अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनसँगको युद्ध रोक्न मनाउन नसकेपछि युरोपियन युनियनले (इयु) मंगलबार रूसमाथि नयाँ प्रतिबन्धको प्याकेज घोषणा गरेको छ।
पुटिनसँग सोमबार दुई घण्टा फोनमा कुरा गरेपछि रूसले युक्रेनमा तत्काल युद्धविराम घोषणा गर्नुपर्ने आफ्नो मागबाट ट्रम्प पछि हटे। उल्टो पुटिनको युक्रेन र रूसबीच वार्ताको आह्वानलाई समर्थन गरे।
यस्तोमा युद्ध रोक्न रूसमाथि दबाव हाल्न इयुले मंगलबार नयाँ प्रतिबन्धहरू घोषणा गरेको भनेर द न्यूयोर्क टाइम्सले लेखेको छ।
पुटिनले २०२२ फेब्रुअरीमा युक्रेनमाथि हमला गरेदेखि नै अमेरिका लगायत पश्चिमा देशले रूसी तेलमा प्रतिबन्ध लगाएका छन्। तर पनि चीन, भारत लगायत देशले रूसी कच्चा तेल किनिरहेका छन्।
इयुले मंगलबार घोषणा गरेको आफ्नो १७ औं प्रतिबन्धको प्याकेजले यसरी भइरहेको रूसी तेल निर्यातलाई निशाना बनाउने छ। चीन, भारत लगायत देशलाई तेल बेच्न रूसले प्रयोग गरिरहेका पुराना पानी जहाजहरूलाई यसले थप कडाइ गर्नेछ।
१७ औं प्रतिबन्धको प्याकेज घोषणासँगै इयुले १८ औं प्याकेजको पनि तयारी थालेको छ। इयुले अब ग्यास पाइपलाइन, बैंक र रूसको विश्वव्यापी तेल बिक्रीलाई निशाना बनाउने अपेक्षा गरिएको छ।
पुटिनसँगको फोन वार्तापछि ट्रम्पले युद्ध रोक्न पुटिनलाई मनाउन नसकेको मात्रै नभएर उनलाई दबाव हाल्न पनि नखोजेको देखिएको छ।
ट्रम्पले पुटिनसँगको कुराकानीबारे युरोपेली नेताहरूलाई ब्रिफिङ गरेपछि उनीहरूले रूसमाथि थप प्रतिबन्ध हालेर दबाब बढाउने निर्णय गरेका थिए।
जर्मन चान्सलर फ्रेडरिक मर्ज सोमबार नै सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै रूसमाथि थप प्रतिबन्ध लगाउन युरोप र अमेरिका एकताबद्ध रहेको दाबी गरे।
तर ट्रम्प भने त्यो कदमका लागि तयार देखिँदैनन्। आफ्नो धम्की अनुसार रूसलाई शान्ति सम्झौतातर्फ धकेल्ने नयाँ प्रतिबन्ध किन घोषणा नगरेको भनी पत्रकारहरूले सोध्दा अझै पनि सम्झौता हुने केही सम्भावना रहेको उनले बताए। नयाँ प्रतिबन्ध लगाए परिस्थिति अझ बिग्रन सक्ने उनले जिकिर गरे।
युद्ध रोक्न भन्दा ट्रम्पको ध्यान रूससँग व्यापार गरेर आर्थिक लाभ लिनेमा देखिन्छ। पुटिनसँगको कुराकानीपछि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले रूस अमेरिकासँग ठूलो स्तरमा व्यापार गर्न चाहन्छ भनेका थिए।
पुटिनसँग कुराकानी गर्नुअघि ट्रम्पलाई प्रभावित पार्न युरोपेली नेताहरूले उनीसँग कुराकानी गरेका थिए। तर त्यसले ट्रम्पलाई प्रभावित पार्न सकेन।
जर्मन चान्सलर फ्रेडरिक मर्ज, फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री किअर स्टार्मरले शुक्रबारपछि ट्रम्पसँग त्यसबारे दुई पटक कुराकानी गरेका थिए।
युक्रेनको हितलाई बेवास्ता गर्दै रूसलाई फाइदा हुने पुटिनका सर्त मान्लान् भनेर चिन्तित युरोपका नेताहरूले वार्ताअघि ट्रम्पलाई प्रभावित पार्न प्रयास गरेका थिए।
