्पनीलाई दिएको अनुदान रोक्ने र सम्झौताहरू पनि रद्द गर्ने भनेपछि टेस्लाको सेयर घट्न थालेको थियो।
बिहीबारका लागि कारोबार बन्द भएको अवधीसम्ममा उसको सेयरमा १५० अर्ब डलरको गिरावट आएको हो। यो टेस्लाको सेयरमा एकैदिन भएको अहिलेसम्मकै ठूलो गिरावट हो।
मस्कले एक्समार्फत आफूविरूद्ध आलोचनात्मक अभिव्यक्ति दिन थालेपछि ट्रम्पले पनि आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर जबाफ दिएका थिए।
ट्रम्पले सरकारको अर्बौं डलर बचाउनका लागि मस्कलाई दिइएको सरकारी अनुदान कटौती र सम्झौता रद्द गर्नुपर्ने बताएका थिए।
ह्वाइट हाउसमा डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डज प्रमुख) हुँदा मस्कले सरकारी खर्च घटाउन भनेर संघीय कर्मचारी कटौतीदेखि अन्तर्राष्ट्रिय एजेन्सीहरूलाई निष्प्रभावी पार्नेसम्मका निर्णय मस्कले गरेका थिए।
गत शुक्रबार डज प्रमुखका रूपमा आफ्नो कार्यकाल पूरा गरेर ह्वाइट हाउसबाट बाहिरिएको एक हप्ता नपुग्दै राष्ट्रपति ट्रम्पसँग मस्कको सम्बन्धमा चिसिएको हो। खर्च कटौतीका लागि उनले ट्रम्पलाई दिएको सुझाव ट्रम्पले मस्कविरूद्ध नै प्रयोग गरेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।
मस्कले ट्रम्पको कर कटौती र खर्चसम्बन्धी विधेयकको आलोचना गर्दै आएका छन्। उनले यो विधेयकले अमेरिकाको ३६२ खर्ब डलरको ऋणलाई थप बढाउने बताए। ट्रम्पले सुरुमा मौनता साँधे पनि बिहीबार उनले मस्कप्रति निराश भएको बताएका थिए।
'इलन र मेरो सम्बन्ध राम्रो थियो, अब त्यो रहन्छ कि रहँदैन, थाहा छैन,' ट्रम्पले भनेका छन्। मस्कले ट्रम्पलाई आफूले राष्ट्रपति बनाएको बताए। ' म बिना ट्रम्पले चुनाव हार्थे,' मस्कले भनेका छन्।
मस्कले ट्रम्पलाई चुनाव जिताउन करोडौं डलर खर्च गरेका थिए। उनले एक्स पनि ट्रम्पको चुनाव प्रचारमा प्रयोग गरेका थिए।
ट्रम्पको धम्कीपछि मस्कले स्पेसएक्सको ड्र्यागन अन्तरिक्ष यानको सञ्चालन बन्द गर्ने बताएको पनि रोयटर्सले लेखेको छ।
मस्कले अब अमेरिकामा नयाँ राजनीतिक दल खोल्नुपर्ने बताउँदै त्यसमा मानिसहरुको राय मागेका छन्।
'८० प्रतिशत मध्यमवर्गीयहरूका लागि अमेरिकामा अर्को नयाँ पार्टी खोल्नुपर्छ,' मस्कले भनेका छन्।
ट्रम्पले भने मस्क आफूविरूद्ध लागे पनि आपत्ती नरहेको बताएका छन्।
' यो कांग्रेसमा प्रस्तुत गरिएको सबैभन्दा ठूलो विधेयकहरू मध्ये एक हो। यदि यो विधेयक पारित भएन भने, ६८% कर वृद्धि हुनेछ, र त्यो भन्दा पनि खराब चीजहरू हुनेछन्। मैले यो गडबडी सिर्जना गरेको होइन, म यसलाई ठीक गर्न यहाँ आएको हुँ,' उनले ट्रुथ सोसलमा लेखेका छन्।
ट्रम्पलाई चुनाव जिताएपछि मस्कले उनीनिकट रहेर काम गर्दा अघिल्लो वर्षको तुलनामा यसपालि टेस्लाको नाफामा व्यापक गिरावट आएको थियो। टेस्लाको नाफा घटेपछि मस्कले ट्रम्पलाई नै टेस्ला गाडी उपहार दिएर प्रचार गरेका थिए। तर त्यसले पनि टेस्लाको बजारमा खासै सकारात्मक प्रभाव परेन।
अहिले मस्कले ट्रम्पसँग जोरी खोजेर टेस्ला कार मात्रै होइन अरू थुप्रै व्यवसायहरू समेत संकटमा पारेको भनेर विज्ञहरूले विश्लेषण गरेको रोयटर्सले लेखेको छ।