लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरूङ पदमुक्त भएकी छन्। गुरूङ जनमत पार्टीबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद बनेकी थिइन्।
यसअघिका प्रदेश सभा बैठकमा पनि अत्यन्त न्यून उपस्थित हुने गुरूङ पछिल्ला ११ वटा बैठकमा लगातार अनुपस्थित भएपछि संविधान र नियमावलीअनुसार उनको पद रिक्त भएको घोषणा गरिएको हो।
नेपालको संविधानको धारा १८० को खण्ड घ मा प्रदेश सभालाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहने प्रदेशसभा सदस्यको पद रिक्त हुने प्रावधान रहेको छ। सोही प्रावधान अनुसार गुरूङको पद रिक्त गरिएको हो।
लुम्बिनी प्रदेश सभामा गुरूङ सबभन्दा कम उपस्थित हुने प्रदेश सभा सदस्यमध्ये पर्छिन्। यसअघिका पाँचौं अधिवेशनसम्मका ८३ वटा बैठकमध्ये ३४ वटा बैठकमा मात्र उपस्थित भएकी गुरूङ छैटौं अधिवेशनमा भने एउटा बैठकमा पनि उपस्थित भएकी छैनन्। छैटौं अधिवेशनमा बुधवारसम्म ११ वटा बैठक बसेका छन्।
लुम्बिनी प्रदेश सभामा जनमत पार्टीका संसदीय दलका नेता चन्द्र केश गुप्ता (सिके) ले प्रदेशका सभामुख तुलाराम घर्ती मगरलाई पत्र पठाउँदै सांसद गुरूङ लगातार १० वटा बैठकमा अनुपस्थित भएकाले संविधानअनुसार पद रिक्त घोषणा गर्न अनुरोध गरेका थिए।
सोही अनुसार सभामुख घर्ती मगरले बुधबार बसेको प्रदेश सभाको छैटौं अधिवेशनको ११ औं बैठकमा सांसद गुरूङ पदमुक्त भएको घोषणासहित प्रदेश सभालाई जानकारी गराएका हुन्।
प्रदेश सभा नियमावली २०७९ को नियम १९० को उपनियम १ अनुसार सभाको कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले सो कुराको जानकारी सभालाई दिने उल्लेख छ।
सोही अनुसार सभामुख घर्ती मगरले प्रदेश सभालाई गुरूङको पद रिक्त भएको जानकारी गराएका हुन्। गुरूङ पदमुक्त भएपछि ८७ सदस्यीय रहेको लुम्बिनी प्रदेशसभामा अब ८६ जना सांसद रहेका छन्।
सांसद गुरूङले यसअघि प्रदेश सभाका सभामुखलाई सम्बोधन गर्दै जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नलागेको भन्दै गत वैशाख ३० गते इमेलमार्फत् हस्तलिखित राजीनामा पत्र पठाएकी थिइन्।
गीता विगत साढे दुई महिनादेखि पार्टी र प्रदेश सभालाई जानकारी नदिई बेलायत गएकी छन्। छोराछोरीसहित बेलायत बस्दै आएकी उनले आफ्ना श्रीमान कैलाश गुरूङमार्फत् प्रदेश सभामा राजीनामा पत्र पठाएकी थिइन्।
राष्ट्र, देश र जनताभन्दा माथि कोही हुँदैन भन्ने आफ्नो मान्यता रहेको र जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नभएको भन्दै राजीनामा दिएकी सांसद गुरूङले सांसद भएबापत प्राप्त गर्ने पारिश्रमिक र भत्ता भने २०८२ साल वैशाख महिनाको समेत बुझिसकेकी छन्।
यसअघि पत्र आउने इमेलभन्दा फरक इमेलबाट राजीनामा पत्र आएपछि उक्त पत्रको आधिकारितामाथि नै आशङ्का गरी उनको पत्र भने स्वीकृत गरिएको थिएन।
यो पनि:
फरक इमेलबाट आयो जनमत पार्टीकी लुम्बिनी सांसद गीता गुरूङको राजीनामा, आधिकारिकतामाथि आशंका
जनमत पार्टीकी लुम्बिनी सांसद गीता गुरूङले दिइन् राजीनामा