'राष्ट्रपति ट्रम्पको पुटिनसँगको कुराकानीलाई मध्यनजर गर्दै नेताहरूले बिना सर्त युद्धविरामको आवश्यकता र पुटिनले शान्ति वार्तालाई गम्भीरतापूर्वक लिनुपर्नेबारे ट्रम्पसँग कुरा गरे,' स्टार्मरका प्रवक्ताले भने।
चान्सलर मर्जले पनि थप प्रगति हुनेछ भनेर युरोपेली नेताहरूले आशा गरेको बताएका थिए। तर वार्तापछि त्यस्तो कुनै प्रगति भएन।
बेलायत, फ्रान्स, जर्मनी र पोल्याण्डका सरकार प्रमुखहरूले किभमा जेलेन्स्कीसँग मे ९ मा भेटेपछि ३० दिने युद्धविरामको प्रस्ताव गरेका थिए। उनीहरूले तीन दिनभित्रमा सो प्रस्ताव कुनै पनि सर्त नराखी स्वीकार गर्न रूसलाई आग्रह गरेका थिए।
पुटिनले भने सो प्रस्ताव अस्वीकार गर्दै बरू युक्रेनसँग बिहीबार टर्कीमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। त्यसपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनले प्रत्यक्ष वार्ताको लागि गरेको प्रस्तावको स्वागत गर्दै वार्तामा सामेल हुने बताएका थिए। त्यतिबेला मध्यपूर्वको भ्रमणमा रहेका ट्रम्प पनि वार्ताका लागि टर्की जान सक्ने अपेक्षा गरिएको थियो। तर, पुटिन आफै भने सो वार्तामा गएनन्। पुटिन नगएपछि जेलेन्स्की टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानलाई भेटेर फर्केका थिए।
सो वार्तामा नगएपछि पुटिनले आफूसँग कुरा नगरी युद्ध नरोकिने जिकिर गर्दै ट्रम्पले उनीसँग फोनमा कुरा गर्ने बताएका थिए। त्यसैअनुसार ट्रम्पले सोमबार पुटिनसँग फोन गरेका हुन्।
रूस-युक्रेन युद्धविरामको मध्यस्थता अमेरिकाले गरिरहेको छ। ट्रम्पले सार्वजनिक रूपमा र निजी रूपमा युद्धविरामका लागि दुवै देशलाई दबाब दिँदै आएका छन्।
अमेरिकाको मध्यस्थतामा साउदी अरबमा अमेरिकी अधिकारीहरूले रूसी र युक्रेनी अधिकारीहरूसँग छुट्टाछुट्टै वार्ता गरेका थिए। तर ती वार्ताहरूबाट हल ननिस्किएपछि मध्यपूर्व हेर्ने ट्रम्पका विशेष दूत स्टिभ विटकफले पटक-पटक पुटिनसँग लामा-लामा छलफल गरेर युद्धविराम सहमतिका लागि प्रयत्न गरेका थिए। तर सफल हुन सकेको छैन।
यसअघि अमेरिकाले युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्ने प्रस्ताव युक्रेनले सहजै स्वीकार गरे पनि पुटिनले सहमति दिएका थिएनन्।
पुटिनले युक्रेनलाई नेटोमा आबद्ध गर्न नहुने, सेना सीमित गर्ने र अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभाग मात्र नभएर आफ्नो नियन्त्रणमा नभएका भागहरूको पनि स्वामित्व हुनुपर्ने माग गरिरहेका थिए।
पुटिन युद्धविरामका लागि तयार नभए रूसमाथि प्रतिबन्ध कडा बनाउँदै लैजाने ट्रम्पले चेतावनी समेत दिएका थिए। युरोपेली मुलुकहरूले पनि रूसमाथि प्रतिबन्ध लगाउने र युक्रेनलाई थप समर्थन जुटाउने विषयमा छलफल गरेका थिए।
सोमबार पुटिनसँग फोन वार्ता गरेपछि पनि ट्रम्प रूसमाथि दबाव बढाउन अनिच्छुक देखिए पछि इयुले प्रतिबन्धको नयाँ प्याकेज घोषणा गरेको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)