राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले सभामुख देवराज घिमिरेलाई भेटेर विभिन्न विषयमा कुराकानी गरेका छन्।
पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका सांसद बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित सांसदहरूले बुधबार सभामुख घिमिरेसँग भेटेर पिएसओ फिर्तालगायत विषयमा कुराकानी गरेका हुन्।
राप्रपाका सांसदहरूले आफूहरूलाई दिइएको पिएसओ बिनाकारण सरकारले फिर्ता बोलाएको विषय सभामुखसँग राखे।
प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ सरकारले केही दिनअघि फिर्ता गरेको थियो।
‘हाम्रो दलको हैसियत र दीपक सिंह त पूर्वाधार समितिकै सभापति भएकोले पिएसओ पाउनुभएको थियो, तर किन हाम्रा पिएसओ फिर्ता गरियो?,’ सभामुखलाई राप्रपा सांसदहरूले सोधे, ‘संसदीय व्यवस्थामा यसरी विभेद गर्न पाइन्छ? कि अरू संसदीय समिति र प्रमुख सचेतकहरूले लिएका पिएसओ पनि फिर्ता गर्नुपर्यो। यस विषयमा सभामुखज्यूले गृहमन्त्रीसँग नै कुरा गर्नुपर्ने हुन्छ।’
प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटर पिएसओलगायत विषयमा कुराकानी गरिएको सेतोपाटीलाई बताए।
‘यतिमात्र होइन, हामीले हाम्रा सांसद दीपक सिंहलाई प्रहरी परिसर पुगेका बेला किन पक्राउ गरियो भन्ने विषय पनि राख्यौं। न कुनै अदालतको आदेश न पक्राउ पुर्जी, प्रहरी कार्यालयमा गएका सांसदलाई पक्राउ गर्न तपाईंले अनुमति दिएको हो कि होइन भनेर हामीले सभामुखज्यूलाई सोध्यौं,’ शाहीले भने।
प्रहरीले भने नियमित ब्रिफिङका लागि पिएसओहरूलाई बोलाइएको बताउँदै आएको थियो।
तर बुधबार गृहमन्त्री रमेश लेखकले पिएसओ फिर्ता बोलाइएको कुरा बताए। राजावादी आन्दोलनको सुरक्षालाई मध्यनजर गर्दै राप्रपाका नेताहरूलाई दिइआएको पिएसओहरूलाई फिर्ता बोलाएर आन्दोलन सुरक्षामा परिचालन गर्नुपरेको गृहमन्त्री लेखकको भनाइ छ।
प्रतिनिधि सभाको बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै गृहमन्त्री लेखकले राजावादीहरूको आन्दोलन सकिएमा तत्काल राप्रपा नेपाहरूलाई पिएसओ पठाइने बताए।
जेठ १८ गते राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नारायणचौरको प्रदर्शनबाट नियन्त्रणमा लिएर प्रहरीले जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेको थियो। थापालाई भेट्न पुगेका राप्रपा सांसद दीपक सिंह परिसरबाटै पक्राउ परेका थिए।
आफ्ना सांसद सिंह पक्राउ परेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुख देवराज घिमिरेलाई फोन गरेका थिए।
त्यसपछि सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकलाई फोन गरेका थिए। पक्राउ परेको केही घन्टामै थापा र सिंह रिहा भएका थिए।
सांसद सिंहलाई रिहा गर्न सभामुखले खेलेको भूमिकालाई भने राप्रपाले धन्यवाद दिएको छ। राप्रपा सांसद बुद्धिमान तामाङले सभामुखले खेलेको भूमिका उल्लेख गर्दै धन्यवाद दिएका हुन्।
साथै राप्रपा सांसद रोशन कार्कीले सभामुखले प्रतिनिधि सभा बैठक चलाउने बेलाका सन्दर्भ उप्काइन्। उनले विपक्षी दलका सांसदहरूलाई बोल्न दिएका बेला राप्रपालाई भने बोल्न नदिइएको गुनासो गरिन्। ‘राप्रपालाई बोल्न समय दिनुभएन, यस्तो गर्न भएन,’ उनको भनाइ थियो।
राप्रपा सांसदहरूले सभामुखले बोलाएका छलफलमा राप्रपालाई छुटाउने गरिएको भन्दै गुनासो पनि गरेका छन्।
‘सभामुखज्यूले बोलाएको बैठकमा कतै राप्रपालाई छुटाउन खोजिएको त होइन,’ प्रमुख सचेतक शाहीको प्रश्न थियो। सदन अवरोध हटाउन भन्दै सभामुखले ठूला तीन दलका प्रमुख सचेतकहरूसँग पछिल्लो समय कुराकानी गर्दै आएका छन्।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आह्वानमा पछिल्लो समयमा बस्ने गरेको प्रतिपक्षी दलहरूको बैठकमा पनि राप्रपालाई बोलाउने गरिएको छैन।
संविधान र गणतन्त्र पक्षधर प्रतिपक्षी दललाई मात्रै प्रचण्डले छलफलमा बोलाउने गरेका छन्।
राप्रपा पछिल्लो समय राजावादी आन्दोलनमा सामेल छ। नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' मार्फत राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनालगायत एजेन्डामा राप्रपा आन्दोलनमा छ।