पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार स्वदेश फर्किएकी छन्।
उनी मित्रराष्ट्र चीनको १० दिने भ्रमण सकेर सोमबार बिहान साढे १० बजे स्वदेश फर्किएकी हुन्।
भ्रमण टोलीमा नेकपा (एमाले)का सचिव एवम् परराष्ट्र मामिला विभाग प्रमुख रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्ण थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी लगायत थिए।
चिनियाँ कम्युनिस्ट पार्टी र त्यहाँको सरकारका तर्फबाट निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारीसहित नेताहरू चीन भ्रमणमा गएको मन्त्री भण्डारीले बताए।
‘त्यसमा सरकारको पनि सहभागिता र पार्टीको पनि सहभागिता भएको कारणले यो नेपाल सिंगो मुलुकको प्रतिनिधित्व गरेर त्यो फोरममा मुलुकको तर्फबाट प्रतिनिधित्व गरेकोले त्यसमा विशेष सद्भाव, सम्मान भ्रमणको रूपमा लिन सकिन्छ। आर्थिक कूटनीतिक, सांस्कृति सम्बन्ध जुन परस्परमा सदियौंदेखि चलिरहेका छन्,’ उनले भने।
नेपाल–चीन द्विपक्षीय हित प्रवर्द्धनका लागि भ्रमण फलदायी रहेको भण्डारीले बताए।
‘परस्पर हित अभिवृद्धि गर्ने र त्यसलाई विकसित गर्ने काम भयो। यसको सम्मान चिनियाँ पक्षबाट भयो,’ उनले भने।
भण्डारीको भ्रमण सद्भाव भ्रमणका रूपमा लिनुपर्ने बताए। भण्डारी सहभागी कार्यक्रममा ६० वटा मुलुकको प्रतिनिधित्व रहेको उनले बताए।
भ्रमणका क्रममा भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ लगायत चिनियाँ नेतासँग भेटवार्ता गरेकी थिइन्।
भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत जेठ १० गते चीन प्रस्थान गरेकी थिइन्। राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि उनको यो पहिलो विदेश भ्रमण हो।